अझै अन्योलमा गाईघाट–दिक्तेल सडक

झन्डै डेढ दशक बितिसक्दा पनि सगरमाथा लोकमार्गअन्तर्गतको सडक पूरा भएन
उदयपुर र खोटाङ सीमाको दूधकोसी नदीमा पक्की पुल निर्माण नहुँदा सडक बन्न ढिला

उदयपुर — झन्डै डेढ दशक बितिसक्दा पनि सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडकले पूर्णता पाउन सकेको छैन । ट्रयाक खुलेको वर्षाैं भइसक्दा पनि निर्माणमा लापर्वाहीका कारण सडक पूरा हुन नसकेको हो ।

अझै अन्योलमा गाईघाट–दिक्तेल सडक

उदयपुर र खोटाङको सीमामा रहेको दूधकोसी नदीमा पक्की पुल समयमै निर्माण नहुँदा सडक पूरा हुन पनि अन्यौल भएको छ । पुल नहुँदा विभिन्न उपकरणसँगै निर्माण सामग्री ढुवानी गर्न नसक्दा वर्षको ७ महिना काम ठप्प हुने गरेको छ । हिउँदमा सुनकोसीमा बेलिब्रिज लगाएर आवतजावत सहज गरिए पनि खोटाङतर्फ काम गर्ने निर्माण व्यवसायीलाई समस्या हुने गरेको छ ।


लोकमार्गको गाईघाट/दिक्तेल खण्डको झन्डै सय किलोमिटरको काम ०७७ साल साउन मसान्तमा सक्ने गरी ठेक्का बन्दोबस्ती गरेर काम गरिरहेको गाईघाट/दिक्तेल सडक योजना गाईघाटले जनाएको छ । तर काम भने भौगोलिक विकटता कारण देखाउँदै कछुवाको गतिमा भइरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।


पूर्वपश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कदमाह र उदयपुरको सदरमुकाम गाईघाट हुँदै खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सडक दुबैतर्फ (उदयपुर र खोटाङ) पूर्णरूपमा ट्रायक खुलेको वर्षांै वितिसक्यो । ट्रयाक खुलेपछि सडक स्तरोन्नतिको काम भरपर्दो नहुँदा दक्षिण खोटाङको विकासमा बाधा पुगेको स्थानीय तहका जनप्रतिनिधिले बताए ।


२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उदयपुर सदरमुकाम गाईघाटस्थित बोक्सेमा उदघाटन गरी गाईघाट/दिक्तेल सडक निर्माण सुरु गरिएको हो । सुरु भएको २४ वर्ष वितिसक्दा पनि सडक अहिलेसम्म पनि पूरा नहुँदा पक्की सडकमा गुड्ने सर्वसाधारणको सपना अधुरै रहेको खोटेहाङ गाउँपालिका ९ खोटाङ माझीटारका ८० वर्षीय भरतमान माझीले बताए ।


‘धेरै वर्ष भयो सडक खनेको अहिलेसम्म बनेको छैन,’ भरतमानले भने, ‘यो जुनीमा पिच गरेको सडकमा सरर गुडेर मधेस पहाड गर्ने सपना पूरा हँुदैन जस्तो छ ।’ लोकमार्गको ट्रयाक खोलिए पनि सडक व्यवस्थित भएको छैन । ४ वर्षपहिले नै उदयपुरको गाईघाटदेखि रौतामाई गाँउपालिकको फोक्सिङटारसम्म ट्रयाक खोलिएको थियो ।


सरकारको प्रत्यक्ष संलग्नतामा गाईघाट दिक्तेल सडक आयोजनाको कार्यालयले नै खोलेर निर्माण प्रारम्भ गरिए पनि वर्षेनी छुटिने बजेटका कारण निर्माण कार्यमा ढिलाइ भएको हो । तर अहिले बजेट व्यवस्था भई ठेक्का बन्दोबस्ती गरे पनि विभिन्न बहानमा काम हुन सकेको छैन ।


सडक व्यवस्थित नहुँदा जिल्लाको पहाडी क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ भएको छ । हिउँदमा यातायात सञ्चालन भए पनि बर्षातमा सवारी सञ्चालन हुँदा उदयपुरको उत्तरी पहाड र खोटाङको दक्षिण भेगका सर्वसाधारणले समस्या भोग्नु परेको छ । सधंै सोझो यातायात सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।


त्यसो त यस सडक खण्डअन्तर्गत पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा पुल पनि बनेको छैन । गौरी पार्वती निर्माण कम्पनीले ठेक्का पाएको यो सडक पुल गत वर्ष चैतमै सम्पन्न गर्नुपर्ने हो । तर अहिलेसम्म पुल निर्माणका लागि एउटा पिलर पनि बनेको छैन ।


यस सडक खण्डअन्तर्गत खोटाङको करिब ५० किलोमिटर सडक स्वीस र नेपाल सरकारको लागानीमा ट्रयाक खुलेको हो । कच्ची सडक निर्माणमा करिब ६० करोड खर्च भएको छ । ‘सडक निर्माणमा चासो नदिँदा समस्या भएको छ,’ रौतामाई गाउँपालिकाका स्थानीय ज्ञानबहादुर राईले भने, ‘सडकको ट्रयाक खुलेको वर्षौं भइसक्यो ।’ तर अहिलेसम्म सडकको स्तरोन्नति गर्ने काम सुस्त गतिमा भइरहेको उनले बताए ।


सुरुमा उदयपुरको गाईघाटदेखि साउनेसम्म सडक निर्माण गरियो । त्यसपछि रानीबाससम्म विस्तार भएपछि वर्षेनी मर्मतमात्रै हुँदै गएको थियो । सालनी मर्मत गर्ने बाहेक अन्य काम भएन । तर अहिले आएर ०७७ सालसम्म सडकको स्तरोन्नति गरेर पक्की (कालोपत्रे) गरिसक्ने गरी काम भइरहेको सडक आयोजनाले जनाएको छ ।


यसैबीच १ सय ३१ किलोमिटर लामो यो सडकको खोटाङ जिल्लातर्फको फोक्सिनटारदेखि खाम्तेल सिम्पानी खण्डको २६ किलोमिटर सडक खण्डमा नियमित काम भइरहे पनि बाँकी रहेको साउने फोक्सिनटार र खाम्तेल महुरे सडक खण्डमा खासै काम हुन सकेको छैन । फोक्सिनटारदेखि खाम्तेल सिम्पानी खण्डको २६ किलोमिटर सडक खण्डमा भने करिव ७० प्रतिशत काम सम्पन्न भई सबग्रेड निर्माण गर्ने काम भइरहेको छ ।


२०७७ सालको साउन महिनामा सम्पन्न गरिसक्ने गरी ठेक्का लिएको मैनाचुली/खाम्पाचो/जयनारायण पवन जेभीले हालसम्म ६० प्रतिशत काम सम्पन्न गरेको प्रोजेक्ट इन्जिनियर विश्व लिम्बूले बताए । ‘निर्धारित समयमा काम सक्ने गरी दैनिक काम भइरहेको छ,’ इन्जिनियर लिम्बूले भने, ‘भौगोलिक विकटताका कारण काम गर्न कठिनाइ छ ।’ तर पनि कामै रोकिने गरी ठूलो कुनै समस्या आएन भने काम तोकिएकै समयमा पूरा हुने उनले बताए ।


यता निर्धारित समयमा काम सम्पन्न गर्न कठिन भएको आयोजनाका इन्जिनियर निर्जल श्रेष्ठले बताए । ‘विभिन्न प्याकेजमा काम भइरहेका छ,’ उनले भने, ‘तर पनि भौगोलिक विकटा र प्राकृतिक प्रकोपका कारण गत वर्ष लक्ष्यअनुसार काम हुन नसक्दा निर्धारित समयमै सक्न कठिन छ ।’


सगरमाथा राजर्माग नामकरण गरिएको यो सडक समयमै सञ्चालन हुने हो भने खोटाङका बासिन्दालाई तराई जाने सवैभन्दा छोटो मार्ग बन्नेछ । तर सुरु भएको २४ वर्ष वितिसक्दा पनि निर्माण नसकिँदा सर्वसाधारण पैदल यात्रा गर्न बाध्य छन् । खोटाङ सदरमुकाम दिक्तेललाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मुख्य लक्षकासाथ यो सडक बनाउन सुरु गरिएको हो । तर १ सय ५६ किलोमिटर लामो लोकर्माग समयमै पूरा नुहँदा त्यसभन्दापछि सुरु भएको मध्यपहाडी लोकमार्गले खोटाङलाई सञ्जालमा जोडिसकेको छ ।

प्रकाशित : माघ ९, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?