हिउँदे अधिवेशन : राजधानी र नाम तोक्न माग

विराटनगर — तेस्रो तथा हिउँदे अधिवेशनको पहिलो दिन शुभकामना दिंदै प्रदेश १ को सभामा प्रतिनिधित्व गर्ने पाँचै दलका नेताले स्थायी राजधानी र नामाङकनको मुद्दालाई यही अधिवेशनमा सक्न माग गरेका छन् । अधिवेशन आइतबार सुरु भएको हो । 

हिउँदे अधिवेशन : राजधानी र नाम तोक्न माग

दिउँसो ३ वजे सुरु भएको तेस्रो हिउँदे अधिवेशनको प्रारम्भमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले पठाएको पत्र पढेका थिए । दोस्रो बर्खे अधिवेशन समापन भएको ३ सय २७ दिनपछि तेस्रो हिउँदे अधिवेशन सुरु भएको हो । पहिलो दिनको बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँचै दलका नेताहरूले बोलेका थिए ।


प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले अब सदनमा कांग्रेस सत्ता पक्षको पुच्छरजस्तो बनेर नबस्ने बताए । उनले जनताका मुद्दालाई सदनवाटै स्थापित गराउने गरी भूमिका खेल्ने दावी गरे ।


‘अजीव दास्ता है, कहाँ सुरु कहाँ खतम’ बोलको हिन्दी गीतबाट सुरु गरेका कोइरालाले व्यंग्य गर्दै भने, ‘यो प्रदेश सरकारको यात्रा कहाँबाट सुरु भएर कहाँ अन्त्य हुने हो थाहासम्म हुन सकेको छैन ।’ नेता कोइरालाले केन्द्र र प्रदेशमा दुई तिहाइका सकार हुँदा पनि संघियता अहिले कागजको नाउँजस्तै भएको भन्दै कति बेला पानीमा डुब्ने हो त्यो भन्न सक्ने अवस्था नहरेको वताए ।


नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले सरकार सहमति र सहकार्यबाट अघि बढ्ने बताए । दोस्रो बैठकले सातबाट समितिलाई पूर्णता दिन, मन्त्रिमण्डलले पूर्णता पाउने र प्रदेशको स्थायी राजधानी र नामांकनसमेत अन्त्य गर्ने भएकाले ऐतिहासिक हुने दाबी गरे ।


संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले प्रदेशको नामाङकन र स्थायी राजधानी यो तेस्रो अधिवेशनले अन्त्य गर्नुको विकल्प नरहेको बताए । यसै गरी राप्रपा संसदीय दलकी नेता इन्दिरा राईले पनि राजधानी र नामांकनको विषयलाई तत्काल अन्त्य गर्न माग गरिन् । उने पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिन माग गरिन् ।


संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलकी नेता विष्णु तुम्बाहाम्फेले प्रदेशको नाम र स्थायी राजधानीको तेस्रो अधिवेशनवाट अन्त्य हुनुपर्ने माग गर्दै पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने धारणा राखिन् । यो अधिवेशनले निम्तिमा १३ वटासम्म विधेयक पारित गर्ने र नामकरण तथा राजधानीको विषय टुंगोमा पुर्‍याउने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।


संसद् सचिवालयमा दर्तामा रहेका, विषयगत समितिमा छलफलमा गएका र नयाँ दर्ता हुनेसमेत १३ वटासम्म विधेयकमाथि छलफल भई पारित हुने बताए । यही अधिवेशनवाट विषयगत समितिले पूर्णता पाउने, नाम र स्थायी राजधानी तोक्ने उनको भनाइ थियो ।


प्रदेशसभाअगाडि धर्ना

प्रदेश १ को तेस्रो हिउँदे अधिवेशन सञ्चालन भइरहकेका बेला आइतबार प्रदेशसभाअगाडि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकर्ताले नारा–जुलुस गरेका थिए । उनीहरूले प्रदेशको नाम लिम्बुवान हुनुपर्ने माग गरेका थिए ।


झापा, मोरङ र सुनसरीबाट आएका लिम्बुवान कार्यकर्ताले सदन चलुन्जेल नाराबाजी गर्दै प्रदर्शन गरे । उनीहरूले विराटनगरको लोकतान्त्रिक चोकबाट जुलुस प्रदर्शन गरेका थिए । प्रदेशसभाअगाडिको सडकमा आइतबार निकै बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।


मुख्यमन्त्री शेरधन राईले व्यापक छलफलपछि सहमतिमा स्थायी राजधानी र नामांकनको मुद्दा किनारा लाग्ने दाबी गरेका छन् । ‘सदनमा औपचारिक रूपमा प्रवेश गराउनुअघि बाहिर राजनीतिक दल र मेरै दलमा पनि व्यापक छलफल गराउँछु,’ प्रदेशसभाको तेस्रो बैठक सुरु हुनुअघि आइतबार आफ्ना कार्यकक्षमा सञ्चारकर्मीमाझ मुख्यमन्त्री राईले भने, ‘सकेसम्म सर्वसम्मतिमै दुवै विषय टुंगोमा पुर्‍याउने योजना छ ।’


मुख्यमन्त्री राईले नाम र राजधानीको विषयमा प्रमुख विपक्षी, विपक्षी र सत्तापक्षको समेत साझा धारणा बनाएर अघि बढ्ने आफ्नो तयारी रहेको बताए । प्रदेशसभा सञ्चालन नियमावली संशोधन गरेर सरकारले अपौचारिक रुपमा यो विषयलाई सदनमा प्रवेश गराउने बताए । नियमावलीमा नाम र राजधानी सदनमा औचारिक रूपमा प्रवेश गराउने भन्ने दफा नै राखिएको छैन ।


राजधानी माग्दै प्रदर्शन

धनकुटा (कास)– प्रदेश १ को हिउँदे अधिवेशन सुरु भएको दिन पारेर धनकुटामा भने राजधानीको माग राख्दै स्थानीयले प्रदर्शन गरेका छन् । हिउँदे अधिवेशनले प्रदेशको नामकरण र स्थायी राजधानीको टुंगो लगाउने भएपछि धनकुटालाई राजधानी बनाउनुपर्ने माग राख्दै आएका जिल्लाबासी पुन:आन्दोलनमा उत्रिएका हुन् ।


स्थानीय मदन चोकबाट सुरु भएको र्‍यालीले बजारका विभिन्न भागको परिक्रमापछि पुन: सोही स्थानमा पुगेर सभा गरिएको थियो । प्रदेश राजधानी बनाउन भौतिक पूर्वाधार तथा भूगोलका आधारमा उपयुक्त रहेकाले धनकुटाको पक्षमा अभिमत जारी गरी निर्णय गरी दिन अपिल गरिएको राजधानी निर्माण अभियान परिचानल समितिका संयोजक सुन्दरबाबु श्रेष्ठ बताए ।


सभालाई संयोजक श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, उद्योग वाणिज्य संघका उपाध्यक्ष मनकुमारी तितुङ, पत्रकार महासंघ जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ र स्थानीयबासी सुजनभाई जोशीले मन्तव्य राखेका थिए । धनकुटाको पक्षमा अभिमत जाहेर गरीदिन प्रदेश सांसदलाई पत्राचार गर्नेलगायतका कार्यक्रम अघि सारिएको जनाइएको छ ।

प्रकाशित : माघ २१, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?