कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

संरक्षण पर्खंदै महाभारतकालीन पोखरी

अर्जुन राजवंशी

बिर्तामोड, झापा — सरकारी बेवास्ताका कारण महाभारतकालीन इतिहास बोकेका पोखरी तथा तलाउ बेवारिसे बनेका छन् । बिर्तामोड नगरपालिका १० स्थित चारवटा पोखरी वर्षौदेखि ओझेलमा छन् ।

संरक्षण पर्खंदै महाभारतकालीन पोखरी

सरकारी निकायको ध्यान पुग्न नसक्दा सधु, मधु, तेलगानी र कुवापानी पोखरी बेवारिसेजस्तै बनेका छन् । सरोकारवाला निकायले खोजीनीति नगर्दा कुवापानी पोखरी नामेट भएको छ । अहिले उक्त पोखरीको स्थान मात्र भेटिन्छ ।


त्यहाँ कुनै पोखरी छैन । पोखरी भएको दाबी गरिएको स्थानमा स्थानीयले बाली लगाउने गरेका छन् । सधु, मधु पोखरी झारपातले भरिएको छ । बोट, बिरुवाको उचित व्यवस्थापन छैन । पोखरीहरूको रेखदेख छैन ।


‘पोखरी संरक्षणमा राज्यले थोरै पनि चासो देखाएन,’ स्थानीय भक्तसिंह राजवंशीले भने, ‘नगरको गौरव गर्न लायकका पोखरीहरू वर्षांैदेखि संरक्षणहीन बन्नु निकै दुखद् अवस्था हो ।’ वडा सदस्य समेत रहेका राजवंशीले आफू निर्वाचित भएपछि भने पोखरी संरक्षण गर्नुपर्नेमा वडा कार्यालयको ध्यानाकर्षण गराउने कार्य गरिरहेको बताए ।


क्षेत्रफल र सुन्दरताका हिसाबले मधु पोखरी उत्कृष्ट स्थल भए पनि अहिलेसम्म कसैले कुनै गतिविधि नगरेको स्थानीय गोपाल पाठकले बताए । उनले धार्मिक पर्यटनको सम्भावना भए पनि सरोकारवाला निकायको चासो र चिन्ताको विषय बन्न नसक्दा पोखरी वर्षांैदेखि झारजंगलमा परिणत भएको बताए ।


‘बनाउन सक्ने हो भने मधु, सधु पोखरीलाई एउटा राम्रो पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ,’ उनले भने, ‘तर खोई, यसतर्फ कसैको चासो गएको जस्तो देखिँदैन ।’ यी चारवटै पोखरी महाभारतकालमा विराट राजाले आफ्ना गाईहरूलाई पानी खुवाउन खन्न लगाएको जनविश्वास छ ।


राजवंशीका अनुसार तेलगानी पोखरी ३ बिघा १० धुर जमिनमा फैलिएको छ । पोखरीको पश्चिम डिलमा दुर्गा तथा पूर्व डिलमा गुप्तेश्वर मन्दिर छ । परिवरी घना बस्ती छ । पोखरीको किनारले बिर्तामोड नगरपालिकाको रिङरोड छुन्छ । सधु र मधु पोखरी करिब दुई सय मिटरको आसपासमा छन् । वडा सदस्य अर्जुन सिटौलाका अनुसार दुवै पोखरीले करिब ७ बिघा क्षेत्रफल ओगटेको छ । पोखरी नजिकै सडकको सुविधा छ । मधु पोखरीमा सिद्धेश्वर मन्दिर छ । चारैतर्फ बोटबिरुवाले हरियाली छ ।


‘गर्न चाहने हो भने सधु, मधु र तेलगानी पोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कुनै समस्या छैन,’ सिटौलाले भने, ‘तर, यसलाई वडाको मात्र नभई नगरपालिकाकै गहना बनाउन जरुरी छ ।’ उनले वडा कार्यालयबाट सके जति संरक्षणको प्रयास गरिरहेको बताए ।


वडाध्यक्ष दुर्योधन गुरुङले वर्षांैदेखि बेवारिसेजस्तै रहेका पोखरीहरूको संरक्षण र व्यवस्थापन गर्न आफ्नो टिम लागिपरहेको बताए । उनले गत वर्ष पहिलो चरणमा तेलगानी पोखरी घेराबारा गरेको जनाए । ‘राज्यका कुनै निकायले चासो नराखे पनि वडा कार्यालयले यी पोखरीलाई आफ्नो गहना ठानेर अघि बढ्ने अठोट लिएको छ’ गुरुङले भने, ‘दशकौदेखि त्यतिकै छाडिएका पोखरीहरूको व्यवस्थापन गर्न केही समय लाग्छ ।


त्यसका लागि हामी निरन्तर लागिरहेका छौं ।’ उनले पोखरीहरूको उचित व्यवस्थापनका लागि इतिहास खोज्नेदेखि गर्न सकिने विकासका रणनीतिबारे छलफल भइरहेको बताए । उनले कुवापानीको १० कट्ठा ४ धुर जमिनमा खानेपानी आयोजना निर्माण गर्न लागेको बताए । यसका लागि प्रदेश सरकारबाट चालु वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिए ।

प्रकाशित : माघ १८, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?