१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

खुल्दै वित्तीय संस्था

पहिले बैंकिङ सुविधाका लागि अन्यत्र जानुपर्थ्याे अब गाउँमै
‘क’ वर्गका प्राय: सबै बैंकका शाखा सञ्चालनमा

विराटनगर — राजमार्गसँग जोडिएका उत्तरी मोरङको विराटचोक र बेलबारीमा वित्तीय संस्थाको आकर्षण बढदो छ । कुनै समय यस क्षेत्रका उद्योगी, व्यवसायी र सर्वसाधारण बैंकिङ सुविधा लिन विराटनगर र सुसरीको इटहरी पुग्नुपर्ने बाध्यता थियो । अहिले ‘क’ वर्गका प्राय: सबै बैंकले शाखा सञ्चालनमा ल्याएका छन् ।

सुन्दर हरैंचा नगरको विराटचोक, बेलबारी नगर र त्यसका ग्रामीण क्षेत्र वित्तीय संस्थाको सहरका रूपमा चिनिन थालेका छन् । विराटचोकमा करिब दुई दर्जन, बेलबारी र त्यसको आसपासमा दर्जन वित्तीय संस्थाले शाखा खोलेका छन् । देश संघीय ढाँचामा गएपछि नगरमा उद्योगधन्दा स्थापनासँगै आर्थिक गतिविधि बढा वित्तीय संस्थाको उपस्थितिसमेत बाक्लिँदै गएको स्थानीयको भनाइ छ ।


बेलबारीमा हालै सञ्चालनमा आएको एनआईसी एसिया बैंकको उद्घाटन गर्दै नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्थानीय तहमा आएका बैंकलाई घाटामा जान नदिने बताएका थिए । साना तथा ठूला उद्योगहरू समेत स्थानीय तहमा धमाधम खुल्न थालेपछि बैंकहरू लगानीका क्षेत्र पहिल्याउँदै ग्रामीण क्षेत्रमा धमाधम खुल्न थालेको उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुवेदीको भनाइ छ ।


कुनै राजनीतिक दलका राजनीतिक मुद्दा तथा आन्दोलनका नाममा विराटचोक र बेलबारी बजार बन्द नहुने गरेकाले पनि वित्तीय संस्था यस भेगमा आकर्षित भएको कोसी हरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागार्इंको बुझाइ छ । नगरवासीले विगतमा बन्द र हडतालको कडा प्रतिवाद गर्दै आएका छन् । उनले भने, ‘त्यसको प्रभावले पनि वित्तीय संस्थाको आकर्षण यहाँ बढेको हो ।’


बेलबारीको डाँगीहाट व्यापार प्रवर्द्धन समितिको पहलमा लक्ष्मीमार्ग र बाहुनीमा हालै तीना वटा वित्तीय संस्थाले शाखा खोलेको समितिका संयोजक विवेक मिश्रको भनाइ छ । वित्तीय कारोबार गर्न यहाँका व्यवसायी र सर्वसाधारणले बेलबारी र विराटचोक पुग्नुपर्ने बाध्यता थियो । मिश्रले भने त्यसको समाधानका लागि समितिको पहलमा लक्ष्मीमार्गमा जनता बैंक र सिर्जना फाइनन्स र बाहुनीमा लुम्बिनी विकास बैंकले शाखा सञ्चालनमा ल्याएका हुन् । बाहुनी बेलबारी नगरको ग्रामीण क्षेत्र हो ।


त्यस्तै मोरङका लेटाङ, पथरी, उर्लाबारी, मधुमल्ला, इटहरा, रंगेली, कर्सिया र कटहरीमा पनि पछिल्लो समय ‘क’ वर्गका वित्तीय संस्थाका शाखा खुल्ने क्रम बढेको छ । ग्रामीण क्षेत्रमा वित्तीय संस्था सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा आर्थिक कारोबारमा वृद्धि भएको स्थानीयको भनाइ छ ।


राजमार्गसँग जोडिएका विराटचोक, बेलवारी, लेटाङ, पथरी र उर्लाबारीले मोरङको पहाडी भेग र धनकुटाका केही क्षेत्रको प्रतिनिधित्वसमेत गर्दा त्यहाँ सञ्चालनमा आएका बैंकले त्यस क्षेत्रको वित्तीय कारोबारसमेत बढ्ने सम्बद्ध पक्षको बुझाइ छ ।

प्रकाशित : माघ १०, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?