१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जता जनप्रतिनिधि, उतै विकास

डम्बरसिं राई

खोटाङ — जिल्लाका अधिकांश स्थानीय तहका सर्वसाधारणले विकासको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । जनप्रतिनिधि तथा तिनका आसपासमा मात्र विकास केन्द्रित रहेको गुनासो उनीहहरूको छ ।

मतदाता मात्र होइन, जुन पार्टीबाट विजयी भएका जनप्रतिनिधि छन्, तिनसम्बद्ध दलसमेत असन्तुष्ट छन् । जिल्लाका दस स्थानीय तहमध्ये सात वटामा नेकपा र तीन वटामा कांग्रेसले जितेका छन् । प्राय: सबै स्थानीय तहले सडकलाई प्राथमिकतामा राखे पनि त्यो जनप्रतिनिधिको आसपासमा केन्द्रित रहेर काम गरिएको स्थानीयको गुनासो छ ।


तत्कालीन एमाले प्यानलले जितेको रावाबेंसीमा जनतामुखी काम नभएको स्थानीयले बताएका छन् । उक्त पालिकाका अगुवा किसान रामबहादुर राईका अनुसार रोजगार, शिक्षा, स्वास्थ्य जस्ता विषयमा स्थानीय सरकारको ध्यान नगएको बताए । उनका अनुसार सभा, उद्घाटन तथा अन्य झिनामसिना काममा अलमलिएर जनप्रतिनिधिहरूले कार्यकाल व्यतित गरिरहेको बताए ।


‘रोजगार, शिक्षा, स्वास्थ्यजस्ता विषयमा जनप्रतिनिधिहरूको ध्यानै छैन,’ राईले भने, ‘खाली सभा, उद्घाटन र अन्य झिना मसिना कुरामा अलमिलिरहेका छन् ।’ भाबी पुस्तालाई काम दिने कुनै पनि काम गरेको नदेखिएको उनको भनाइ छ । तत्कालीन एमाले प्यानलले जितेको केपिलासगढी गाउँपालिकामा पनि जनप्रतिनिधिकै आसपासमा विकासे योजना वितरण भएको गुनासो आएको छ । गाउँपालिका अध्यक्ष कृष्णकुमार राईको वरिपरि रहनेहरूसम्म मात्र विकासे योजना वितरण गरिएको स्थानीयले गुनासो गरेका छन् ।


‘पालिका अध्यक्षको वरिपरि रहने नरनातादेखि चुनावमा सघाउँनेसम्म मात्र विकास पुगेको छ ।’ उनले भने, ‘तल्लो तहसम्म विकास पुगेकै छैन ।’ कांग्रेस प्यानलले जितको हलेसी तुवाचुङ नगरपालिका र तत्कालीन एमाले प्यानलले जितेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पनि चित्तबुझदो काम नभएको गुनासो छ ।


यी दुई नगरपालिकामा पनि तल्लो तहसम्म विकासको अनुभूति हुने गरी काम नभएको गुनासो आएको छ । अनुत्पादक र विकासका नाममा विनासकारी काम भएको गुनासो गरेका हुन् ।


एमाले प्यानलको बर्चस्व रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा जनतामुखीभन्दा पनि जनप्रतिनिधिमुखी काम भएको गुनासो गरेका छन् । ‘कम्युनिस्टको सरकार भन्छ तर सामन्तवादलाई बढवा दिने काम गरिरहेको छ ।’ नेकपाका एक नेताले भने, ‘यो अत्यन्त लाजास्पद विषय हो ।’ उनले थपे, ‘जनप्रतिनिधिहरूको बबुरोपनाले जनताले विकासको अनुभूतिको कुरा त परै आओस्, पार्टीलाई समेत धक्का पुगेको छ ।’ उनले सुझाए, ‘हामी पार्टीभित्र पनि कुरा उठाउँछौं र मिडियाले पनि चेतना भर्नुपर्छ ।’ कांग्रेसले नेतृत्व जितेको ऐसेलुखर्क गाउँपालिकामा पनि जनमुखी काम हुन नसकेको गुनासो आएको छ ।


तत्कालीन माओवादीले नेतृत्व जितेको साकेला गाउँपालिकामा पनि भौतिक विकासमा मात्र ध्यान दिइएको स्थानीयले बताएका छन् । जनप्रतिनिधि वरिपरि रहनेले विकासे योजना सञ्चालन गरेको गुनासो छ । कांग्रेस प्यानलले जितेको दिप्रुङ चुइचुम्मामा पनि त्यस्तै हालत छ । आफू वरिपरि मात्र विकासे कार्यक्रम वितरण गरेको कांग्रेस सम्बद्धले बताए ।


तत्कालीन एमाले प्यानलले जितेको खोटेहाङमा पनि अवस्था उस्तै छ । भौतिक विकासअन्तर्गत सडकलाई प्राथमिकतमा राखेकाले अन्य महत्त्वपूर्ण काम नभएको स्थानीयको भनाइ छ । उक्त स्थानीय तहमा सबैभन्दा शिक्षाको अवस्था नाजुक भएको स्थानीयको भनाइ छ । स्थानीय सरकारले शिक्षामा परिवर्तन दिन सक्ने योजना बनाउनुपर्नेमा पुरानै ढाँचामा शिक्षा योजना सञ्चालन भएको स्थानीयको गुनासो छ ।


यद्यपि अन्य स्थानीय तहको तुलनामा यसमा सन्तुलन भने भएको स्थानीयले बताएका छन् । तत्कालीन एमालेले जितेको जन्तेढुङ्गा र कांग्रेसले नेतृत्व जितेको बराहापोखरीमा पनि अवस्था उस्तै छ । जनप्रतिनिधिहरूकै नेतृत्व गर्ने क्षमता भएकाले यस्तो अवस्था आएको स्थानीयको भनाइ छ । शिक्षामा पुरानै अवस्था रहेको एक स्थानीयले बताए ।


शिक्षा, स्वास्थ्यलगायतका सामाजिक विकासमा जिल्लाका प्राय: सबै स्थानीय तहको ध्यान नगएको जानकार बताउँछन् । खोटेहाङ गाउँपालिकाको सिम्पानी क्याम्पसका पूर्वक्याम्पस प्रमुख राजन ढकालका अनुसार जिल्लाका सबै पालिकामा शिक्षासम्बन्धी राम्रो खालको योजना नबनाएको बताए ।


शिक्षा अन्य विषयजस्तो नभएकाले दीर्घकालीन योजना बनाएर मात्र शिक्षाको गुणस्तर बन्ने ढकालले बताए । गाउँपालिका तथा नगरपालिका प्रमुखहरूले भने विकास एकै चोटी हुने विषय नभएकाले क्रमैसँग काम भइरहेको दाबी गरेका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?