१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विमानस्थलको डीपीआर तयार

धनकुटा — धनकुटाको वेलहाराडाँडास्थित बाघखोरमा मध्यमस्तरको विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको परामर्शदाता रियलपाथ इन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरको टोलीले विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गरेका हो ।

टोलीले गत वर्ष ड्रोनको प्रयोग गरेर पहिलो चरणमा स्थलगत अध्ययनपछि ५० सिट क्षमताको विमानका लागि १३ सय मिटरभन्दा लामो धावनमार्ग र कम्तीमा चार सय मिटर चौडाइसहित दुबैतर्फबाट उडान र अवतरण गर्न मिल्ने गरी डीपीआर तयार पारेको जनाइएको छ ।


एटिआर ४७ लगायतका मध्यम खालका विमानका लागि डीपीआर तयार गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाले जनाए ।


विस्तृत सर्वेक्षणमा धावनमार्ग, पार्किङस्थल, टर्मिनल टावर, स्टाफ क्वाटर, फ्युल स्टेसन र सुरक्षा निकाय पोस्ट समेत समावेस गरी डीपीआर तयार भएको जानकारी थापाले बताए । ‘अब वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को प्रक्रियामा रहेका छौं,’ थापाले भने, ‘वातावरण मन्त्रालयको स्वीकृति चाहिने भएकाले त्यसको पर्खाइमा छौं ।’


डीपीआरका लागि चार महिनाअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत दुई करोड बजेट विनियोजन भएको थियो । धनकुटामा २०२२ सालदेखि नै विमानस्थल निर्माणको चर्चा चल्दै आए पनि अब पूर्णता पाउनेमा विश्वस्त रहेको पूर्वसांसद हेमराज भण्डारीले बताए ।


विमानस्थल निर्माणका लागि अगुवाइ गर्ने मध्येका भण्डारीले ५३ वर्षपछि विस्तृत अध्ययन प्रतिवेदन तयार भएको बताए । २०७३ साल माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको उनले जानकारी दिए ।


‘कन्सल्टेन्टले तयार पारेको डीपीआर मन्त्रालयमा पुगिसकेकाले यसको कार्यले अब गति लिनेछ,’ भण्डारीले भने, ‘इआइएको काम सकिएपछि निर्माणको प्रक्रियामा जाने छ ।’ ६ वर्षअघि नै बेलहारामा उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि पूर्वाधार प्राधिकरणका इन्जिनियर मणिगोविन्द श्रेष्ठ नेतृत्वको टोलीले अध्ययन गरी विमानस्थल निर्माणका लागि सिफारिस गरेको थियो ।


त्यति बेला जिल्लाका विभिन्न तीन स्थानमा सर्वेक्षण गर्दा बेलहारा उपयुक्त देखिएको थियो । विमानस्थल निर्माण गर्दा बढीमा ५० घर विस्थापित हुने बताइएको छ । विस्थापितलाई पुनर्वासका लागि धनकुटा नगरपालिका सहित जिल्लाका स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारसँग पहल गरी व्यवस्थापन गरिने पूर्वसांसद भण्डारीको भनाइ छ ।


स्थानीय स्तरमा जिल्ला समन्वय समिति र जिल्लास्थित राजनीतिक दल सहितको सर्वपक्षीय संयन्त्र निर्माणमा भने ढिलाइ भएको गुनासो बढेको छ । विमानस्थलसम्म पुग्ने सडक निर्माणका लागि गत आर्थिक वर्ष ०७४/७५ मा अर्थ मन्त्रालयबाट २ करोड बजेट विनियोजन भएको थियो । तर उक्त बजेटको काम हुन सकेको छैन ।


हाल विमानस्थल निर्माण स्थलसम्म कच्ची सडक पुगे पनि उक्त सडकलाई कालेपत्रे गर्ने प्रक्रियाको सुरुवात हुन नसकेको धनकुटा नगरपालिका ९ का वडाध्यक्ष मनोज रायमाझी सन्दिपले जानकारी दिए। विमानस्थल निर्माणस्थल वेलहारामा करिब ४२ रोपनीको फराकिलो टहार सहित आसपासका थप जग्गालाई धावनमार्गका रूपमा समेटिनेछ ।


पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएका भेडेटार, हिले, चौविसेको राजारानी ताल, गुराँसको राजधानी मिल्के जलजले क्षेत्र, ऐतिहासिक धनकुटा सदरमुकाम लगायत स्थानको वाह्य तथा आन्तरिक पर्यटकका लागि विमानस्थलले महत्त्व राख्नेछ । उक्त स्थानमा विमानस्थल निर्माण भएपछि धनकुटासँग सीमावर्ती तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङबासी समेत लाभान्वित हुनेछन् । प्रस्तावित विमानस्थल विराटनगरबाट २२, तुम्लिङटारबाट २४ र भोजपुरबाट १७ दशमलव ७४ नटिकल माइलको दूरीमा छ ।

प्रकाशित : माघ २३, २०७५ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?