कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वडाका चोकचोकमा सालिक

विनोद भण्डारीे

जाँते, मोरङ — मोरङको लेटाङ नगरपालिका वडा ८ का हरेक चोकको आ–आफ्नै पहिचान छ । त्यहाँ हरेक अढाई तिन सय मिटरको दूरीमा फरकफरक सालिक र चोकको आ–आफ्नै नाम छ ।

वडाका चोकचोकमा सालिक

विराटनगरबाट करिव ७० किलोमिटर पूर्व उत्तरको यो ठाउँ पुग्न पथरीबाट करिव ८ किलोमिटर चारकोसे जंगल छिचल्ने वित्तिकै वडा ८ र ९ को सीमामा मदन भण्डारीको सालिक छ । त्यो चौक मदन भण्डारीको नाम र कम्युनिस्टहरूको किल्लाले चिनिन्छ । त्यस लगत्तै देवकोटो चोक आउँछ ।


त्यहाँ पहिला देवकोटा पुस्तकालय थियो । त्यो पुस्तकालय भएकै कारण स्थानीयले देवकोटाको सालिक बनाएर चोकको नाम देवकोटा राखिएको स्थानीयको भनाइ छ ।


देवकोटा चोक कटे लगत्तै किसान चोक आउँछ । दुई दशक पहिला त्यहाँ कृषि उपज आलुको खरिद बिक्री हुन्थ्यो र सवैले त्यस ठाउँलाई किसान चोक भन्थे । अहिले त्यहाँ आलुको व्यापार हुँदैन । तर अहिले पनि त्यो ठाउँलाई स्थानीयले किसान चोकले नै सम्बोधन गर्ने गरेको वडा अध्यक्ष भीम पोखरेलले बताए ।


किसान चोक लगत्तै श्रीजंगा चोक आउँछ । लिम्बुवानको बाहुल्यता रहेको त्यो स्थानमा वडाको दुई लाख अनुदान सहित स्थानीयले करिव १० लाखको लागतमा लिम्बू भाषाका प्रचारक श्रीजंगाको सालिक निर्माण गरेर चोकको नाम श्रीजंगा राखेका छन् । त्यसअघि त्यो चोकको नाम संगम थियो । त्यस लगत्तै बुद्ध चोक आउँछ । त्यहाँ अहिले ५ लाखको लागतमा बुद्धको सालिक निर्माण भइरहेको छ । त्यसपछि पाँचवटा सडक जोडिएको स्थान आउँछ ।


त्यसलाई स्थानीयवासीले पञ्चमुखी चोकको नामकरण गरेका छन् । त्यो चोकमा लिम्बुवान आन्दोलनका क्रममा सवारी दुर्घटनामा परेर ज्यान गुमाएका विवेक आङदम्बे र विजय चेमजुङको सालिक निर्माण गरिएको छ । पञ्चमुखी चोकबाट पश्चिम जाँदा भूपू चोक आउँछ । तत्कालीन जाँते गाउँ पञ्चायत हुँदा त्यहींका ज्ञानबहादुर लिम्बू प्रधानपञ्च थिए । उनी प्रधानपञ्च हुँदा त्यस चोकलाई पञ्च चोक भनिन्थ्यो । उनको निधन भएप्छि सवैले अहिले पनि भूपू चोक भन्ने गरेको पोखरेलको भनाइ छ ।


त्यसपछि जय नेपाल चोक आउँछ । पञ्चायत कालमा त्यहाँ कांग्रेसीहरूको बाहुल्यता थियो । त्यसैले त्यसै ताकादेखि त्यस स्थानलाई जय नेपाल चोक भन्ने गरिएको स्थानीय शंकर गुरुङको भनाइ छ । उनका अनुसार अहिले पनि त्यहाँ कांग्रेसीको हालीमुहाली छ । त्यसपछि संगम चोक आउँछ । त्यो चोकमा वडाका चारैतिरका मानिसको जम्का भेट हुने गरेकाले त्यो ठाउँलाई संगम चोक भनिएको जाँतेवासीको भनाइ छ ।

प्रकाशित : माघ २९, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?