दुर्गममा हराए ढिकी जाँतो

एलिसा श्रेष्ठ

भोजपुर — आधुनिक बिजुली, तेलबाट चल्ने प्रविधि भित्रिएपछि गाउँघरमा सहज भएको छ । यसले गर्दा रहेका अन्न कुट्ने परम्परागत ढिकीजाँतोको उपयोग हुन छाडेको छ । 

दुर्गममा हराए ढिकी जाँतो

थोरै अन्न पिस्न घण्टाैं लगाएर ढिकीजाँतो गर्नुपर्ने झन्झटको सट्टा सस्तोमै मिलमा अन्न सजिलै छिनमै पिसिदिने भएपछि सहज भएको छ । पहिले गाउँमा चिउरा, धान, गहुँ, कोदो र पिठोका लागि ढिकी जाँतो प्रयोग हुन्थ्यो । अचेल त्यस्ता साधन थन्किएको टक्सार दारेगाौडाकी ५१ वर्षीया फूलमाया तामाङले बताइन् । ‘१५/१६ वर्षअघिसम्म बिहान रातीदेखि घण्टौंसम्म अन्न कुट्न ढिकीजाँतो गर्नुपथ्र्यो,’ उनले भनिन्, ‘मिल आएपछि सजिलो भएको छ ।’


घरनजिकै डिजेल र बिजुलीले चल्ने कुटानीपिसानी मिल सञ्चालनमा आएपछि रामप्रसादराई गाउँपालिका मानेभञ्ज्याङकी ७६ वर्षीय हर्किमाया तामाङले ढिकी थान्को लगाएकी छन् । ९ वर्षअघि नै मिल आएपछि ढिकी बेकाम बनेको बताइन् । ‘घरबाट मिल पुग्न २ मिनेट पनि लाग्दैन । एकैछिनमा ख्वार्रर पिसिदिन्छ,’ उनी भन्छिन्, ‘मिलको चलनले ढिकीमा हल्लिरहन पनि परेन ।’ पहिलेपहिले गाउँका मानिसहरू वर्खायाममा खेतबारी खनजोत गर्नु, अन्न लगाउनु, रोप्नुपर्ने समयमाभन्दा हिउँदयाममा भने निकै फुर्सदिला हुन्थे । गाउँलेहरू एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकीजाँतोमा अन्न कुट्ने गर्दथे ।


आधुनिक कुटानीपिसानी मिलले समय र श्रमको बचत हुने भएपछि दिनानुदिन क्रमिक रूपमा ढिकीजाँतोको प्रयोग कम हुन थालेको भोजपुर बोखिमकी ४९ वर्षीया देवीकला न्यौपाने बताउँछिन् । भन्छिन्, ‘मिलमा एकैछिनमा अन्न पिसिदिन्छ । ढिकीमा घण्टौंसम्म कुटा पनि पालो पाइन्न । मिल आएपछि समय र श्रम दुवैको बचत भएको छ ।’


बढदो आधुनिक प्रविधिको आकर्षण र प्रयोजनले गर्दा परम्परागत गाउँघरका ढिकीजाँतो लोप हुने क्रममा रहेको घरेलु तथा साना उद्योग विकास समिति भोजपुरका बरिष्ठ उद्योग अधिकृत चेतनाथ गौतमले बताए । उनले अत्याधुनिक प्रविधिको बगबिगी कुनाकुनाका गाउँसम्म पुगेपछि ढिकीजाँतो जस्ता परम्परागत शैली र पहिचान ओझेल बन्दै गएको बताए ।


घरेलु तथा साना उद्योग विकास समिति भोजपुरको तथ्यांकअनुसार हाल भोजपुर नगरपालिकामा ४४ वटा, ४६ वटा षडानन्द नगरपालिकामा, २७ वटा अरुण गाउँपालिकामा, १४ वटा पौवादुङ्मा गाउँपालिकामा, सात वटा साल्पासिलिछो गाउँपालिकामा, नौवटा आमचोक गाउँपालिकामा, १६ वटा रामप्रसादराई गाउँपालिकामा, सातवटा हतुवागढिमा १२ वटा टेम्केमैयुङ गाउँपालिकामा गरी जम्मा जिल्लाभर एक सय ८२ वटा कुटानीपिसानी मिलहरू सञ्चालनमा छन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?