कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

माईखोलामा पक्की पुल बन्दै

इलाम — काठको अस्थायी पुलबाट खोला तर्नुपर्ने बाध्यता रहेको सन्दकपुर गाउँपालिकाको जुमना र सुलुबुङबीच माईखोलामा पक्की पुल निर्माण भइरहेको छ । जोखिमयुक्त काठेपुलवाट जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय उत्साही भएका छन् । 

माईखोलामा पक्की पुल बन्दै

दैनिक डेढ दर्जन धेरै सवारी साधन आउजाउ गर्ने यस स्थानमा वर्षौंदेखि पक्की पुलको माग भए पनि यो वर्ष मात्र निर्माण सुरु भएको हो । चालु आर्थिक वर्षमा नै काम सक्ने गरी पुल निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।


स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत तीन करोड १७ लाख रुपैयाँको लागतमा पुल निर्माणाधीन छ । यो सहित मेची राजमार्गको राजदुवालीमाथि निर्माण सम्पन्न र निर्माणाधीन गरी पक्की पुलको संख्या सात पुग्नेछ । ‘पर्यटन विकासमासमेत विभिन्न काम भइरहेको अवस्थामा पुल बनेपछि स्थानीयले धेरै फाइदा लिन सक्नेछन्,’ वडाध्यक्ष जितबहादुर साँवाले भने, ‘ढापपोखरी, हाँगेथाम, चोयाटार, जौवारीलगायत पर्यटकीय क्षेत्रमा पुग्नका लागि सडकसमेत स्तर उन्नति भइरहेको छ ।’


भारतको दार्जिलिङसँग सीधा सम्पर्क भएकाले राणा शासन कालमा नै यो बाटो पूर्वका विभिन्न जिल्लाका बासिन्दाले उपयोग गर्दै आएका थिए । त्यसै कारण छिमेकी गाउँ प्याङ निवासी चन्द्रपाल थेवेका छोराहरूले वि.सं. १९६० सालमा झोलुङ्गे पुल निर्माण सुरु गरेर १९६५ मा सम्पन्न गरेका थिए ।


केही वर्षअघिसम्म त्यही पुल मार्फत आउजाउ गर्नुपर्ने विकल्प थियो । सडक खुलेपछि अस्थायी पुलबाट सवारी साधन वारपार भए पनि पैदल यात्रुले पुरानो झोलुङ्गे पुलबाट आउजाउ गर्ने गरेका थिए । अहिले भने पुरानो झोलुङ्गे पुल नजिकै अर्को नयाँ झोलुङ्गे पुल निर्माण भएको छ ।


आउजाउ र नगदेवाली बिक्रीसँगै उपभोग्य सामग्री ल्याउन लैजानसमेत पक्की पुल बनेपछि सहज हुनेछ । काठे पुलबाट जोखिमयुक्त ढंगले गाडी चल्न निषेध गर्दै जिल्ला प्रशासनले समेत नयाँ पुल बनाउन दबाब दिएको थियो । यता सुम्वेकसँग जोडिएको प्याङमा भने भने अझै पक्की पुल बन्ने निश्चित छैन ।


बिब्ल्याँटेबाट प्याङ जोड्ने सडकको सोमबारे बेंसीमा पुल नहुँदा खोलाबाट नै सवारी साधन गुड्ने गरेका छन् । ‘बर्खा याममा पुल नभएकै कारण सदरमुकामसँगको सम्पर्क टुट्ने गरेको छ,’ स्थानीय भीम थेवेले भने, ‘नगदेबाली उत्पादनमा अग्रणी यो गाउँका बासिन्दाले पुल अभावमा नै उत्पादन बेच्न पनि कठिनाइ व्यहार्नुपर्छ ।’

प्रकाशित : माघ २९, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?