कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बलात्कृत बालिकालाई क्यान्सरः अस्पतालमा कुर्ने कोही छैन

ओखलढुंगा — जसले जन्म दिइन्, उनैले छाडेर गइन् । जसलाई बुबा भनिन्, उनैबाट बलात्कृत भइन् । पहिलोपटक बुबाबाट बलात्कृत हुँदा संरक्षण गर्ने हजुरआमाले सधैंका लागि बिदा लिइन् । दोस्रो पटकको बलात्कार सहन नसकेपछि आफैंले उजुरी गरिन् । त्यसपछि राक्षसरूपी बुबा पनि जेल चलान भए ।

२ भाइ सानै छन् । उनीहरूको खुब माया लाग्छ । गाउँलेले ती भाइहरूको अवस्था देखेर, ‘बिचरा’ भन्ने गर्छन् तर उनलाई बिचरा भन्नेसम्म कोही रहेनन् । सुनकोसी गाउँपालिकाकी १३ वर्षीया एक बालिकाको दयनीय कहानी हो यो । गत भदौ १० गते बुबाबाटै बलात्कृत भएकी उनको दाहिने खुट्टामा क्यान्सरको लक्षण देखिएको छ । उनी भक्तपुर क्यान्सर अस्पतालमा छिन् । अवस्था यतिसम्म दयनीय छ कि उनलाई कुर्ने कुरुवासम्म कोही छैन ।


बलात्कृत भएपछि जिल्लाकै परिवर्तनशील महिला सामुदायिक संस्थाले सञ्चालन गरेको सुरक्षित आवास गृहमा बस्दै आएकी थिइन् । कक्षा ५ मा पढ्दै गरेकी उनको पढाइ राम्रो थियो । अझै पढ्ने चाहना पूरा गर्न उनलाई गत मंसिर १७ गते महिला सशक्तीकरण ग्रामीण नेपालको गरिबी निवारण भन्ने संस्थामा पठाइयो । संस्थाले पालनपोषण र पठनपाठन सबै बेहोर्ने सर्तमा उनलाई रेफर गरियो । उनी जिल्लामै हुँदा आफ्नो दाहिने खुट्टा सुन्निने र दुख्ने गरेको सुनाउँथिन् । सानैमा खुट्टा भाँचिएकाले चिसाले दुखेको हुन सक्ने अनुमान थियो । जब काठमाडौं गइन्, त्यहाँ खुट्टा चल्नै छोडेपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरियो । शिक्षण अस्पतालमा अल्ट्रासाउन्ड, रक्तपरीक्षण र एमआरआई गरी हेर्दा उनमा क्यान्सरको लक्षण देखियो । उनलाई तत्कालै भक्तपुर क्यान्सर अस्पताल रेफर गरियो ।


भक्तपुर अस्पतालमा उपचाररत उनको रोग क्यान्सर हो/होइन, रिपोर्ट आउन समय लाग्ने बताइएको छ । उनलाई त्यहाँ पुर्‍याउने संस्थाले आफन्तको खोजी गर्‍यो । त्यसपछि २ वर्षअघि दोस्रो विवाह गरेकी आमा केही दिन कुरुवाका रूपमा आइन् । दोस्रो पतिले अघिल्लो पतितर्फकै छोरी स्याहार्ने हो भने सम्बन्धविच्छेद गर्ने भनेपछि आमाले पनि छाडेर गइन् । उनका अन्य आफन्तको खोजी गरियो तर कोही पाइएन । ‘गाउँमा उनका काका छन् । आर्थिक अवस्था कमजोर छ । सामुदायिक संस्थाकी अध्यक्ष पेमडोमा शेर्पाले भनिन्, ‘उनका फुपूहरू काठमाडौंमा छन् भन्ने सुनेर सम्पर्कको प्रयास गर्दा सफल हुन सकेनौँ ।’

प्रकाशित : माघ १४, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?