कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रदेश सरकारको १ वर्ष, ९० वर्ष माथिका वृद्धवृद्धालाई ५ हजार नगदसहित घरमै सम्मान

लीलावल्लभ घिमिरे

विराटनगर — प्रदेश १ को सरकारले एकवर्षे कार्यकाल पुरा गरेको अवसरमा यसै आर्थिक वर्षमा प्रदेशका ९० वर्षभन्दा माथिका वृद्धवृद्धालाई ५ हजार नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । 

प्रदेश सरकारको १ वर्ष, ९० वर्ष माथिका वृद्धवृद्धालाई ५ हजार नगदसहित घरमै सम्मान

प्रदेश सरकारले एक वर्ष पुरा गरेको अवसरमा शुक्रबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले यस्तो घोषणा गरेका हुन् । ‘९० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई प्रदेश सरकारले ५ हजार नगदसहित घर–घरमा सम्मान गर्ने छ,’ मुख्यमन्त्री राईले भने, ‘यो सानो र पहिलो प्रयास मात्र हो । प्रदेश सरकारले क्रमश प्रदेश र जनतालाई जोड्दै जानेछ ।’


मुख्यमन्त्री कार्यालयले तयार पारेको ‘प्रदेश सरकारको एक वर्ष’ पुस्तक औपचारीक कार्याक्रममा प्रदेश १ का प्रमुख गोविन्द्रबहादुर तुम्बाहाङले सार्वजनिक गरे । एक वर्ष भित्र गरिएका महत्वपूर्ण कामलाई पुस्तकमा ५१ पृष्ठमा समेटिएको छ । प्रदेश सरकारको एक वर्षे अवधीमा मन्त्रिपरिषदको ३७ वटा बैठक बसी एक सय ५८ वटा निर्णय गरेको वर्ष पुस्तकमा उल्लेख छ । मन्त्रिपरिषद बैठकबाट एक अध्यादेश, २३ वटा विधेयक, ३० वटा कार्यविधि र निर्देशिका तथा नियमावली दुईवटालाई स्वीकृत गर्ने काम गरेको छ ।


प्रदेश समन्वय परिषदको बैठक सम्पन्न भएको, आवधिक योजना निर्देशनालय गठन भइ प्रदेश सरकारको पहिलो आवधिक योजना निर्माणको काम थालनी भएको जनाइएको छ । प्रदेश सरकारको काम तथा सेवालाई प्रभावकारी बनाउन ११ वटा मन्त्रालय स्तरीय कार्यालय र त्यस अन्तर्गत एक सय ५५ वटा निर्देशनालय तथा जिल्ला स्तरीय कार्यालय स्थापना भएका छन् ।


शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न टेलिफोन सेवा नपुगेको ठाउाका नेपाल प्रहरीलाई एक सय थान मोबाइल खरिद गरी हस्तान्तरण गर्ने काम समेत सम्पन्न भइ सकेको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीहरूको भ्रमणलाई व्यवस्थित गर्न अति विशिष्ट र विशिष्ट गरी दुई थान सवारी साधन प्रदेश सरकारले प्रबन्ध गरेको छ ।


एक नम्बर प्रदेशका १४ वटै काराकार कार्यालयको भौतिक संरचना मरमत सम्भारका लागि प्रत्येकलाई पाँच लाख रूपैयाँका दरले ७० लाख रूपैयाँको अख्तियारी दिएको छ भने प्रदेश प्रहरी हेडक्वाटरलाई सुविधा सम्पन्न बनाउन बहुवर्षीय योजनामा राखी पाँच करोड रूपैयाँको अख्तियारी दिएको छ । २८ वटा प्रहरी चौकी निर्माणका लागी प्रदेश सरकारले अख्तियारी दिएको छ ।


कार्यक्रम प्रदेश स्थापना गलदेखि नै काम गरेका निजामति कर्मचारीहरुलाई सम्मान समेत गरीएको थियो । स्थापना कालमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिव पदमा रही उतृष्ट काम गर्ने हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवमा कार्यरत यज्ञबहादुर खत्रीलाई सम्मान गरीएको थियो । यसै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रल्हादप्रसाद सापकोटासहित विभिन्न तहका गरी ४१ जनालाई सम्मान गरेको छ ।


उक्त अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले खरीद गरेका २०० वटा मोटरसाइकलका साँचाे मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का प्रहरी प्रमुख केदार रिजाललाई हस्तान्तरण गरेका थिए । मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई ति सवारी साधन उपलब्ध गराएको हो ।

प्रकाशित : फाल्गुन ३, २०७५ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?