१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

२१ महिना ढिला बिजुली

निर्धारित समयभन्दा २१ महिनामा बल्ल बिजुली
आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको याङरक गाउँपालिका ६ नागीमा निर्धारित समयभन्दा २१ महिना ढिलो गरी विद्युत् विस्तार सुरु भएको छ । १८ महिनामा सक्नुपर्ने काम ३९ महिनामा सकिएपछि सोमबार ४ सय ५० घरले बाल्न पाएका हुन् ।

२१ महिना ढिला बिजुली

अझै ४ सय ७० घरमा बिजुली पुग्न बाँकी छ । जम्मा ९ सय २० घरमा विद्युतीकरणको योजना छ । पहिलो चरणमा सम्पन्न विद्युतको प्रतिनिधिसभा सांसद बसन्तकुमार नेम्बाङले उदघाटन गरेका थिए । यहाँ राष्ट्रिय प्रसारण लाइन अमरपुर सब–स्टेशनबाट विद्युत् बिस्तार गरिएको हो ।


१ सय ३२ केभीएबाट १ सय ११ केभीए लाइन तानिएको हो । बाँकी रहेका घरमा लगातार विस्तार गर्ने दाबी विद्युतीकरणको जिम्मा लिएको गडी ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको छ । सहकारीका सचिव सारध्वज योङहाङले भौगोलिक विकटता र आर्थिक समस्याका कारण सबै घरमा पुग्न भने एक वर्षसम्म लाग्न सक्ने बताए ।


‘बसाइ जाने क्रमले बस्तीहरू पातलिँदै छन, एकबाट अर्को ठाउँमा पुर्‍याउन धेरै नै लगानी गर्नुपर्छ, यसले पनि ढिलो हुन सक्छ,’ उनले भने, ‘गाउँपालिका तथा वडाले चासो राखेर सहयोग गरेको खण्डमा विस्तारले गति पाउँछ र हामी पनि प्रयास गर्छौं ।’ अहिले सबै क्षेत्रमा ११ वटा ट्रान्सफर्मर राखेर वितरण सुरु गरिएको उनले बताए ।


पहिलो चरणको मिटर बक्स सकिएकाले उपभोक्ताबाट फेरि पैसा संकलन गरेर खरिद गर्ने र त्यसपछि काम बढाउने योजना सहकारीको छ । त्यसका लागि दुई जना कर्मचारी राखेको सहकारीले जनाएको छ । घर वेयरिङको काम भने उपभोत्ता स्वयंले नै गराउनुपर्छ ।


विद्युतीकरणका लागि सरकारसँग ९०–१० को सम्झौता भएको थियो । ९० प्रतिशत सरकारले अनुदान दिने र १० प्रतिशत उपभोक्तालेव्यहोर्ने समझदारी भएको हो ।


यसको कुल बजेट ६ करोड २० लाख रहेको आयोजनाले जनाएको छ । ५ करोड ५९ लाख नेपाल विद्युत् प्राधिकरण र ६१ लाख ५७ हजार उपभोक्ताले बेहोरेका छन् । उपभोक्ताले बेहोरेकोमध्ये २७ लाख भने अरुण कावेली विद्युत् कम्पनीले सहयोग गरेको योङहाङले बताए ।


याङरक गाउँपालिका तथा ५ र ६ नम्बर वडाले मिटरसँगै आवश्यक सामग्री खरिदमा १५ लाख सहयोग गरेको संस्थाले बताएको छ । विद्युतीकरणको काम गर्ने जिम्मा जयदुर्गे र त्रिपुरेश्वर जेभीले लिएका थिए । बन्दहडताल र वर्षातको कारण देखाउँदै काममा ढिलाइ भएको निर्माण कम्पनीले दाबी गरेको छ ।


पछिल्लो पटक भने काममा ढिलाइ भएको भन्दै जन–दबाब पनि बढेको थियो । यहि क्षेत्र भएर राष्ट्रिय प्रसारण लाइन ताप्लेजुङ पुर्‍याइएको तर त्यहीं क्षेत्रका बासिन्दालाई नदिएको भन्दै स्थानीयले आक्रोस पोखेका थिए ।


पाँचथरको थापाटार, अमरपुर भएर विद्युत् ताप्लेजुङ सदरमुकाम फुङलिङमा दुई वर्षअघि नै पुर्‍याएको छ । विद्युत् विस्तार भएको क्षेत्रमा कावेली ए, काबेली बि लगायतका आयोजना निर्माण भइरहेका छन् । नेम्वाङ र एक नम्बर प्रदेश सांसद गणेशकुमार काम्बाङले जनतालाई कावेली लगायतका विद्युत् आयोजनामा सेयर हाल्न र आफैं मालिक बन्न पनि आग्रह गरेका छन् ।

प्रकाशित : फाल्गुन १, २०७५ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?