कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सदरमुकाममा घट्दो चाप

संघियता कार्यान्वयनसँगै सेवा सुविधा बिकेन्द्रीकरण हुँदा इलाम बजार प्रभावित
विप्लव भट्टराई

इलाम — इलाम सदरमुकामका व्यवसाय गर्ने अधिकांंशको मुखबाट ‘चल्ती घटदै गएको’ गुनासो सुनिन्छ । संघीयता कार्यान्वयनसँगै सेवा सुविधा विकेन्द्रीकरण हुँदै जाँदा सरदमुकामले पहिलो मार खेप्नु परेको हो । अर्को कारण भने सदरमुकाम बाहेकबाट नै तराई झर्ने छोटा सडक खुलेकाले पनि असर परेको छ । 

सदरमुकाममा घट्दो चाप

हाल साना तथा ठूला व्यवसायमा असर प्रस्ट देखिन थालेको छ । जिल्लामा ४ वटा नगरपालिकासहित १० स्थानीय तह छन् । अधिकांश कामका लागि गाउँ र नगरका केन्द्रमा घुइँचो बढेपछि ती क्षेत्रका बजार भने फस्टाउँदै गएका छन् ।


सेवाग्राहीको बाक्लो भीड लाग्ने तत्कालीन जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, कृषि, पशुलगायत कार्यालयको सेवा सम्बन्धित स्थानीय तहले प्रदान गर्ने भएपछि सदरमुकाम प्रभावित बनेको हो । बैंकहरूको सेवा पनि सम्बन्धित तहमा नै पुगेको छ । ‘पहिले र अहिलेमा तुलना नै गर्न नसक्ने अवस्था आएको छ,’ साबिक जिल्ला विकास समिति नजिकै पसल गर्ने सुशील श्रेष्ठले भने, ‘अहिले जिल्ला समन्वय समितिमा चहलपहल घटेसँगै कारोबार पनि प्रभावित भयो ।’


सदरमुकामको चहलपहल घट्ने अर्को प्रमुख कारण भने सडक सञ्जाल हो । जिल्लाका पूर्वी, पश्चिमी र दक्षिणी क्षेत्रबाट तराई जोड्ने सडक खुल्ने क्रमले तीव्रता पाएका छन् । उपभोग्य सामग्री खरिददेखि नगदेबाली, फलफूल, पशुजन्य सामग्री बिक्रीका लागि पनि सदरमुकामबाहेकका सडक छोटो र कम खर्चिलो हुन थालेपछि विशेष कामबाहेक यहाँ आउने आवश्यकता नै पर्न छाडेको ती क्षेत्रका बासिन्दा बताउँछन् ।


‘नागरिकता बनाउनेदेखि हरेक काम नगरपालिकामा नै हुने भएकाले इलाम बजार जाने काम नै पर्दैन,’ देउमाई नगरपालिकास्थित मंगलबारेका तेजु खतिवडाले भने, ‘अन्य कामका लागि छोटो दूरीमा नै झापा झर्ने सडक खुलेपछि समय र खर्च दुवैको बचत भएको छ ।’ देउमाई नगरपालिकाको मंगलबारेबाट १ सय १५ किलोमिटर पार गर्दा मात्र मेची राजमार्ग भएर झापाको बिर्तामोड पुग्न सकिन्छ । तर जितपुर, बेलासे र माईनगरपालिकाको बाटो भएर जाँदा ५६ किलोमिटर मात्र पार गर्नुपर्छ ।


यो सडकको स्तर उन्नति भएर हिउँद बर्खा नै मोटर चल्न थालेपछि त्यस क्षेत्रका दर्जनभन्दा बढी गाउँका बासिन्दाले सदरमुकाम घुम्ने झन्झट बेहोदैनन् ।


मंगलबारेबाट पाँचथर सीमावर्ती राँके जोड्ने सडक पनि निर्माणाधीन छ । यो सडक खण्डको ट्रयाक खुल्ने काम सकिनै लागेकाले नगरपालिकाले मेची राजमार्गको विकल्प भन्दै स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेको छ । ‘राँकेबाट मंगलबारे हुँदै झापा जोड्ने सडकलाई कालोपत्रे गर्ने हो भने पाँचथर र ताप्लेजुङका सवारी साधन पनि छोटो दूरीमा झापा पुग्नेछन्,’ नगर प्रमुख सूर्य पोख्रेलले भने । जिल्लाकै पश्चिमी क्षेत्र जोड्न दमक, लारुम्बा रवि सडक पनि कालोपत्रे गर्ने चरणमा पुगेको छ ।


त्यो सडकको स्तरोन्नतिसँगै माङसेबुङ र फाकफोक थुम गाउँपालिकाका अधिकांश बासिन्दालाई तराई झर्ने दूरी छोटो भएको छ । त्यस्तै राँके रवि भेडेटार सडकको पनि कालोपत्रे गर्ने कार्य प्रधानमन्त्री केपी ओलीले गएको मंसिरमा शिलान्यास गरिसकेका छन् । यो सडक निर्माण सकिएपछि पाँचथर, ताप्लेजुङ र पश्चिमी इलामका बासिन्दालाई झापा बाहेकका तराई जिल्ला पुग्न छोटो पर्नेछ ।


पूर्वी क्षेत्रका बासिन्दालाई सरकारी कामबाहेक उपभोग्य वस्तु खरिद सामग्री बिक्रीका लागि सदरमुकाम आउनै पर्दैन । दक्षिण माइनगरपालिका लगायतबाट झापाका बजार नजिक छन् । त्यस क्षेत्रका सडक सुदृढ बन्दै गएका छन् । उपभोग्य सामग्रीबाहेक गाउँबाट बजार छिर्ने नगदेबाली खरिद खासै नहुने भएकाले सदरमुकामको बजार क्षेत्र कर्मचारी, विद्यार्थी र विभिन्न पेसामा अड्किएका र नगन्य मत्रामा घुम्न आउेनको भरमा मात्र टिकेको छ ।


नजिकै रहेको बिब्ल्याँटे बजारमा उत्तरी क्षेत्रमा उत्पादित नगदेबालीको कारोबार हुन्छ । पश्चिमी गाविसका बासिन्दा मंगलबारे, रवि, सप्तमी, चिसोपानी, पञ्चमीलगायत बजारमा निर्भर छन् । पूर्वमा फिक्कल, तीनघरेलगायत बजारले उत्पादित सबै सामग्री किनिदिएका छन् । सदरमुकामको घटदो कारोबारको प्रमुख कारकमध्ये यो पनि प्रमुख हो ।


इलाम बजारमा सामग्री लोड अनलोड गर्न पार्किङ नै नभएकाले ठूलो मात्रामा सामान बेच्न र किन्न नसकिने अन्यत्रका व्यवसायी बताउँछन् । सदरमुकाममा कारोबार घटे पनि घरभाडा महँगो बन्दै गएकाले व्यवसाय सञ्चालन गर्नै मुस्किल भएको व्यवसायी बताउँछन् । जिल्लामा वार्षिक रूपमा ३० अर्बभन्दा धेरै नगदेबालीको कारोबार हुने गरे पनि सदरमुकामले त्यसको व्यपार गर्न सकेको छैन । बढदो महँगी र कम आय स्तरका कारण बजारवासी समस्यामा झेलिंदै गएका छन् ।


‘हरेक व्यवसायको कारोबार घटेको अवस्था घटदै गएकाले चिन्तित छौं,’ इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलले भने, ‘यो पुरानो बजारलाई चहलपहल बनाउन पर्यटन विकास नै एक मात्र विकल्प हो ।’ इलाम नगरपालिकाले बजारको कारोबार र चहलपहल बढाउन प्रयास भने जारी राखेको छ । नगरपालिकाले प्राथमिकतामा राखेको तराई जोड्ने द्रुत मार्ग कालोपत्रे हुन सके यहाँको पर्यटन विकासमा उल्लेख्य टेवा पुग्ने नगर प्रमुख महेश बस्नेत बताउँछन् ।


‘यो सडक व्यवस्थित बनाउन सके मुलुकको पुरानो चिया बगान घुम्नेदेखि पहाडी सुन्दरतामा रमाउनेहरूका लागि उपायोगी हुन्छ,’ उनले भने, ‘नगरलाई पर्यटकीय रूपमा विकास गर्दै व्यवसाय प्रवद्र्धनमा विभिन्न काम अघि बढाइएको छ ।’ मेची राजमार्गको भञ्ज्याङबाट माई नगरपालिका हुँदै बिर्तामोड जोड्ने सडकको दूरी ४७ किलोमिटर मात्रै छ ।


मेची राजमार्ग भएर बिर्तामोड पुग्न ८३ किलोमिटर दूरी पार गर्नुपर्छ । ट्रयाक खुले पनि यो सकडकको स्तरोन्नतिका लागि पर्याप्त बजेट नहुँदा तत्काल इलामवासीले यसको उपभोग गर्न भने समस्या छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?