३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

शैक्षिक गुणस्तर सुधार्न ‘प्रोत्साहन मापदण्ड’

अर्जुन राजवंशी

हल्दिबारी, झापा — सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि हल्दिबारी गाउँपालिकाले नतिजामुखी ‘शिक्षक प्रोत्साहन मापदण्ड’ लागू गरेको छ । विद्यालयले प्राप्त गर्ने नतिजाका आधारमा गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन तथा कारबाही गर्ने नीति अवलम्बन गरेको हो ।

गाउँपालिकाको माघ २९ गते बसेको बैठकले उक्त मापदण्ड पारित गरेको छ । मापदण्ड स्थानीय राजपत्रमा प्रकाशित भइसकेकाले फागुन १ देखि लागू भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । अबदेखि गाउँभित्रका शिक्षकलाई वार्षिक कार्यसम्पादन करारका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने घिमिरेले बताए ।


मापदण्डअनुसार शिक्षा शाखाले तोकेको ढाँचामा रही सामुदायिक विद्यालयका सबै शिक्षकले आआफ्नो विद्यालयका प्रधानाध्यापकसँग वार्षिक कार्यसम्पादन करार गर्नुपर्ने छ । प्रधानाध्यापकले गाउँपालिकाको शिक्षा शाखा प्रमुखसँग वार्षिक कार्यसम्पादन करार गर्नुपर्ने छ ।


करार सम्झौताअनुसार शिक्षकले वार्षिक कार्यसम्पादन प्रतिवेदन प्रधानाध्यापक समक्ष पेस गर्नुपर्ने छ । उक्त प्रतिवेदन प्रअले विद्यालय व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गर्नेछ । व्यवस्थापन समिति बैठकले आवश्यक छलफल गरी वार्षिक कार्यसम्पादन करारमा उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक छनोट गर्नुपर्ने छ ।


समितिले माध्यमिक, आधारभूत र प्राथमिक तहमा कार्यरत एकएक जना शिक्षक छनोट गर्नेछ । यसरी कार्यसम्पादन करारमा उत्कृष्ट छनोट भएका शिक्षकलाई शिक्षा शाखाको सिफारिसमा गाउँपालिकाले वर्षको उत्कृष्ट शिक्षक घोषणा गर्नेछ । घोषणासँगै गाउँपालिकाले उत्कृष्ट शिक्षकलाई उनीहरूले खाइपाइ आएको तलब स्केलको एक महिना बराबरको रकम वार्षिक प्रोत्साहनस्वरूप उपलब्ध गराउनेछ ।


गाउँपालिकाले विद्यालय समयका अतिरिक्त अध्यापनमा खटिने शिक्षकलाई पनि प्रोत्साहन रकम दिने भएको छ । मावि र आधारभूत तहको विद्यालयमा अंग्रेजी, गणित, विज्ञानलगायत विषयमा विद्यालय समयभन्दा बाहेकको समयमा थप कक्षा लिने शिक्षकलाई गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने नीति बनाएको हो ।


गाउँपालिकाले विद्यालयमा थप कक्षा सञ्चालनका लागि आवश्यक मापदण्ड बनाएको छ । मापदण्डअनुसार थप कक्षाका लागि विषय शिक्षकले प्रअसँग कार्यसम्पादन करार गर्नेपर्ने छ ।


थप कक्षा सञ्चालनबाट विद्यालयमा ८० प्रतिशत वा सोभन्दा बढी उपलब्धि हासिल भए विषय शिक्षकलाई प्रतिकक्षा ३ सय ५० रुपैयाँका दरले सेवा शुल्क उपलब्ध गराउने मापदण्डमा उल्लेख छ । ६० देखि ७९ प्रतिशतसम्म उपलब्धि हासिल भए विषय शिक्षकले कक्षा तीन सय तथा ४० देखि ५९ प्रतिशतसम्म उपलब्धि हासिल भए शिक्षकले प्रतिकक्षा दुई सय ५० रुपैयाँका दरले सेवा शुल्क पाउने घिमिरेले बताए । तर, ४० प्रतिशतभन्दा कम उपलब्धि हासिल भए विषय शिक्षकलाई कुनै सेवा सुविधा उपलब्ध नगराउने मापदण्ड बनाएको घिमिरेले बताए ।


गाउँपालिकाले प्रधानाध्यापकलाई पनि मासिक प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको छ । गाउँभित्रका सबै विद्यालयका प्रअले विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग मासिक कार्यसम्पादन करार गर्नुपर्ने नियम बनाएको गाउँपालिका उपाध्यक्ष एवं गाउँ शिक्षा समिति संयोजक डम्बर गिरीले बताए ।


मापदण्डमा विज्ञ समेतको परामर्शमा शिक्षा शाखाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने सूचकहरू तोक्ने छ । उक्त सूचकअनुसार प्रअले मासिक प्रतिवेदन अध्यक्षमार्फत व्यवस्थापन समिति बैठकमा पेस गर्नुपर्ने छ ।


मापदण्डअनुसार ८० प्रतिशससम्म उपलब्धि हासिल गर्ने प्रअलाई मासिक तीन हजार, ६० देखि ७९ प्रतिशससम्म उपलब्धि गर्ने प्रअलाई दुई हजार ५ सय र ४० देखि ५९ प्रतिशससम्म उपलब्धि हासिल गर्ने प्रअलाई मासिक दुई हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइने गिरीले बताए ।


तर, ४० प्रतिशसभन्दा कम उपलब्धि हासिल गर्ने प्रअलाई प्रोत्साहन रकम उपलब्ध नगराउने गिरीले बताए ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?