कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दुर्गममा बिजुली विस्तार

गाउँपालिका, वडा कार्यालय र स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमबाट लगानी

संखुवासभा — अति दुर्गम मानिएको सिलिचोङ गाउँपालिकाले विद्युत् बिस्तारमा एक वर्षमा १ करोड ५३ लाख बजेट लगानी गरिरहेको छ । गाउँपालिका, वडा कार्यालय र स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमबाट रकम लगानी गरिएको हो । 

दुर्गममा बिजुली विस्तार

यो गाउँपालिकामा सडक पनि पुगेको छैन । गाउँपालिका अध्यक्ष रामबहादुर राईले केन्द्रीय प्रशारणको बिजुली अहिले नै नपुग्ने भएकाले यसमा लगानी गरेको बताए । विद्युत् विस्तार र व्यवस्थापनको शीर्षकमा गाउँपालिका, वडा स्तर र स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमबाट १ करोड ५३ लाख विनियोजन गरेको उनले बताए । त्यसमध्ये सिसुवाखोला जलविद्युत आयोजनाका लागि २० लाख विनियोजन भएको छ ।


वडा १ सिसुवाखोलामा निर्माणाधीन अवस्थामा रहेको चटेक्मा लघु जलविद्युतका लागि पनि २० लाख विनियोजन गरेको छ । त्यस बाहेक गाउँपालिकाको वडा ४ मांतेवा र ५ वडा याफुमा विद्युत् विस्तारका लागि १५ लाखका दरले विनियोजन गरेको हो । खोङ्लोवा खोला लघु जलविद्युत व्यवस्थापन (मर्मत) का लागि पनि गाउँपालिकाले १३ लाख विनियोजन गरेको छ ।


यसै आर्थिक वर्षमा वडापालिकाले पनि विद्युतलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षमा वडा नम्बर १ सिसुवाखोलाले चटेक्मा लघु जलविद्युतको शीर्षकमा २० लाख विनियोजन गरेको छ । वडा नम्बर २ बालाले पनि सिसुवाखोला लघु जलविद्युत आयोजनाको स्तरोन्नतिका लागि १० लाख विनियोजन गरेको छ । उक्त रकमले विद्युत् नपुगेको टोलहरूमा विद्युत् विस्तार गर्ने वडाले लक्ष्य राखेको छ ।


वडा ३ ले विद्युत् पुराउन असम्भव रहेका टोलहरू सिकिदिम र खुंवाका लागि ४ लाख ५० हजार बराबरको सोलार सेट वितरण गर्ने भएको छ । सोलार खरिद गरेर नि:शुल्क वितरण गर्ने गाउँपालिकाले योजना बनाएको हो । वडा ३ को पांतिमा पेल्टिक सेट मर्मतका लागि पनि ५० हजार विनियोजन भएको छ । हालसम्म वडा नम्बर ४ मांतेवामा जलविद्युत विस्तार गरिएको छैन ।


यहाँ चालु आर्थिक वर्षभित्रै विद्युत् विस्तार गर्नका लागि वडा नम्बर ४ ले ७ लाख विनियोजन गरेको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट प्राप्त भएको २३ लाख पनि यही वडामा विद्युत् विस्तार गर्ने गरी विनियोजन गरिएको छ । वडामा विद्युत् विस्तारका लागि गाउँपालिकाले छुटाएको १५ लाख सहित ४५ लाख छ । वडा नम्बर ५ याफुमा पनि विद्युत् विस्तारका लागि वडाले ५ लाख विनियोजन गरेको छ ।


सिलिचोङ गाउँपालिकामा ६० किलोवाटको खोङ्लोवा खोला र ९० किलोवाटको सिसुवाखोला लघु विद्युत् आयोजना सञ्चालनमा छ । ती आयोजनाबाट सिलिचोङ १ को केही भाग सहित २ र ३ नम्बर वडाका उपभोक्तालाई वितरण गरिएको छ । वडा नम्बर ४ र ५ मा पनि यस वर्ष विद्युत् लैजाने लक्ष्य लिएको अध्यक्ष राईको भनाइ छ । यसै आर्थिक वर्षमा काम सक्ने गरी वडा १ को चटेक्मा खोलाबाट पनि ५८ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माणको क्रममा छ ।

प्रकाशित : माघ ९, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?