१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

फस्टाउँदै आर्थिक गतिविधि

तेह्रथुम — जिरीखिम्ती बजार आमा समूहकी अध्यक्ष फूलमायाँ तामाङ खचेल निकै खुसी छिन् । जिल्लाकै व्यापारिक केन्द्र जिरीखिम्ती बजार शान्त छ । शान्त सहरमा मौलाएको आर्थिक गतिविधिले अध्यक्ष तामाङ मात्र होइन, जिरीखिम्ती बजारवासी पनि हौसिएका छन् ।

फस्टाउँदै आर्थिक गतिविधि

स्थानीय बासिन्दा जिरीखिम्ती बजारलाई जिरी भन्छन् । ‘अहिले त जिरीमा जोसुकै निर्धक्क हिंडडुल गर्न सक्छन्,’ अध्यक्ष तामाङले छिमेकीको घरको थाम खुकुरीले काटेको डोब देखाउँदै भनिन्, ‘अचेल निकै शान्ति छ ।’ सदरमुकाम म्याङलुङबाट ६ किलोमिटर उत्तरपश्चिममा रहेको जिरीखिम्ती बजारमा जिल्लाकै व्यापारिक केन्द्रका रूपमा चहलपहल बढिरहेको छ ।


हालैको एक बिहान प्रहरीचौकी जिरीखिम्ती नजिकै रहेको आफ्नो घरमा भेटिइन् बजार क्षेत्रकै अगुवा तामाङ । द्वन्द्वको समयमा माओवादी कार्यकर्तासँग पटकपटक पौंठेजोरी खेलेकी वृद्धा तामाङ बजारवासीको सुरक्षाका लागि बजार क्षेत्रमा प्रहरी ल्याउने अगुवा हुन् ।


माओवादी शान्ति प्रक्रियामा आएपछि जिरीखिम्ती बजारमा केही वर्ष ‘फटाहा राज’ हावी भएको उनले सुनाइन् । त्यही बेला धेरै बजारवासी आफ्नो महँगो मूल्य पर्ने घर घडेरी सस्तोमा बिक्री गरेर ज्यान जोगाउन र भएको सम्पत्तिको सुरक्षाका लागि पूर्वी तराईतर्फ झर्न थाले । त्यस समय बजार क्षेत्रमा आउने उच्छृंखल समूहले स्थानीयलाई धम्क्याएर पैसा माग्थे । नदिए कुटेर घाइते बनाउँथे ।


मागेजति चन्दा नदिएको भन्दै केही घरका थाममा त्यस्तो समूहले खुकुरीले काटेको डोब अझै छन् तर ती घरका मूल्य भने सात गुणा बढेका छन् । तामाङले भनिन्, ‘पहिले डरत्रासले घर सस्तोमा बिक्री गरेर तराई झर्ने अहिले पछुताउँदै छन् ।’ बजारमा प्रहरीचौकी पुन:स्थापना भएको छ । बजारमाथिको डाँडामा सशस्त्र प्रहरीको गुल्म बसेको छ ।


निजी बैंक तथा वित्तीय संस्था खुलेका छन् । बजारमा व्यापार चम्किएको छ । पछिल्लो समय जिरीखिम्ती बजारको आर्थिक प्रगति लोभलाग्दो छ । बजार निकै गुलजार भएको स्थानीय व्यवसायी महेश गौतमले बताए । घडेरी र घरको मूल्य बढेर सदरमुकाम र पर्यटकीय बजार वसन्तपुरलाई उछिनेको छ ।


स्थानीयवासीसमेत रहेका उद्योग वाणिज्य संघका पूर्वजिल्ला अध्यक्ष महेन्द्र काफ्ले यो बजारले व्यापारिक कारोबारमा जिल्लाका अन्य बजार क्षेत्रलाई पछि पारेको बताउँछन् । ‘आर्थिक प्रगतिका लागि शान्ति सुरक्षा सबैभन्दा महत्त्वपूर्ण रहेछ,’ उनले भने । त्यसताका केही नहुने बजारको मुख्य चौकको घर सस्तो मूल्यमा बिक्री गरेर धरान झरेका काफ्ले पुन: बजार क्षेत्रमै महँगो मूल्यमा घडेरी खरिद गरी घर बनाएर बसेका छन् ।

प्रकाशित : माघ १०, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?