पहिचान जोगाउन महोत्सव

बिर्तामोड नगरपालिका १० ले इतिहास र पहिचान संरक्षण गर्न सैनिक महोत्सवको आयोजना
कान्तिपुर संवाददाता

दमक — वडाभित्रको इतिहास र पहिचान जोगाउन बिर्तामोड नगरपालिका १० ले ‘सैनिक महोत्सव’ आयोजना गरेको छ । भूतपूर्व सैनिकको पुनर्वासभूमि सैनिक बजार झापाको पुरानोमध्येको बजार हो । साविकको गरामनी गाउँ विकास समितिमा पर्ने उक्त बजार अहिले बिर्तामोड १० वडाभित्र पर्छ ।

पहिचान जोगाउन महोत्सव

उक्त वडामा महाभारतकालीन इतिहास बोकेका तेलकानी, मधु, सधु र कुवापानी पोखरी छन् । राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आएको सैनिक बजार आसपासमा मात्र करिब ३० जातिको बसोबास रहेको पाइन्छ । शुक्रबार सुरु भएको महोत्सव १३ गतेसम्म चल्नेछ ।


‘हामीले यो महोत्सव नाफा–घाटाका लागि आयोजना गरेका होइनौं । विशुद्ध वडाभित्रको इतिहास र पहिचानलाई संस्थागत गर्दै प्रचारप्रसार गर्न खोजेका हौं,’ वडाध्यक्ष दुर्योधन गुरुङले भने । उनले सैनिक बजार ऐतिहासिक क्षेत्र भए पनि अहिलेसम्म कुनै पक्ष वा निकायले खोजीनीति नगरेकाले त्यसतर्फ वडा कार्यालयको ध्यानाकर्षण भएको बताए ।


०२० सालमा तत्कालीन राजा महेन्द्रले इलाममा रहेका भूतपूर्व सैनिकका दुई सय परिवारलाई यहाँ पुनर्वास गराएका थिए । राजाको निर्देशनमा १६ सय विघा वनक्षेत्र आवाद गरी भूतपूर्व सैनिकका परिवारको बस्ती बसालेपछि उक्त ठाउँको नाम सैनिक रहन गएको हो । अहिले विस्तारै उक्त ठाउँमा गैरसैनिक परिवारको संख्या बढ्दै गएको छ । सरकारी स्तरबाट संरक्षण तथा संवद्र्धन नगरिँदा महाभारतकालीन पोखरीहरू फोहोरमैलाले ढाकिएको छ ।


केही वर्षयता झापा ११ फुटबल टिम राष्ट्रिय स्तरमा एक सशक्त फुटबल टिमका रूपमा परिचय बनाउन सफल भएको छ । जिल्लामा फुटबल खेलाडी र खेलको विकासको इतिहास खोज्दै जाँदा सैनिक बजारसम्म पुगिन्छ । पूर्वराष्ट्रिय फुटबल खेलाडीहरू रामदर्शन गुरुङ, प्रवेश कटुवाल, सन्जय राई, झापा ११ का दिलेन लोक्तामलगायतका खेलाडीको जन्मस्थल सैनिक बजार हो ।


व्यापारिक हिसाबले जिल्लामै अग्रस्थानमा रहेको बिर्तामोड नगरपालिकाकै एउटा वडा भए पनि १० नम्बर वडामा एउटा पनि कालोपत्रे सडक छैन । स्वास्थ्य चौक, प्रहरी बिट, कुनै पनि सरकारी कार्यालय छैनन् । विकासका हिसाबले निकै पछि परेको वडा भएकाले नेतृत्वको ध्यानाकर्षण गराउन पनि महोत्सव आयोजना गर्नु परेको वडा सदस्य एवं आयोजक समिति संयोजक अर्जुन सिटौलाले बताए ।


‘महोत्सवले सैनिकलाई एकताबद्ध हुन सिकायो,’ पूर्वराष्ट्रिय खेलाडी रामदर्शन गुरुङले भने, ‘विकास निर्माणका हिसाबले सधैं पछि परेको यो ठाउँमा केही गर्नुपर्छ भन्ने सन्देश र गोरेटो यो महोत्सवले बनायो ।’


अग्रज रुपनारायण मुखियाले भने, ‘यहाँको इतिहास र पहिचानलाई संस्थागत गर्नुपर्छ भन्ने धेरै पटक छलफल र अन्तक्र्रियाहरू भए । अहिलेसम्म भएको थिएन । तर, यो महोत्सवले हाम्रो वर्षौंदेखिको त्यो सपना पूरा गरेको छ ।’ महोत्सवमा जातीय र व्यापारीसहित ४० वटा स्टल रहेका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?