२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

स्थानीय सहयोगमा सडक विस्तार

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु भएपछि स्थानीयहरू सडक फराकिलो गर्ने अभियानमा
अर्जुन राजवंशी

दमक — स्थानीय बासिन्दाको सहयोगमा झापाको गौरादह नगरपालिकाले नगर क्षेत्रका सडक फराकिलो बनाउन सुरु गरेको छ । सवारी साधनको चाप बढेपछि सडक फराकिलो गर्न थालिएको हो ।

स्थानीय सहयोगमा सडक विस्तार

पाडाजुँगी–गौरीगन्ज सडक साँघुरो भएकाले दुर्घटना बढेको साथै अव्यवस्थित भएको भन्दै फराकिलो पार्न थालिएको नगरपालिकाले जनाएको छ । उक्त सडक खण्डमा चार महिनाअघि मोरटरसाइकल दुर्घटनामा परी स्थानीय दुई युवकको मृत्यु तथा एक जना गम्भीर घाइते भएका थिए ।


टिपरको ठक्करबाट मोटरसाइकलमा सवार उनीहरूको मृत्यु भएपछि स्थानीय सडक फराकिलो गर्ने अभियानमा जुटेका हुन् । उनीहरूको संयुक्त पहलस्वरूप नगरपालिकाले बजेट उपलब्ध गराएको हो । यो वर्ष नगरपालिकाले ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । स्थानीयबासीले श्रमदानअन्तर्गत थप २५ हजार रुपैयाँ संकलन गरेका छन् ।


उक्त रकमले गौरादह खण्डको पेट्रोल पम्पदेखि सहिद गेटसम्मको डेढ किलोमिटर सडक फराकिलो गर्ने कार्य अहिले भइरहेको छ । १८ फिट चौडाइको उक्त सडक माटो पुरेर ३० फिटको बनाउन लागेको सडकमा माटो पुर्नलाई गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।


‘सडकको चौडाइ सानो भएकाले दुर्घटनाका घटनाहरू धेरै बढेको छ’ अधिकारीले भने, ‘दुइटा गाडी पनि क्रस गर्न गाह्रो हुन्छ । त्यसले दुर्घटनाको सम्भावना निकै हुने गरेको छ ।’ उनले सवारी दुर्घटनामा परी गाउँकै स्थानीयहरूले ज्यान गुमाउन थालेपछि सडक फराकिलो बनाउनेतिर अग्रसर भएको बताए ।


उक्त सडकमा दैनिक तीन सय बढी ठूला सवारी चल्ने गरेको अस्थायी ट्राफिक प्रहरी गौरादहले जनाएको छ । उक्त सडक दुई दशकअघि निर्माण भएको हो । ‘त्यो बेलाको सवारी चापका हिसाबले यो सडक ठीकै थियो,’ उपभोक्ता समिति सचिव मात्रिका भट्टराईले भने, ‘दस वर्षयता सवारी चाप निकै बढेको छ । यसले दुर्घटनाहरू पनि बढाएको छ ।’


झापाको दक्षिण–पश्चिम गौरीगन्ज, खजुरगाछी, कोरोबारी, कोहबरा, जुरोपानी, गौरादह, महारानीझोडा, बैगुनधुरा क्षेत्रको मुख्य सडक हो । उक्त सडक भएर दैनिक ५ वटा निर्माण कम्पनीका टिपर गुड्छन् । भट्टराईका अनुसार २५ भन्दा बढी टिपर गौरादह क्षेत्रमै छन् ।


‘ठूला दुइटा गाडीले नै सडक ढाकिन्छ । मोटरसाइकल, साइकल, सिटी सफारी, अटो रिक्साका लागि त साइड दिने ठाउँ नै हुँदैन,’ भट्टराईले भने, ‘सडक फराकिलो गर्नुको विकल्प भएन । सडकमा आवतजावत गर्दा ज्यान नै जाने डर भएपछि गाउँले सबै मिलेर नगरपालिकासँग आग्रह गरी रकम विनियोजन गराएका हौं ।’

प्रकाशित : माघ २८, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?