१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रदेश सरकार : ‘एक वर्ष कष्टपूर्ण रह्याे’

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका लागि एक वर्ष निकै कष्टपूर्ण रहेको बताएका छन् । बिहीबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यो वर्ष कानुन निर्माणमा बितेको बताए ।

प्रदेश सरकार : ‘एक वर्ष कष्टपूर्ण रह्याे’

‘सरकारको हिँड्ने बाटो र बस्ने ठाउँसमेत थिएन,’ उनले भने, ‘शून्यबाट गुन्द्री र पिरामा बसेर काम थालेका थियौं, कुर्सीमा बस्न पाउने अवस्थामा आइपुगेका छौं ।’ एक वर्षको अनुभव संगाल्दै आफ्नो गोरेटो आफैं कोरेर हिँड्न सफल भएको बताए ।


त्यसअघि मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बितेको वर्ष सरकारले चाहेजसरी र जनताले सोचेजस्तो काम गर्न नसकेको मुख्यमन्त्री राईले स्वीकारे । ‘संघीयताको आधारभूत संरचना तयार गर्न समय लाग्यो,’ उनले भने, ‘पर्याप्त जनशक्ति र पूर्वाधार अभावमा केही अलमल भएकै हो ।’ प्रदेश सरकारप्रति जनविश्वास बढेको दाबी उनको छ ।


चालू हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाइने दाबी गरे । सरकारले भारत र चीन सीमामा १३ वटा बोर्डर आउट पोस्ट (बीओपी) निर्माणको काम अघि बढाएको उनले बताए । पाउडर दूध प्लान्ट निर्माणको योजनामा काम सुरु गरेको जनाइएको छ ।


१० करोड बजेट छुट्याएर सुरु गरिएको यो कामअन्तर्गत पहिलो चरणमा दुग्ध विकास संस्थानको विराटनगरस्थित प्लान्टलाई स्तरोन्नति गर्ने काम अघि बढेको राईले वताए । विराटनगर विमानस्थल स्तरोन्नति गर्न प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गराई संघीय सरकारमा सिफारिस गरिएको छ । प्रदेशभरमा तीनवटा शीत भण्डार निर्माणको योजना छ ।


इलामको सूर्योदय नगरपालिका, सोलुखुम्बुको पासाङल्हामु खुम्बु गाउँपालिका र धनकुटाको भेडेटारस्थित पर्यटकीय क्षेत्रको साँगुरीगढीमा आर्थिक सहयोग गरिएको छ । प्रदेशका ९५९ सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापनाको काम सुरु र १३७ स्थानीयतहमा एउटा खेलमैदान निर्माणको लागि एन्फासँग सम्झौता भएको जनाइएको छ ।


खडेरी प्रभावित तेह्रथुम, धनकुटा र पाँचथरका खडेरी पीडितलाई राहत वितरण गरिएको छ । प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयमा नागरिक सहायता कक्ष स्थापनाका लागि काम भएको मुख्यमन्त्रीले बताए । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा ४९ नयाँ प्रहरी चौकी निर्माणको काम अघि बढेको उनको भनाइ थियो ।


मुख्यमन्त्री लिग फुटबल प्रतियोगिता र मुख्यमन्त्री अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्न एन्फासँग सम्झौता भएको जनाइएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?