कर्मचारीको गल्ती, उपभोक्तालाई जरिवाना
खोटाङ — जिल्लाका दुई पालिकामा विद्युत् मिटर रिडिङ गर्न कर्मचारी समयमा जाने गरेका छैनन् । रावाबेसी र दिप्रुङ चुइचुम्मा गाउँपालिका बेलामा विद्युत् रिडिङ नहुँदा उपभोक्ताले महसुल बुझाउँदा जरिवाना तिर्न बाध्य छन् ।
दिप्रुङ चइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार विद्युत् कर्मचारीले बेलामा मिटर रिडिङ नगर्दा उपभोक्ताले फाइन तिर्न बाध्य हुनुपरेको बताए । उक्त पालिकाको वडा ६ छितापोखरीबाहेक अन्य सबै वडाका धेरैजसो ठाउँमा विद्युत् पुगेको र उक्त वडामा बेलामा विद्युत् कर्मचारीले मिटर रिडिङ नगर्दा जरिवानासहित महसुल बुझाउन बाध्य भएको राईले सुनाए ।
दुई–तीन महिनाको बीचमा मिटर रिडिङमा आएका कर्मचारीले एक ठाउँ बसेर अन्दाजी गरेर रिडिङस्लिप दिने गरेको राईले जनाए । ‘बेलामा मिटर रिडिङ नगर्ने र रिडिङमा आएको बेला पनि एक ठाउँमा बसेर अन्दाजको भरमा स्लिप दिने गरेको छ ।’ अध्यक्ष राईले भने, ‘यसबारे विद्युत् प्रमुखलाई जानकारी गराउँदा समेत बेवाता भइरहेको छ ।’
त्यस्तै रावाबेसी गाउँपालिकामा पनि मिटर रिडिङमा कर्मचारी नपुगको गुनासो आएको छ । उक्त पालिकाको वडा नं २ खार्पा, वडा नं ३ लामीडाँडा र वडा नं ६ हौचुरमा विद्युत् कर्मचारीले बेलामा मिटर रिडिङ नगर्दा उपभोक्ता मारमा परेको पालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।
दुई–तीन महिनामा एक चोटी विद्युत् कर्मचारी पुग्ने भएकाले फाइनसहितको महसुल तिर्नुपर्ने भएकाले उपभोक्ता मारमा परेको अध्यक्ष निरौलाले सुनाए । उक्त पालिकाको वडा नं १ कुभिण्डे, वडा नं ४ डुम्रेधारापानी र वडा नं ५ दुबेकोलमा भने सामुदायिक विद्युत् सञ्चालन गरिएकाले बेलैमा रिडिङ र महसुल बुझाउने गरेको अध्यक्ष निरौलाको भनाइ छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्र दिक्तेलका निमित्त प्रमुख उमेश महतोले भने कार्यालय प्रमुख बिदामा भएकाले आफूलाई थाहा नभएको बताए । कार्यालय प्रमुख रामदिनेश राय यादव माघ २ गतेदेखि घर बिदा छन् ।
प्रकाशित : माघ १०, २०७५ १०:०७