चतरामा तारकब्रह्म महायज्ञ सुरु

कान्तिपुर संवाददाता

मोरङ — सुनसरीको चतरामा शनिबारदेखि श्रीराम तारकब्रह्म महायज्ञ सुरु भएको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान र जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठले आयोजना गरेको महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । 

सुनसरीको चतरामा आयोजित श्रीराम तारकब्रह्म महायज्ञको नौतले मण्डपको रिबन काटेर शनिबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : देवनारायण साह/कान्तिपुर

सेनाको इटहरीस्थित पूर्वी पृतनामा शुक्रबारै आएर बसेकी उनी सिमसिम पानी परिरहेकै बेला महायज्ञ उद्घाटन गर्न बराह नगरपालिका १ स्थित चतराधाम पुगेकी थिइन् । पूर्वी पृतनालयबाट आएकी राष्ट्रपति भण्डारी सुरुमा चतराधामस्थित वृद्धाश्रममा बस्दै आएकी आमा मिथिला पाण्डेलाई भेट्न गइन् । एकछिन भलाकुसारी गरेपछि आमासँगै महायज्ञस्थलको उत्तरपट्टि श्रीरामानन्दाचार्य सेवापीठले १ सय १२ दिनमा निर्माण गरेको १ सय ३६ कोठे भवनको उद्घाटन गरिन् ।

Citizen

त्यसपछि उनले महायज्ञको ९ तले मण्डपको रिबन काटेर उद्घाटन गरिन् । भारतको अयोध्याका श्रीराम छाउनी पीठका कमलनयन दास आचार्यले भगवान् बराह र कोशी नदी पौराणिककालदेखि नै पूज्य भूमिका रूपमा रहेको बताए । उनले भेदभावरहित तरिकाले यो क्षेत्रको विकासका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति भण्डारीले नौ दिनसम्म सञ्चालन हुने महायज्ञले जलवायु अनुकुलनमा सार्थक हुने बताइन् । ‘प्रकृति र पर्यावरण संरक्षणका लागि हरित क्रान्ति महत्त्वपूर्ण छ,’ उनले भनिन्, ‘स्वच्छ वातावरण नै स्वस्थ र सुखी नेपालीको आधार हो ।’

पर्यटन र पर्यावरणको सम्बन्ध हरितसँग रहेकाले यसले पर्यटक आकर्षित गर्न सघाउ पुग्ने उनले बताइन् । १ सय २ साधकद्वारा श्रीराम तारकब्रह्म मन्त्रराजको १ अर्ब ६० करोड पूर्ण जप र १६ करोड हवनार्चनसहितको महायज्ञ हुने रामानन्दाचार्यले बताए । यो महायज्ञ मुलुकमै पहिलोपटकहुन लागेको उनको भनाइ छ । महायज्ञमा मुलुकभरका योगीसहित भारतका योगीको सहभागिता रहने उनले सुनाए ।

महायज्ञमा ६० टन तिल, ३० टन चामल, १५ टन जौ, १० टन घिउ, १० टन जडीबुटी र २ सय ४० टन समिदाको हमन गरिने बताइएको छ । महायज्ञमा १ सय ८ कुण्डमा १ हजार २ सय साधकले हवन गर्ने छन् । जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठले सुनसरी मोरङ सिँचाइ योजनाको १२ बिघा ८ कठ्ठा १९ धुर जग्गामा सेवापीठ निर्माण गरेको छ ।

प्रकाशित : माघ २७, २०७५ ०९:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

२४ दिनमा सडक निर्माण

इटहरी ४ स्थित आधारभूत बस्तीको श्रमिकमार्ग स्थानीय सहभागितामा निर्माण पूरा
गाउँले जुटे समयमै काम सकिने उदाहरण
कान्तिपुर संवाददाता

सुनसरी — सुनसरीको इटहरी– ४ स्थित आधारभूत बस्तीको श्रमिक मार्गका स्थानीय उपभोक्ताले जनसहभागितामा २४ दिनमै सडक निर्माण गरेका छन् । ४ सय ३१ मिटर लम्बाइको कच्ची सडकलाई ‘इन्टरलकिङ ब्लक’ प्रयोग गरेर छोटो समयमा निर्माण पूरा गरेका हुन् । 

इन्टरलकिङ ब्लक प्रयोग गरेर २४ दिनमै बनाएको इटहरीको श्रमिकमार्ग निरीक्षण गर्दै उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र उपभोक्ता समितिका पदाधिकारी ।तस्बिर : प्रदीप मेन्याङ्बो/कान्तिपुर

गत पुस २० देखि निर्माण थालिएको सडक माघ १४ मा निर्माण सम्पन्न गरिए पनि औपचारिक उद्घाटन शनिबार गरिएको हो । सडक निर्माण गर्नुअघि प्राविधिकले ४१ लाखको लागत इस्टिमेट र डिजाइन बनाएको थियो । तर उपभोक्ताले २८ लाख २ हजार रुपैयाँ लागतमा २४ दिनमै सडक तयार गरेर देखाएका छन् । सडक छेउका प्रत्येक उपभोक्ताले प्रतिफिट ५ सय ५० रुपैयाँका दरले आफ्नो भागमा परेको रकम संकलन गरेर उपमहानगरपालिकाले तोकेको बैंकमा जम्मा गरेका थिए ।

स्थानीय उपभोक्ताको चाहनाअनुसार स्थानीय तहले तदारुकताकासाथ चासो दिएर प्राविधिक सहयोग गरेमा रातारात सडक निर्माण गर्न सकिन्छ भनेर देखाउन सफल भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष विश्वेश्वर शर्मा पोख्रेलले बताए । सडकसँग हाल बसोबास गरेका ८८ परिवारको जमिनले छोएको छ ।

उनले भने, ‘सहरको पहिचान भनेको फराकिलो सफा सडक नै हो । सडक नै नभएपछि के सहर ? इटहरी नगरबीचको यो करिव आधा किलोमिटरको श्रमिक मार्गलाई हामीले फराकिलो र सफा सडक भएको कल्पना गर्दै आएका थियौं । हामीले त्यसका लागि आधा प्रतिशत बजेट पनि घरघरबाट संकलन गर्‍यौं ।’ उनका अनुसार स्थानीय उपभोक्ताले श्रमदान समेत गरेर इटहरी उपमहानगरपालिकाले लागतको आधा रकम अनुदान दिएपछि निर्माण सम्पन्न भएको हो ।

इटहरी– ४ का वडाध्यक्ष चन्द्र भट्टराईका अनुसार नगरपालिकाको १५ लाख रुपैयाँ अनुदानमा स्थानीय उपभोक्ताको १४ लाख ८२ हजार रुपैयाँ लागत सहभागितामा सडक निर्माण गरिएको हो । उनले भने, ‘इन्जिनियर र अन्य प्रावधिकले उक्त सडकले ८० टन भार थेग्न सक्छ भनेका छन् ।

अलकत्रा प्रयोग गरेको कालोपत्रेको सट्टा वातावरण मैत्री इन्टरलकिङ व्लकले कम्तीमा २० वर्ष नभत्किने थाम्ने भनेका छन् ।’ उनले ब्लक प्रयोग गरेको सडक कतै भत्किए त्यहाँ नयाँ ब्लक तत्कालै लगाएर जस्ताको तस्तै बनाउन सकिने भएकाले इटहरीका उपभोक्ताहरू यसै प्रविधिमा आकर्षित भएको बताए ।

स्थानीय उपभोक्ताले रातदिन नभनी लगातार निर्माण गरेको उक्त सडकको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले शनिबार उद्घाटन गरे । उनले आफ्नो टोलमा सुन्दर सडक निर्माण गर्न जनसहभागिता जनाएर विकास र समृद्धिका लागि योगदान दिने स्थानीय उपभोक्ताको मुक्तकण्ठले प्रशंशा गर्दै भने, ‘यसरी नै इटहरीका अन्य चोक र टोलका बासिन्दा पनि जुर्मुराएमा चार वर्षमा इटहरी मुलुककै अब्बल उपमहानगर बन्नेछ ।

जनसहभागिताका लागि उपमहानगरपालिका सधैं साथ र सहयोग गर्न तयार छ ।’ निर्माण सम्पन्न सडकले रेडक्रस चोकदेखि भेटघाटचोक हुँदै मोतीदेवी मार्ग जोड्छ ।

प्रकाशित : माघ २७, २०७५ ०९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT