कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लोकमार्गको पूर्वी खण्डमा कालोपत्रे

धरान–चतरा–सिन्धुली–हेटौंडा सडक (मदन भण्डारी लोकमार्ग) अन्तर्गत पूर्वी खण्डमा आइतबारदेखि कालोपत्रे गर्ने काम सुरु 

चुहाडे, उदयपुर — सरकारको पहिलो प्राथमिकतामा परेका धरान–चतरा–सिन्धुली–हेटौंडा सडक (मदन भण्डारी लोकमार्ग) अन्तर्गत पूर्वी खण्डमा आइतबारदेखि कालोपत्रे गर्ने काम सुरु भएको छ । त्रियुगा नगरपालिकाको चुहाडे–गाईघाट खण्डबाट कालोपत्रे थालिएको हो ।

लोकमार्गको पूर्वी खण्डमा कालोपत्रे

सडक आयोजनाको पूर्वी खण्डमा सडक र पुल दुवै निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । निर्माण सुरु भएको झन्डै अढाई वर्षपछि कालोपत्रे गर्न थालिएको हो । काम सम्पन्न गर्नुपर्ने समयसीमा सकिँदै जाँदा कालोपत्रे गर्ने काम भएको छ । कालोपत्रेसँगै करिब सडक निर्माणको ५० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।


भित्री मधेसको उयदयपुर, सिन्धुली र मकवानपुरका शिवालिक र दून क्षेत्रलाई जोड्ने यो सडक पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण भइरहेको छ । कालोपत्रसँगै भौतिक रूपमा सडक निर्माणको काम ५० प्रतिशत सकिएको छ । पुलको ६० प्रतिशत काम भइसकेको धरान–चतरा–सिन्धुली–हेटौंडा सडक योजना पूर्वी खण्ड कार्यालय गाईघाटले जनाएको छ ।


सडकको तुलनामा पुल निर्माण धेरै अघि बढेको छ । दुई खण्डमा विभाजन गरी लोकमार्ग निर्माण भइरहेको छ । पूर्वी खण्डको १ सय ३५ किलोमिटर सिन्धुलीको भिमानदेखि धरान खण्डमा सडक, पुल, कजवे, ह्युम पाइप, बक्स तथा स्ल्याब कल्भर्टलगायत संरचना निर्माण धमाधम भइरहेको आयोजना पूर्वी खण्ड कार्यालय गाईघाटले जनाएको छ ।


कालोपत्रे गर्ने काम दैनिक झन्डै एक किलोमिटर हुने पूर्वी खण्डतर्फको निर्माण कार्यको जिम्मा पाएको जेडआईईसी शर्मा एन्ड लामा जेभीका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए । ‘कालोपत्रे गर्ने काम ८ सयदेखि एक किलोमिटरसम्म गरिन्छ,’ प्रोजेक्ट म्यानेजर पोखरेलले भने, ‘कालोपत्रेसँगै अन्य काम पनि भइरहेको छ ।’ सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि धरानसम्मको सडकमा धमाधम काम भइरहेको उनले बताए ।


‘सडक गुणस्तरलाई ध्यानमा राखेर कालोपत्रे गर्ने काम सुरु भएको छ,’ आयोजना पूर्वी खण्डका इन्जिनियर रामकुमार यादवले बताए । ‘कालोपत्रे गर्नेसँगै अन्य काम पनि तीव्र गतिमा हुँदै छ,’ इन्जिनियर यादवले भने । लोकमार्गको पूर्वी खण्डमा सडक एलाइमेन्ट विवाद टुंग्याएर त्यसमा रहेका विद्युत् पोल र रूख काट्ने कामसँगै कालोपत्र गर्ने काम भइरहेको इन्जिनियर यादवले बताए । ‘माटो काम सकाएर सडकको ९० प्रतिशत ग्रेड मिलाइसकियो,’ इन्जिनियर यादवले भने, ‘नाली निर्माण, टेवा पर्खाल र क्रसड्रेनको काम चलिरहेको छ ।’


असार मसान्तसम्म पूर्वी खण्डमा ५० किलोमिटर कालोपत्रे गरिसक्ने लक्ष्यका साथ कालोपत्रे सुरु गरिएको उनले बताए । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका, दून, शिवालिक र भावर क्षेत्र जोड्ने यो लोकमार्ग निर्माणलाई सर्वसाधारणले समेत चासो लिएका छन् । ‘स्थानीयको अर्थ उर्पाजनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले यो लोकर्मागको महत्त्व बढी नै छ । स्थानीयको सामाजिक, सांस्कृतिक, आर्थिक र भौतिक रूपमा समेत यो लोकमार्ग प्रत्यक्ष सरोकार राख्दछ । त्यसैले राजमार्ग निर्माणमा सर्वसाधारणले पनि चासो राखेको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।


पूर्वी खण्डको १ सय ३४ किलोमिटरमा ४३ वटा पुल निर्माण हुँदै छन् । तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको लोकमार्गको पूर्वी खण्डतर्फ जेडआईईसी शर्मा एण्ड लामा जेभीले निर्माणको जिम्मा लिएको हो । ११ मिटर चौडाइको सडकमा दुई पत्रमा पिच हुनेछ । पहिलो लेयरमा ११ मिटर चौडाइ, ६ सेमि मोटाइ र दोस्रो लेयरमा त्यसमाथि ७ मिटर चौडाइ ४ सेमि मोटाइमा पिच हुने इन्जिनियर यादवले बताए ।

प्रकाशित : माघ २१, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?