सामुदायिकका शिक्षकलाई कडाइ

शिक्षकले मादक पदार्थ खाएको भेटिए प्रधानाध्यापकलाई पनि कारबाही
कान्तिपुर संवाददाता

ताप्लेजुङ — मादक पदार्थ सेवन गरेर विद्यालय जाने प्रधानाध्यापक र शिक्षकलाई कारबाही गरिने भएको छ । शिक्षक मादक पदार्थ सेवन गरेर विद्यालय जाने क्रम नरोकिएपछि प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले प्रधानाध्यापकलाई समेत कारबाही गर्ने योजना बनाएका हुन् ।

जिल्लाभरिका माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई भण्डारीले भने, ‘अहिलेसम्म सम्बन्धित शिक्षकलाई मात्रै कारवाही हुँदै थियो, अबको कारवाही तपाईंहरूबाट सुरु हुन्छ ।’ ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) ले आयोजना गरेको कार्यक्रममा जिल्लाभरिका माध्यमिक तहका प्रधानाध्यापक भेला भएका थिए ।


प्रजिअको यो अभियानमा स्थानीय सरकारका प्रतिनिधिले पनि साथ दिने भएका छन् । फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले विद्यालय प्रधानाध्यापकको नियन्त्रणमा हुने भएकाले नेतृत्व गर्न नसक्नेलाई कारबाही गर्नु आवश्यक भएको बताए ।


‘म पनि हिजोको शिक्षक हुँ, मैले पनि खाएँ होला,’ मेयर प्याकुरेलले प्रश्न गर्दै भने, ‘कसैले देख्यो मैले खुट्टा लरवराएर हिँडेको ?, तर धेरै जना शिक्षक साथीहरूलाई मैले नगरपालिकाको बीच बजार वीरेन्द्रचोकबाट उठाएर लगेर कोठामा सुताउनुपरेको छ ।’


यो लाजमर्दो अवस्थाबाट मुक्ति पाउन कारवाही आवश्यक रहेको उनले बताए । ‘तपाईंहख्ले मलाई हिजोको शिक्षक सहयोग गरेन भन्नुहोला, पाटो फरक परेपछि अप्ठेरो हुँदो रहेछ,’ मेयर प्याकुरेलले थपे, ‘विद्यालयमा नियमित नहुने, अनुशासनहिनका विरुद्ध कठोर हुनुपर्ने बाध्यता छ ।’


बेलायतको हिमालयन ट्रस्ट यूकेका प्रतिनिधि आफूले गरेको लगानी हेर्न प्रत्येक वर्ष आउने गरेको उल्लेख गर्दै प्याकुरेलले जोडे, ‘उनीहरूलाई लगानीको तेत्रो माया छ, हामीचाहिँ आफ्नो लगानी किन नहेर्ने ।’ मूकदर्शक भएर बस्ने कुर नआउने उनले बताए ।


सिरिजंगा गाउँपालिका अध्यक्ष टीका गुरुङले आफू निर्वाचित हुने बित्तिकै मादक पदार्थ सेवन गरेर विद्यालय जानेविरुद्ध कडा हुने प्रतिक्रिया दिएको तर हामीले जिताउने बित्तिकै ठूला कुरा गर्न थाल्यो भनेर आफूप्रति केही व्यक्ति नकारात्मक भएको उल्लेख गर्दै अभियानको साथमा रहेको बताए । सकभर सवै समय अनुशासनमा रहन अन्यथा १०–४ बजेभित्र आफ्नो पेसाप्रति बफादार रहन उनले प्रधानाध्यापकमार्फत शिक्षकलाई सुझाए । भण्डारीले भने उजुरी परे नपरेका विद्यालयको तत्कालदेखि अनुगमन गर्ने संकेत गरेका छन् ।


शिक्षक महासंघका अध्यक्ष महेन्द्रप्रकाश गौतम यस्ता शिक्षकलाई कारवाही नहोस् भनेर महासंघले कहिल्यै नभनेको बताउँछन् । ‘प्रधानाध्यापक र शिक्षकको मानसपटलमा परिवर्तन हुनु जरुरी छ,’ उनले भने, ‘हामीले हाम्रा विद्यालय राम्रो बनायौं भने विद्यार्थीको अभाव हुँदैन र विद्यार्थी अभाव नभए स्रोतको कमी हुँदैन भन्ने कुरामा जानकार छौं ।’


राज्यले शिक्षकलाई प्रयोगको साधन बनाएकोमा भने गौतमको चित्त दुखाइ छ । ‘सशस्त्र द्वन्द्वमा गाउँका स्कुल रुङने हामी मात्रै थियौं, निर्वाचनमा पनि स्थानीय तहमा शिक्षकले नै ढाकेर गरायौं तर राज्यले गर्ने व्यवहारचाहिँ विपरीत छ,’ उनले गुनासो गरे ।

प्रकाशित : फाल्गुन ५, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?