कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

गुन्द्री र पिर्कामा बसेर एक वर्ष काम गर्‍यौं : मुख्यमन्त्री राई 

लीलावल्लभ घिमिरे

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका लागि एक वर्ष निकै कष्टपूर्ण रहेको बताएका छन् । ‘प्रदेश सरकारको हिँड्ने बाटा र बस्ने ठाउँसमेत थिएनन्,’ बिहीबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री राईले भने, ‘शून्यबाट गुन्द्री र पिर्कामा बसेर काम थालेका थियौं, आज कुर्सीमा बस्न पाउने अवस्थामा आइपुगेका छौं ।’

गुन्द्री र पिर्कामा बसेर एक वर्ष काम गर्‍यौं : मुख्यमन्त्री राई 

उनले बितेका एक वर्षलाई अनुभव संगादै आफ्नो गोरेटो आफैं कोरेर हिँड्न सफल भएको र यो वर्ष कानुन निर्माणको वर्षका रुपमा बितेको बताए ।


मुख्यमन्त्री राईले सदनलाई एक वर्षभित्र भएका कामका बारेमा जानकारी गराउनुअघि मुख्यमन्त्री कार्यालयमा नै विशेष पत्रकार सम्मेलन गरी एक वर्षका उपलब्धिहरुका बारेमा जानकारी दिएका थिए । प्रदेश १ को पहिलो सरकार २०७४ माघ ३ गते गठन भएको थियो । बितेको एक वर्ष सरकारले चाहे जसरी र जनताले सोचेजस्तो काम गर्न नसकेको स्वीकार्दै मुख्यमन्त्री राईले भने, ‘यसमा केही प्राविधिक कुराहरु छन् । यो अवधिभित्र संघीयताको आधारभूत संरचना तयार गर्न हामीलाई समय लाग्यो । पर्याप्त जनशक्ति र आवश्यक पूर्वाधारको अभावमा केही अलमल भएकै हो ।’ तर प्रदेश सरकारप्रति जनआकर्षण र विश्वास बढेको दाबी उनको छ । पछिल्लो समय मन्त्रालयमा आउने जनताको भीडले पनि यसलाई पुष्टि गर्ने उनले बताए ।


एक वर्षमा सबै प्रदेशमाभन्दा बढी कानुन निर्माण गरेको बताउँदै मुख्यमन्त्री राईले सरकारले आफू उभिने र हिँड्ने बाटो कोरेको दाबी गरे । ‘एउटा गतिमा हिंड्ने आधार तय भएको छ,’ उनले भने, ‘सरकारले अब गति लिइसकेको छ ।’ मुख्यमन्त्री राईले चालू हिउँदे अधिवेशनबाटै प्रदेशको स्थायी नाम र राजधानी समेत टुंगो लगाइने दाबी गरे ।


सरकारले सुरक्षित सीमा, सुरक्षित जीवन, खुल्ला सीमा र सुरक्षा चुनौतीलाई महसुस गर्दै १३ वटा बोर्डर आउट पोस्ट (बिओपी) निर्माणको कार्यसमेत अघि बढाएको उनले बताए । भारत र चीन सीमामा जम्मा १३ वटा बिओपी निर्माण गर्न सरकारले काम अघि बढाएको प्रदेश सरकारले जनाएको छ ।


यसैगरी प्रदेश सरकारले पाउडर प्लान्ट निर्माणको योजनामा काम सुरु गरेको छ । मुख्यमन्त्री राईले पहिलो चरणमा दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर कार्यालयको पाउडर प्लान्टलाई स्तरोन्नति र सुदृढीकरणको लागि काम अघि बढेको बताए । त्यसका लागि १० करोड बजेट छुट्याइएको छ ।


विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गराई संघीय सरकारमा सिफारिस गरिएको छ । कृषिमा यान्त्रिकरणलाई अघि बढाउँदै प्रदेशभरमा तीनवटा शीत भण्डार निर्माणको योजना छ । इलामको सूर्योदय नगरपालिका, सोलुखुम्बुको पासाङल्हामु खुम्बु गाउँपालिका र धनकुटाको भेडेटारमा आकर्षक पर्यटकीय गन्तब्य क्षेत्रको साागुरीगढीमा विशेष आर्थिक अनुदान प्रदान गरीएको छ ।


प्रदेशका ९५९ सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापानको काम सुरु र १३७ स्थानीय तहमा एउटा खेलमैदान निर्माणको लागि एन्फासँग सम्झौता भएको मुख्यमन्त्री राईले सदनलाई जानकारी गराए । खडेरी प्रभावित तेह्रथुम, धनकुटा र पाँचथरका पीडितलाई राहत प्याकेज वितरण गरिएको छ ।

प्रकाशित : फाल्गुन २, २०७५ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?