१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मध्यपहाडी सडक : गाउँलेको उठिबास हुने अवस्था

सरकारले उचित राहत दिनुपर्ने प्रभावित बासिन्दाको माग
सडकको बीचबाट ३१–३१ मिटर जग्गा छाड्नुपर्दा समस्या
डम्बरसिं राई

खोटाङ — मध्यपहाडी लोकमार्गले उठिबास हुने अवस्था आएको भन्दै आसपास क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् । लोकमार्गअन्तर्गत बाझेच्यानडाँडा–दिक्तेल सडकले उठिबास हुने अवस्था आएको स्थानीयले बताएका हुन् । 

मध्यपहाडी सडक : गाउँलेको उठिबास हुने अवस्था

बाझेच्यानडाँडा–दिक्तेलसम्मको करिब ८८ किलोमिटर सडकमा करिब १२ सय घर भत्काइएको थियो । सरकारले घर सार्नका लागि न्यून रकम उपलब्ध गराएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा २ का वडाध्यक्ष हर्क खत्रीले बताए । उनका अनुसार सडकको बीच भागबाट ३१–३१ मिटर जग्गा छोड्नुपर्ने भएकाले कतिपयको उठिबास भएको छ । कतिपयले घडेरी किनेकाले त्यसमा पनि लाखौं डुबेको खत्रीले सुनाए ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा २ सोल्मा, वडा ६ नेर्पा, वडा ७ दोर्पा, वडा ८ बुवालुङ र वडा ९ निर्मलीडाँडा तथा साकेला गाउँपालिकाको वडा १ बाझेच्यानडाडाँका करिब १२ सय घर भत्काएर अन्यत्र सारिएको हो । उनीहरूलाई प्रतिघर १० हजारदेखि २ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिइएको सडक विभागमा कार्यरत इन्जिनियर भरत आचार्यले बताए ।


उक्त राहत जिल्ला प्रशासनमार्फत वितरण गरिएको हो । कति राहत वितरण गरियो भन्ने सबै संकलन भएपछि जानकारी हुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले सुनाए । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने यो सडक खण्डमा अन्य थुप्रै घरहरू पनि परेकाले अझ धेरै विस्थापित हुनुपर्ने अवस्था आएको वडा ६ का अध्यक्ष माधव राईले बताए । सडकले कपितयको सबै जग्गा मिचेको समेत राईले सुनाए । सडकबाट प्रभावित भएकाहरूलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।


प्रभावितहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदादेखि निरन्तर रूपमा राहतको माग गरे पनि सुनुवाइ नभएको वडाध्यक्ष खत्रीले सुनाए । ‘विभिन्न समयमा प्रधानमन्त्री, स्थानीय सरकारलगायत विभिन्न निकायमा ज्ञापन बुझाइयो,’ खत्रीले भने, ‘अहिलेसम्म कुनै निकायले वास्ता गरेन ।’


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने सडक आसपास बनाइएका घरटहरा भत्काउने सूचना जारी गरेको छ । विकल्पबिनाको सूचना जारी गरेको भन्दै सडक पीडितहरूले गुनासो गरेका छन् । ‘भएको जग्गा नै यति हो, त्यो पनि सडकले खाइदियो ।’ अल्छेढुङ्गास्थित सडक पीडित कृष्णबहादुर खत्रीले भने, ‘यसमा बनाइएको घर पनि नगरपालिकाले भत्काउने उर्दी गरेको छ ।’


त्यस्तै अल्छेढुङ्गामा घडेरी किनेर बसेका बलराम कठायतले पनि सडकले आफूहरूलाई विस्थापित गरेको बताए । ‘जम्माजम्मी भएको सम्पत्ति घडेरीमा लगाइयो,’ उनले भने, ‘यो पनि सडकले खाइदियो, बचेको जग्गा न किनबेच हुन्छ, न घर बनाउन पाइन्छ ।’


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाललले भने सडक आसपासमा बनाइएका घरहरू भत्काउने निर्देशन आएकाले त्यसैअनुसार निर्णय गरेर कार्यान्वयनको चरणमा पुगेको बताए ।

प्रकाशित : माघ ११, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?