१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मालपोतको काम सधैं ढिलो

प्रदेश १ का कतिपय जिल्लामा अनलाइन सेवा सुरु गरिएको भए पनि समयमा काम नहुँदा सेवाग्राही प्रभावित
प्रदेश १ ब्युरो

विराटनगर — धेरै सेवाग्राहीको चाप रहने मालपोत र नापी कार्यालयमा अझै पनि सर्वसाधारणले सहज रूपमा काम गराउन सकेका छैनन् ।

मालपोतको काम सधैं ढिलो

कतिपय कार्यालयमा लेखापढी व्यवसायीले बिचौलियाको काम गर्ने गरेकाले झन्झटिलो हुनुका साथै अतिरिक्त रकम तिर्नुपर्ने अवस्था छ । सामान्य कामका लागि पनि नियमित राजस्वबाहेक ‘चियाखाजा खर्च’ दिन सेवाग्राही बाध्य छन् ।


जग्गा नामसारीका लागि मालपोत कार्यालय पुगेकी चौबिसे गाउँपालिका २ राजारानीकी गोमा लिम्बूले तीन दिनसम्म कार्यालय धाउँदा पनि काम नभएपछि हैरान भएको बताइन् । सामान्यत: जग्गा नामसारीमा कागजात पूरा भएमा सोही दिन काम सकिने मालपोत कार्यालयको भित्तामा रहेको बडापत्रमा उल्लेख छ ।


सबै कागजात हुँदा पनि काम नभएको लिम्बूले गुनासो पोखिन् । उनले काम चाँडै गरिदिन अनुरोध गरे पनि आलटाल गरेको उनले बताइन् । ‘चिसोमा बस्दाबस्दै बिरामी परिएला जस्तै भएको छ’, उनले भनिन्, ‘गाउँपालिकाबाट कागज मगाएर बुझाउँदा पनि कामै भएन ।’


उनीमात्र होइन अधिकांश सेवाग्राहीको काम तोकिएको अवधिममा नभएको गुनासो छ । भित्तामा ठूलो अक्षरले बडापत्र लेखिएको छ । तर सेवाग्राहीको दृष्टि पर्दैन भने कर्मचारीले त्यसको पालना गरेको पाइँदैन । मालपोत र नापी दुवैको काम जोडिएकाले दुबै कार्यालयले काममा ढिलाइ गर्ने गरेको गुनासो सेवाग्राहीको छ ।


पाख्रिबास नगरपालिकाको घोर्लिखर्कबाट नापीमा आएका बुद्ध सार्कीले दुई दिनसम्म आफ्नो काम नभएको बताए । जग्गा अंशबण्डाका लागि आएका उनीलगायत अन्य दाजुभाइ मालपोत र नापी धाउँदाधाउँदै हैरान भएको बताए । कार्यालयले काम नभएकोबारे स्पष्ट कारण नभनी अलमल गरेको उनीहरूको भनाइ छ ।


हालक्ष्मी नगरपालिका ३ का कृष्णगोपाल गुरुङको पनि उस्तै गुनासो छ । उनले नामसारीका लागि मालपोतमा सबै कागपत्र लिएर आए पनि ढिलाइ भएको सुनाए । लेखनदासदेखि हाकिमसम्म धाउँदा पनि काम ढिलाइ भयो, उनले भने, ‘बढी पैसा दिए चाँडो काम गरिदिने भन्दै बार्गेनिङ गरे ।’


नयाँ संरचनामा गठन भएको स्थानीय तहअन्तर्गत गाउँ तथा नगरपालिकाले लापरवाहीपूर्वक काम गरी दिने, आवश्यक कागजात नपुर्‍याइदिएकाले पनि यस्तो सास्ती खेप्नु परेको सेवाग्राहीको गुनासो छ । आवश्यक प्रमाण नभएकाले पनि समयभित्र काम नसकिएको मालपोत कार्यालयका निमित्त प्रमुख तिलक खत्रीको भनाइ छ । सीमित कर्मचारीका कारण भनेको अवधिमा काम नभएको उनको दाबी छ । २५ दरबन्दी रहेकामा २२ कार्यरत रहेको उनले बताए ।


सेवाग्राहीलाई हैरानी

झापाको दमकस्थित मालपोत कार्यालयबाट पनि समयमा काम नभएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । अधिकृत होमनाथ सेढाईका अनुसार उक्त काम बढीमा तीन दिनमा हुनुपर्ने हो ।


तर कतिपय सेवाग्राही दुई सातादेखि धाउँदा पनि काम नभएको गुनासो गरिरहेका थिए । सामान्य काम गराउन पनि दलाललाई पैसा खुवाउनुपर्ने सेवाग्राहीको बाध्यता बनेको छ । ‘पैसा दिएर दलाललाई बिन्ति नगरे कुनै काम गर्न सकिँदैन,’ नाम नखुलाउने सर्तमा गौरादहबाट आएका एक सेवाग्राहीले भने, ‘ कर्मचारीसँगको मिलेमतोमा मालपोत कार्यालयदेखि दुई सय मिटरसम्म बाटैभरि दलालहरू जाल थापेर बसेका छन् ।’ उनले दलालबिना आफैंले फाइल बोकेर गएर काम गर्न गाह्रो रहेको बताए ।


दमकको मालपोत कार्यालयलाई सेवाग्राहीबाट अवैध रूपमा रकम माग्ने गरेको समेत आरोप लाग्ने गरेको छ । काममा ढिलाइ गरी कर्मचारीले रकम माग्ने गरेको सेवाग्राहीको आरोप छ । गत असोज २५ गते भ्रष्टाचार गरेको आरोपमा कार्यालयका अधिकृत अग्नि घिमिरे, नायब सुब्बाद्वय डिल्ली कोइराला र जयन्द्रराज खड्कालाई अख्तियारको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको थियो ।


दमक १ का सूर्य राईले बैंकमा ऋण खाँदा रोक्का राखेको जग्गा फुकुवा गर्न ५ दिन लाग्यो । ‘यति सामान्य काम गर्न पनि ५ दिनसम्म धाउनुपर्‍यो,’ उनले भने, ‘धन्न घर नजिकै थियो र फुर्सद थियो ।’ अधिकृत सेढाईले मालपोत कार्यालय अनलाइन सिस्टममा गएकाले सेवाग्राहीको काममा केही ढिलाइ भएको बताए । उनले चार जना कर्मचारी नभएकाले पनि सेवाग्राहीको काम चाँडै गर्न समस्या भइरहेको बताए । दमक मालपोतमा ३० जनाको दरबन्दी छ । जसमा २ जना अधिकृत र २ जना नासु छैनन् ।


जिल्लाको कनकाई नदीदेखि पश्चिममा रहेका ५ वटा स्थानीय तह कार्यालयको कार्य क्षेत्रभित्र पर्छ । मालपोत कार्यालयमा दुई सयभन्दा बढी दलालहरूले काम गर्दै आएका छन् ।


धाएको धायै

भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरमा आउने सेवाग्राहीको अवस्था पनि उस्तै छ । आफैंले काम गराउन खोज्दा हप्तौं/महिनाैं धाइराख्नुपर्ने हुन्छ । तर बिचौलिया अर्थात् लेखापढी व्यवसायीमार्फत एक दिनमै काम हुने गरेको सेवाग्राहीले बताएका छन् ।


विराटनगरस्थित कार्यालय अनलाइन प्रणालीमा सञ्चालन भइरहेको छ । प्राविधिक कर्मचारी अभाव र सर्भर डाउन भएर पनि सेवाग्राही प्रभावित भइरहेका छन् । कार्यालयमा टोकन प्रणाली लागू नगरेकाले पनि सेवाग्राहीको गुनासो बढेको छ ।


कम्प्युटर फाँटका शिशिर खनालले अनलाइन प्रणालीमा कार्यालयका सबै काम गर्न आईटीका ४ कर्मचारीमात्रै रहेको बताए । ‘रजिष्ट्रेशनलगायत कामका लागि आउने लिखतका सबै डाटा इन्ट्री गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो कामका लागि ४ जना कर्मचारीले भ्याउन नसकिने अवस्था छ ।’


भूमिसुधार तथा मालपोत कार्यालयका सूचना अधिकृत देवीप्रसाद भट्टराई कार्यालयको विराटनगर महानगरलगायत अन्य नगरपालिका र गाउँपालिका कार्यक्षेत्र रहेकाले कामको चाप अत्यधिक भएको बताए । ‘अनलाइनमार्फत सबै काम गर्नुपर्ने अवस्थामा न्यून जनशक्तिले समयमा सेवाग्राहीको काम गर्न समस्या भइरहेको छ,’ उनले भने, ‘त्यसमाथि सर्भर डाउन हुँदा २/३ दिनसम्म काम अवरुद्ध हुँदा समस्या पर्ने गरेको छ ।’


कार्यालय प्रमुख नरेन्द्र पौडेलले कर्मचारीले सेवाग्राहीबाट अतिरिक्त रकम नलिन निर्देशन दिएको बताए । ‘मालपोत पहिल्यैदेखि बदनाम कार्यालय हो,’ उनले भने, ‘कार्यालय बाहिर जनमानसमा पनि मालपोतमा घूस नदिई काम नहुने बुझाइले पनि समस्या भएको छ ।’


उनले कर्मचारीलाई सेवाग्राहीसँग अवैध रूपमा रकम नलिन निर्देशन दिँदै आए पनि गुनासो उस्तै रहेको बताए । ‘सामाजिक अवस्था फेरिएकाले सचेत भएर इमानदारीपूर्वक सेवाग्राहीको काम गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘तै पनि नसुध्रिने कर्मचारी एक दिन आफैं फस्ने छन् ।’ नापी कार्यालय विराटनगरका प्रमोद वाग्लेले आफू आएदेखि कार्यालय व्यवस्थित गर्दै लगेको बताए । ‘कार्यालयमा सिसिक्यामेरा जडान गरेर प्रत्यक्ष निगरानी गरिरहेको हुन्छु,’ उनले भने ।


जग्गा रजिस्ट्रेसन गर्न ७ दिन

तयारी पूरा नगरी हचुवाका भरमा सेवा प्रवाह गर्दा उदयपुर मालपोत कार्यालयमा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । सामान्य अवस्थामा चलिरहेको दैनिक कार्य एक्कासि अनलाइन सेवा हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको हो ।

पूर्वाधार तयार नगरी अनलाइन सेवा विस्तारले समस्या भएको छ । दरबन्दीअनुसार कर्मचारीसँगै दक्ष प्राविधिक नहुँदा मालपोत कार्यालय अस्तव्यस्त छ । मालपोतमा एक उपसचिव, २ शाखा अधिकृतसहित २३ कर्मचारीको दरबन्दी भए पनि २ वर्षयता उपसचिव छैनन् ।


२ शाखा अधिकृतको दरबन्दी रहेकामा अहिले एक शाखा अधिकृतले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । ६ नायव सुव्बा, ७ खरिदारको दरबन्दी रहे पनि ४, कम्प्युटर अप्रेटर एक, लेखापाल १ र कार्यालय सहयोगी ५ कार्यरत रहेको कार्यालयले जनाएको छ ।


कार्यालयलाई ३ महिनाअघिदेखि अनलाइन सेवामा लगिएको हो । अनलाइन सेवा विस्तारसँगै कामकारबाही चुस्त दुरुस्त र छिटो हुनुपर्नेमा उल्टो भएको देखिन्छ । जग्गा रोक्का र फुकुवाको काम एक डेढ घण्टामा हुनेमा अहिले न्यूनतम ३ दिन लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।


‘जग्गा रोक्का गर्न पहिले खासै समय लाग्दैन थियो,’ त्रियुगा नगरपालिकाका स्थानीय शम्भु शर्माले भने, ‘तर अहिले सामान्य ३ दिनदेखि ५ दिने लाग्ने गरेको छ ।’ मालपोत कार्यालयमा काम गर्न जाँदा पहिले सर्भिस डेक्स, त्यसपछि सहायक मालपोत अधिकृत पुन: सर्भिस डेक्स र मालपोत अधिकृतका पुगेपछिमात्रै काम सकिने उनले बताए ।


हेर्दा सामान्यजस्तो लाग्ने सर्भिसडेक्स, सहायक मालपोत अधिकृत, पुन: सर्भिस डेक्स र मालपोत अधिकृतकहाँ पुग्न मालपोत कार्यालयको अनलाइन सेवाका लागि विस्तार गरिएको सर्भरले सजिलै काम गरे पनि ३ दिन लाग्ने शर्माले बताए ।


अनलाइन सेवा दिन खोजिए पनि गुणस्तरीय, चुस्त दुरुस्त नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको उनले बताए । इन्टरनेटले काम नगर्ने, पटकपटक सर्भर डाउन हुनेसँगै अन्य झन्झटले दुर्गमबाट आउने सेवाग्राही बढी पीडित भएका छन् । बेलका नगरपालिकाको मैनामैनीबाट जग्गा पास गर्न मालपोत कार्यालय आउने सर्वसाधारणले ७ दिन खर्चनु परेको छ ।


‘जग्गा रजिष्ट्रेशन गर्न आउँदा ७ दिन लाग्ने गरेको छ,’ मैनामैनीका गान्दिप राईले भने, ‘मैनामैनीबाट बस चढेर सदरमुकाम गाईघाटमा रहेको मालपोत कार्यालयमा आउदाँ ३ घण्टामा आइपुगिन्छ ।’ तर सबै काम सकेर फर्कँदा ७ दिन बिताउनुपर्ने बाध्यता रहेको उनले बताए ।


डिल्लीराम खतिवडा (उदयपुर), रमेशचन्द्र अधिकारी (धनकुटा), अर्जुन राजवंशी (झापा) र देवनारायण साह (मोरङ)

प्रकाशित : माघ २९, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?