१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पहाडको टुप्पोमा टावरैटावर

रमेशचन्द्र अधिकारी

धनकुटा — उत्तरतिर लोभलाग्दो हिमशृंखला र पहाडी धरातल । त्यसको ठीक विपरीत दिशातर्फ मधेश बस्ती तथा फराकिलो फाँट, सप्तकोसी र नेपाल–भारत सीमावर्ती बस्ती खुला आँखाले नियाल्न सकिन्छ ।

पहाडको टुप्पोमा टावरैटावर

भेडेटार र नाम्जे आसपास क्षेत्रको अग्लो डाँडामा भने लस्करै दर्जनभन्दा बढी टावर उभ्याइएका छन् । कसले अग्लो स्थानमा टावर राख्ने एक प्रकारको होडबाजी नै चलेको छ । खासगरी नाम्जे आसपासमा पछिल्लो समय विभिन्न विद्युतीय सञ्चार माध्यमले टावर राख्ने क्रम तीव्र बनेको छ । पहाड, हिमाल र मधेस क्षेत्रमा आफ्ना प्रसारण सहज शैक्षिक सुधारका ५ मन्त्र सार्वजनिक रूपमा पुर्‍याउन उक्त डाँडामा टावर राखिने क्रम बढेको हो ।


दुई दशकपहिले पहिलो पटक नेपाल टेलिभिजन र त्यसपछि कान्तिपुर एफएमले टावर राखेपछि अन्य सञ्चार माध्यमले पनि टावर थप्ने क्रम जारी राखेका छन् । डाँडाबाट दृश्यावलोक गर्न पुगेका वाहय तथा आन्तरिक पर्यटकलाई डाँडाभरि लस्करै उभिएका टावरले पनि आकर्षिक गर्न थालेको स्थानीय अरुण खड्काले बताए ।


साँगुरीगढी गाउँपालिकाअन्तर्गत भेडेटार, नाम्जे, लोप्पेडाँडा र ओख्रेमा मात्र एक दर्जनभन्दा बढी टावर रहेका छन् । नेपाल टेलिभिजन, इमेज एफएम, युथ एफएम, एनसेल, सप्तकोसी एफएम, रेडीयो नेपाल, कान्तिपुर एफएम, कान्तिपुर टेलिभिजन, प्रभु टेलिभिजन, हर्ट एफएम, भेडेटार एमफम, गणतन्त्र एफएम लगायतका टावर त्यहाँ छन् ।


समुद्र सतहबाट १७४० मिटर उचाइमा रहेको नाम्जे तथा लोप्पेडाँडामा टावर राख्ने घडेरी नै अभाव हुन लागेको स्थानीय केशर कटुवाल बताउँछन् । विगत १२ वर्षदेखि सप्तकोसी एफएमको टावर स्थलमा कार्यरत कटुवालका अनुसार टावर थप्नेक्रम तीव्र रूपमा बढेको छ ।


साँझ ४ देखि भोलिपल्ट बिहान ७ बजेसम्म टावर रुग्ने तथा प्राविधिकका रूपमा उनी कार्यरत छन् । डाँडाको टुप्पोबाट रातको समयमा चारैतिर नियाल्दा अर्कै संसारमा पुगेको महसुस हुने उनी बताउँछन् । एकपछि अर्को गर्दै सञ्चार माध्यमका टावर थप्नेक्रम बढेपछि कतिपयका फ्रिक्वेन्सीमा समस्या बढेको प्राविधिकको भनाइ छ ।


केही मिडीयाले अर्थिङ गरेर टावर राखेपछि अन्यले पनि त्यसैको आडमा चट्याङबाट बच्न सकिने भन्दै उक्त स्थानमा टावर राख्ने गरेका छन् । खासगरी उक्त स्थानमा टावर राख्नेक्रम बढ्नुमा पहाड र मधेसको बीच भागमा अग्लो धरातल हुनु मुख्य कारण रहेको विगत ९ वर्षदेखि कान्तिपुर एफएम तथा टेलिभिजन टावरमा कार्यरत प्राविधिक गणेश घिमिरेको तर्क छ ।


उक्त स्थानबाट पूर्वमा दमक, बिर्तामोढ, बेलबारी र पश्चिममा सप्तकोसीको व्यारेज, उदयपुर तथा भारतीय सहर समेत खुला आँखाले नियाल्न सकिने उनले बताए । दिन रात टावरमा काम गर्दा चट्याङबाट बढी जोखिम हुने भएकाले जोखिम बढी हुने गरेको उनी बताउँछन् । टावर राख्नेक्रम बढ्नुमा ‘लाइन अफ साइड’ अर्थात खुला रूपमा धेरै टाढासम्म सहजै नियाल्न सक्ने स्थान रहेको घिमिरेको भनाइ छ ।


‘टावर राख्दा मात्र अधिकांश स्थानमा सहजै प्रसारण हुन्छ’, उनले भने, ‘भौगोलिक रूपमा नै सञ्चार माध्यमको प्रसारणका लागि उपयुक्त स्थानका रूपमा यो डाँडा रहेकाले टावर थपिने क्रम बढेको हो ।’ टावर आसपास केही वर्षदेखि सुविधा सम्पन्न होटल खुल्न थालेका छन् । टावरले पनि छुट्टै आकर्षण थपेको स्थानीय होटल व्यवसायी राजिव विष्टले बताए ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?