कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिँचाइ योजनाको जग्गामा पक्की संरचना

सुनसरी — सुनसरी मोरङ सिँचाइ योजनाको जग्गामा स्वामी कृष्णदास महाराजले १२६ कोठाको नयाँ तीन तले भवन निर्माण गरेका छन् । आयोजनाको बराह क्षेत्रस्थित चतरा इन्टेक (मुहान) नजिकै १२ बिघा ८ कट्ठा १९ धुर जग्गा ०६४ सालमा आश्रम बनाउने भनेर उनी बसेका थिए ।

सिँचाइ योजनाको जग्गामा पक्की संरचना

कुष्णदासले जगद्गुरु श्रीरमानन्दाचार्य सेवापीठ चतराधामको नाममा करिब ८ करोड रुपैयाँ लागतमा भवन बनाएका हुन् । सुनसरी र मोरङका ६८ हजार हेक्टर जमिन सिँचाइ गर्न चतरा मुहानमा योजनाको स्वामित्वमा थियो । विराटनगरस्थित सुनसरी मोरङ सिँचाइ योजना कार्यालयका प्रमुख हरेराम श्रेष्ठले योजनाको स्वामित्वमा रहेको जमिनमो सहमतिबिना भौतिक निर्माण भएको जानकारी मात्र पाएको तर रोक्न नसकेको बताए ।


उनले भने, ‘सुनसरी र मोरङका हजारौं किसानलाई राहत दिन चतरा नहर निर्माण गरिएको हो । कोशीको पानी नहरमा ल्याउन चतरामा इन्टेक बनाइएको छ । त्यहाँ योजनाको स्वामित्वको जग्गा छ । हाल निर्माण भएको भवन आसपासमा पाँच स्थानमा ड्रेजर मेसिनले फालेका बालुवा बगाउने पाइप विस्तार भएका छन् । ’


उनले निकट भविष्यमा लहानसम्म सिँचाइ सुविधा विस्तार गर्न अर्को नयाँ सोही क्षेत्रको आसपास व्यारेज समेत निर्माण गर्ने डिजाइन र योजना पनि भइरहेको तर अरूले अतिक्रमण गरेर भौतिक निर्माण, पक्की भवनहरू बनाएपछि समस्या उत्पन्न भएको बताए । उनले भने, ‘पहिले उक्त जग्गा भोगाधिकारका लागि दिन भनेर छलफलमा भएको थियो । तर योजनाले स्वीकृत नगरेकाले उनीहरूले भोगाधिकार नपाएका हुन् ।’


उनले योजनाले अतिक्रमण गर्ने सुकुम्बासीलाई हटाउन सफल भए पनि धार्मिक पीठको नाममा बसेका साधुसन्तलाई हटाउन नसकेको स्वीकारे । योजनाले त्यस बेला सुनसरीको हरिपुरबाट सशस्त्र द्वन्द्वमा परेका ५८ परिवारमध्ये १५ परिवारलाई प्रहरी प्रशासन लगाएर उठाएको थियो ।


सेवापीठका कृष्णदासले आयोजनाले सहमति नदिए पनि माथिल्लो तहले मौखिक रूपमा भोगाधिकार दिएको बताए । उनले भने, ‘सरकारले हामीलाई भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।’ उनले उक्त जग्गामा आयुर्वेद विश्वविद्यालय, गौपालन, हरित क्रान्ति, प्राकृतिक चिकित्सा, जडिबुटी उत्पादन, उपचार आवास र विभिन्न प्रशिक्षण, आश्रम धर्मशालाका लागि भवन निर्माण गरेको बताए ।


उनले भने, ‘हामीलाई अझै २ सय देखि ३ सय कोठाको भवन आवश्यक छ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय बनाउने गरी विकास निर्माण गरिरहेका छौं ।’ उक्त भवन विराटनगरका नमुना कन्स्ट्रक्सन प्रालिका रमेश बस्नेतले ठेक्का पाएर बनाएका हुन् । भवन निर्माण गर्नुअघि स्थानीय तहमा डिजाइन र घर नक्सा पास गराउनु पर्ने प्रावधान भए पनिे बराहक्षेत्र नगरपालिकाको घरनक्सा फाँटमा हालसम्म कुनै कागजपत्र पेस भएको छैन । नगरपालिकाका इन्जिनियर नवीन खनालले भने, ‘त्यहाँ भवन बनेको जानकारी हामीलाई थाहा छैन । राजश्व गुमे पनि कताबाट कसरी के गरेर त्यत्रो भवन निर्माण भयो केही थाहा छैन ।’


बराहक्षेत्र नगरपालिका उपप्रमुख कमला मगरले उक्त जमिन पहिले खाली चौर रहेको तर पछिल्लो समयमा विभिन्न सम्प्रदायले आफ्नो क्षेत्र बनाएर घेरावारा गरेको बताइन् । उनले नगरपालिकाले पनि केही गर्न नसकेको स्वीकारिन् । उनले भनिन्, ‘योजनाको जग्गा भएकाले त्यहाँ विवाद छ । तर के कसरी मिलाएर बसेका हुन् केही भन्न सकिने अवस्था छैन ।’

प्रकाशित : माघ १६, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?