१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दुई दशकदेखि सारंगी रेट्दै गाउँबस्ती

धनकुटा — कठ्यांग्रिँदो जाडोले सारंगीको तारमा औंला दौडाउन पनि सकस छ । तैपनि घरदैलोमा सारंगी रेट्दै वीरता, प्रेम रस, विरहजस्ता विभिन्न भाकाका गीत सुनाउँदै हिँड्नु उनीहरूको बाध्यता छ ।

दुई दशकदेखि सारंगी रेट्दै गाउँबस्ती

गीत सुनाएर हिँड्दाहिँड्दै कयौंपटक भोकै बस्नु परेको पीडा त छँदैछ, घरजम गर्ने फुर्सदसमेत नभएका दुई गन्धर्व डेढ दशकदेखि सँगसँगै गाउँबस्ती पस्दै आएका छन् ।


भोजपुरको अरुण गाउँपालिकास्थित जरायोटारका ५७ वर्षीय कुलबहादुर गन्धर्वले सारंगी बजाउँदै गाउँबस्ती डुल्न थालेको चार दशक बढी भयो ।


गाएर पाएको पैसा तथा खाद्यान्नले जीविकोपार्जन गर्दै आएका उनी पुख्र्यौली पेसाका रूपमा गीत गायन रोजेको बताउँछन् ।


उनी स्वदेश र छिमेकी मुलुक भारतका कयौं स्थानमा पुगिसकेका छन् । यति बेला उनी धनकुटाका गाउँघर डुल्दै हिँडेका छन् । पहिले बाबुआमा र भाइबहिनी पाल्न सारंगी बजाउँदै गीत सुनाउन हिँडेका उनी पछिल्लो समय यसैमा भुल्न थालेको बताउँछन् ।


‘गीत गाउँदागाउँदै कपाल फुलिसके, अरू केही सोच्ने फुर्सद मिलेन’, उनले भने, ‘अरू त परैको कुरा भो, बिहे गर्ने नै फुर्सद भएन ।’ उनी झन्डै ६ दशक उमेर छिचोल्नै लाग्दा पनि अविवाहित छन् । यति बेला कसैले बिहे नगरेकोबारे चासो लिएमा अनौठो मान्दैनन् ।


सारंगीको तार खिप्दा र बिहानदेखि साँझसम्म गाएर हिँड्नु पर्दा कहिलेकाहीँ त भोकभोकै परिएको सुनाउँछन् । भोजपुरबाट ४० वर्ष पहिले बाबुआमासँगै झापाको केचनाकलन झरेका उनी दर्जनांै गीत सारंगी बजाएर सुनाउन खप्पिस छन् । सारंगी बजाउन बाबुबाट सिकेका हुन् । झापामा बाबुकै पालामा जंगल पँmडानी गरेर १६ कठ्ठा जग्गा जुटाए पनि गीत गाएर हिँड्दा आफूले कमाइ गर्न नभ्याएको उनले बताए ।


त्यसो त घरमा समेत ढुक्कले दुईचार दिन बसेको उनलाई सम्झना छैन । अढाई दशक एक्लै गाएर हिँडेका कुलबहादुरले विगत डेढ दशकदेखि मिठास स्वर भएका साइनोमा भाइ पर्ने ४३ वर्षीय बाबुराम गन्धर्वको साथ पाएका छन् । बाबुरामको पनि समान अनुभव छ ।


कुलबहादुरभन्दा उमेरले १४ वर्ष कान्छा उनी गायनमा निकै निपूर्ण छन् । कुनै व्यावसायिक गायकभन्दा कम छैन, उनको गायिकी । एक दशक सँगसँगै गायन यात्रामा रहेका बखत बाबुराम भने केही वर्ष भारततर्फ एक्लै गएपछि यी दुईको जोडी अगल थियो । तर पुन: पाँच वर्षदेखि दुईको गायन यात्रा जारी छ । पूर्वपश्चिमका अधिकांश जिल्ला र भारतको दार्जिलिङ, असाम, डिम्बापुर लगायतका गाउँबस्तीमा सारंगीसँगै भाका हाल्दै हिँडेको उनले बताए ।

बाबुराम पनि यो उमेरमा अविवाहित नै छन् । बिहे गर्ने सोच आए पनि साँच्दासाँच्दै समय बितेको पत्तै नभएको उनको भनाइ छ । ‘गाउने भएपछि धेरै समय गीत संगीततिरै ध्यान जाँदो रैछ’, उनले भने, ‘बिहे गर्ने फुर्सद मिलेन, फुर्सद मिलेमा हुन पनि सक्छ ।’


बाबु केशरबहादुरले सारंगी बनाउने र बजाउने गरेको देख्दा आफूले सिकेको बताए । दुवैले गीत गाएर घरदैलो गरेर मासिक औसत १० हजार आम्दानी हुने बताए । यी दुवैले मोबाइल फोन बोक्ने गरेका छैनन् । आफन्तबाट कहाँ पुग्यौ भन्दै सोधेर हैरान पार्ने गरेकाले मोबाइल फोन बोक्न छोडेको भनाइ छ ।

प्रकाशित : माघ २९, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?