कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जोखिम बस्तीका ७५ परिवारलाई जग्गा

१ सय १८ घर अझै जोखिममै

ओखलढुंगा — चिशंखुगढी गाउँपालिका ७ की लक्ष्मी राईको घर भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍यायो । उनले पुन: अर्को घर बनाउन खोज्दा उनको जग्गा जोखिमको बस्तीमा भएको भन्दै अनुदान पाइनन् । आफ्नो नाममा भएको जग्गामा घर बनाउन नपाएकी उनले बल्ल सुरक्षित स्थानमा ९ आना जग्गा प्राप्त गरिन् । 

पुनर्निर्माण प्राधिकरणले दिने २ लाख रूपैयाँ रकमबाट उनले आइतबार जग्गा खरिद गरिन् । उनले एकीकृत बस्तीमा बस्ने भन्दै जग्गा खरिद गरेकी हुन् । उनीसँगै जोखिम बस्तीमा रहेका चिशंखुगढी ७, बाट ८ वडामा एकै ठाउँमा कुल १० रोपनी ७ आना जग्गा १५ जनाले खरिद गरे । जग्गाधनी सुनिता राईले एकमुष्ट रूपमा आफ्नो जग्गा एकीकृत बस्तीका लागि बिक्री गरेकी हुन् ।


‘एकातिर पहिरोको जोखिम, अर्कोतिर भूकम्पपछि घर बनाउन पाएका थिएनौँ ।’ जग्गाधनी पुर्जा लिएपछि पीडितमध्येकी रहरमाया राईले भनिन्, ‘अब बल्ल घर बनाउने जग्गा पाइयो । त्यसमाथि एकीकृत बस्तीमा बस्न पाउने हुँदा खुसी लागेको छ ।’


२०७२ को भूकम्पपछि जिल्लाको विभिन्न स्थानमा जम्मा १ सय ९३ घरपरिवार जोखिममा रहेको तथ्यांक प्राप्त भएको थियो । त्यसमध्ये हालसम्म ७५ जनालाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराई घर बनाउने प्रक्रिया अघि बढेको जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ । बाँकी जोखिमका घरपरिवारलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको इकाईका प्रमुख विजयमुनी बज्राचार्यले बताए ।


जग्गा प्राप्त गर्नेमध्ये चम्पादेवी ९ विलन्दुमा २३ घर, मोलुङ ३ प्राप्चामा १५ घर र चिशंखुगढी ८ माम्खामा १५ घर एकीकृत बस्तीका रूपमा निर्माण हुने भएको छ । जग्गा उपलब्धिका लागि प्राविधिक सहयोग दिगो विकास परियोजना र आत्मनिर्भर सेवा केन्द्रले गर्दै आएको छ । एकीकृत बस्तीमा बस्न चाहनेका लागि त्यहीअनुसारको मापदण्ड र सेवा सुविधाका लागि प्राधिकरणले सहयोग गर्ने दिगो विकास परियोजनाका क्लस्टर संयोजक भोला बस्नेतले बताए ।


एकीकृत बस्तीका लागि आवश्यक डीपीआर तयार भइरहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अन्य स्थानमा समेत एकीकृत बस्तीकै लागि पहल भइरहेका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा समेत जोखिम बस्तीमा रहेका पीडितहरूले घर बनाउन नपाउँदा उनीहरूको अवस्था दयनीय छ ।

प्रकाशित : माघ १४, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?