१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

किचकबध ओझेलमा

अर्जुन राजवंशी

भद्रपुर, झापा — उत्खनन कार्य पूरा नहुँदा महाभारतकालीन महत्त्व बोकेको किचकबध अझै ओझेलमा छ । महाभारतकालीन कथासँग जोडिएका पुरातात्विक वस्तुहरू किचकबधमा भेटिएका छन् । तर, उत्खनन नहुँदा २२ सय वर्षभन्दा पुरानो इतिहास बोकेको किचकबधमा विकास निर्माणले प्रवेश पाउन सकेको छैन ।

किचकबध ओझेलमा

किचकबध जिल्लाको धार्मिक स्थलहरूमध्येको एक हो । तर, सरकारी चासो र प्राथमिकतामा पर्न नसक्दा उक्त स्थान दशकौंदेखि ओझेलमा छ । भद्रपुर नगरपालिका २ र ३ नम्बर वडास्थित किचकबधको नामाकरणको कथा भीमसेनले किचकलाई बध गरेको प्रसंङ्गसंग जोडिएको छ ।


महाभारतकालिन कथाअनुसार किचकबधमा विराट राजाका सेनापति किचकलाई भीमसेनले बध गरेका थिए । उक्त किंबदन्तीअनुसार करिब १० बिघा क्षेत्रफलमा फैलिएको किचकबधमा स्थानीयले वर्षांैदेखि धार्मिक पूजापाठ गर्दै आएका छन् ।


उक्त स्थानको संरक्षण तथा विकासका लागि ०६३ मंसिर २५ मा ‘किचकबध धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल संरक्षण समिति’ गठन गरिएको थियो । समितिका सचिव मदनकुमार कँडेलकाअनुसार किचकबधमा २५० वर्षदेखि धार्मिक मेला लाग्दै आएको छ । मेला प्रत्येक वर्ष स्वस्थानी पूर्णिमाको दिन लाग्ने गर्दछ ।


यस वर्ष पनि फागुन ७ र ८ गते मेला आयोजना गर्न लागेको समितिका अध्यक्ष दिलबहादुर थेवेले जानकारी दिए । किचकबधमा ०५८/५९ मा पहिलो पटक १५ दिन परीक्षण उत्खनन गरिएको थियो । उत्खननबाट पुरातत्त्व विभागले उक्त स्थल पुरातात्विक महत्वको भएको पुष्टि गरेको थियो । त्यसपछि विभिन्न मितिमा गरी ८ पटकसम्म उत्खनन् गरेको कँडेलले जानकारी दिए ।


पुरातत्त्व विभागबाट खटिएका विज्ञहरूले गरेको उत्खनन्बाट किचकबधको उत्तर–पश्चिम दिशामा एउटा ठूलो र अर्को सानो पर्खाल फेला परेको छ । ती पर्खालहरू सुरक्षा पर्खाल र भवनको गाह्रोको अवशेष हुन सक्ने अनुमान गरिएको छ । अध्ययनअनुसार उक्त स्थानमा सुरक्षा कर्मचारी रहने स्थान र बाहिरको दृष्य हेर्न सकिने प्वालहरू पनि राखिएको पाइएको पुरातत्त्वविज्ञ उद्धव आचार्यले आफ्नो एक लेखमा उल्लेख गरेका छन् ।


उत्खनन्बाट उक्त स्थानमा १४ कोठाको एउटा भवन पनि फेला परेको छ । उक्त भवनलाई तारको घेराबारा गरी सुरक्षित राखिएको छ । ‘महाभारतकालीन महत्व बोकेको भए पनि यो ठाउँ अझै ओझेलमा रहनु दुखद् अवस्था हो’ सचिव कँडेलले भने, ‘पुरातत्त्व विभागले चाँडै उत्खनन कार्य सम्पन्न गरे हामी यसको संरक्षणसँगै विकासमा लाग्ने थियौं ।’ समितिका पूर्व पदाधिकारी शिवराज भण्डारीले उत्खनन् कार्य पूरा नभएकै कारण चाहेर पनि केही गर्न नसकेको बताए ।


उनले समिति र पुरातत्त्व विभागको संयुक्त प्रयासमा २० वर्षे गुरुयोजना तयार गरे पनि द्रुत गतिमा विकास निर्माणको कार्यलाई अघि बढाउन नसकेको बताए । भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले किचकबध नगरकै प्रमुख धार्मिक तथा पर्यटकीयस्थल भएकाले यसको विकास गर्नुको विकल्प नभएको बताए । ‘ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण भएर पनि अहिलेसम्म किचकबधको विकास हुन नसक्नु दुखद् पक्ष हो,’ उनले भने, ‘अब यसलाई नगरपालिकाले नगरकै गहनाको रूपमा संस्थागत हिसाबले विकास गर्नेछ ।’

प्रकाशित : फाल्गुन २, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?