बालिकाको मृत्युपछि तनाव

 ७ टिपरमा आगजनी
विनोद भण्डारी

विराटनगर — टिपरको ठक्करले ११ वर्षीय बालिकाको मृत्यु भएपछि सोमबार मोरङको सुन्दरहरैचा नगरको विराटचोक दिनभर तनावग्रस्त रहयो । पूर्वपश्चिम राजमार्गमा केही समय यातायात अवरुद्ध भएको थियो । स्थानीय प्रशासनले निषेधज्ञा लगाएपछि राजमार्गमा यातायात सुचारु भएको थियो ।

 बालिकाको मृत्युपछि तनाव

गिट्टी बालुवा वोकेर विराटनगर आउँदै गरेको ना३ख ३३५५ नम्बर टिपरको ठक्करले सुन्दर हरैचा नगरपालिका ९, सिसौघारीका चुडामणि ढकालकी छोरी लक्ष्मीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि आक्रोशीत स्थानीयले ठक्कर दिनेसहित ७ टिपरमा आगजनी गरे । आगो निभाउन पुगेका दमकललाई स्थानीयले अवरोध गरेपछि दमकल त्यसै फर्किएका थिए ।


अपराह्न मृतक परिवारका प्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधिसहितको सर्वपक्षीय बैठकले चारबुँदे सहमती गरेपछि स्थिती सामान्य वनेको थियो । बैठकमा सहभागी सुन्दरहरैचा नगर प्रमुख शिवप्रसाद ढकालका अनुसार दिउँसोको समयमा टिपरलाई राष्ट्रिय र सहायक मार्गमा गुडन नदिने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने, टिपर चालकलाई हदैसम्मको कारबाही गर्ने र शवको प्रक्रिया पुरा गरी व्यवस्थापन गर्ने सहमति भएपछि स्थिती सामान्य बनेको हो ।


सहमतिपछि सडकमा राखिएको बालिकाको शव उठाएपछि स्थितीलाई नियन्त्रणमा लिन जारी गरिएको निषेधज्ञा साँझ अबेर हटाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । कक्षा ३ मा अध्ययनरत लक्ष्मी बिहान साढे ८ बजे विद्यालयमा दिउँसो खाजा खान चाउचाउ किन्न घरअघिको सडक पार गरी पूर्वतर्फको किराना पसलमा जाने क्रममा टिपरले ठक्कर दिएको थियो । सुन्दर हरैचा १ घर भएकी उनी त्यहाँ काका लेखनाथको घरमा बसेर पढ्दै थिइन । उनका काका लेखनाथका अनुसार उनले चिउरा र भुजिया टिफीन बक्समा हालेर चाउचाउ किन्न गएकी थिइन् ।



प्रहरीले स्थिती नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले पूर्वमा सुकुना बजार, पश्चिममा बुधवार बजार, उत्तरमा विराटचोक र दक्षीणमा वेलेपुर क्षेत्रकोबिच करिब ३ किमि क्षेत्रमा दिउँसो ११ बजेदेखि निषेधज्ञा लगाएको थियो । टिपरले बालिकालाई ठक्कर दिएर द्रूत गतिमा भागेपछि स्थानीयले मोटरसाइकलमा पच्छ्याएका थिए ।

घटनास्थलबाट करिब डेढ किमि दक्षिण बेलेपुर नजिक आइपुगेपछि पिछा गर्ने मोटरसाइकलले क्रस गरेपछि चालकले टिपरलाई रुखमा ठक्कर दिएर रोकिएपछि चालक भागेको प्रत्यक्षदर्शीको भनाइ छ। पिछा गर्ने मोटरसाइकललाई ठक्कर लाग्ने अवस्था आएपछि चालकले टिपरलाई रुखमा ठोक्काएर रोकेको उनीहरूको भनाइ छ । टिपर रोकिएपछि आक्रोशीत स्थानीयले त्यहीं आगो लगाएका थिए ।

घटना लगत्तै त्यही मार्ग भएर ढुंगा, गिट्टि र वालुवा बोकेर विराटनगर आउँदै गरेका अरु ६ टिपरलाई पनि आक्रोशीत समूहले रोकेर आगो लगाएका थिए । उनीहरूले त्यसपछि को१ख ५६६३, ५४०७, ५६८४, ५८३३ र ना३ख ४५८७ नम्बर टिपरमा आगो लगाएका थिए ।

प्रशासनले निषेधज्ञा लगाए पनि आक्रोशित स्थानीय बालिकाको शव सडकमै राखेर दिनभरी प्रर्दशनमा उत्रिएका थिए । प्रहरीले पटक-पटक शव उठाउने प्रयास गरे पनि आक्रोशित समूहले प्रतिकार गरेको थियो । घटनास्थल वरपरको करिब १ किमि खण्डमा हजारौँको उपस्थिति थियो ।

गत वर्ष पनि त्यही स्थानमा अमन चापागाईका १४ वर्षीय छोराको टिपरले किचेर मृत्यु भएको थियो । त्यसै बेलादेखि यहाँका बासिन्दाले विराटनगर विराटचोक सडकमा टिपर सञ्चालनमा रोक लगाउन स्थानीय निकाय र प्रहरी प्रशासन समक्ष माग गर्दै आएका थिए । तर त्यस क्षेत्रका अधिकांश जनप्रतिनिधि क्रसर उद्योग र टिपर व्यवसायी भएकै कारण स्थानीयको माग सुनुवाइ हुन सकेको थिएन । उक्त खण्ड टिपर गुडने प्रमुख मार्ग हो । यो सडकमा दिनहुँ सयौं टिपर ओहोर–दोहोर हुँदा अन्य सवारीसाधनले कष्ट भोग्नुपर्ने बाध्यता छ ।

प्रकाशित : माघ १४, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?