कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मादीमा गुराँस बगैंचा बन्दै

कान्तिपुर संवाददाता

(तेह्रथुम) — लालीगुराँससहित गुराँसका अन्य प्रजाति समेटेर संखुवासभाको मादी नगरपालिकाले गुराँस बगैंचा र अनुसन्धान केन्द्र निर्माण थालेको छ । तेह्रथुमको मेन्छ्यायाम गाउँपालिकासँग सीमा जोडिएको मादी नगरपालिकाले ३० लाख रुपैयाँभन्दा बढी लागतमा प्राकृतिक गुराँस बगैंचा र अनुसन्धान केन्द्र निर्माण थालेको हो ।

मादीमा गुराँस बगैंचा बन्दै


तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रको गुराँसे वनमा रमाउँदै पर्यटक । तस्बिर : चन्द्र कार्की/कान्तिपुर




गुराँसको राजधानी मानिएको संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्र समेतलाई समेटेर बगैंचा निर्माण सुरु गरेको नगर प्रमुख बिदुर लिङथेपले बताए । अहिले बगैंचा निर्माणका लागि सहयोग जुटाउने काम भइरहेको छ । तीन वर्षभित्र बगैंचा निर्माण गरिसक्ने लक्ष्यका साथ गुरुयोजना निर्माण भइरहेको उनले बताए । ‘चालु आवमा गुराँस नर्सरीका लागि नगरपालिकाले ३० लाख छुट्याएको छ,’ नगर प्रमुख लिङथेपले भने । बगैंचामा दुर्गभ र मासिन लागेका गुराँसको नर्सरी लगाउने योजना नगरपालिकाको छ । नगरपालिकाको प्रमुख आम्दानीको स्रोतसँग जोडेर बगैंचासँगै गुराँस अनुसन्धान केन्द्र समेत निर्माण गर्ने नगरपालिकाले योजना अघि सारेको छ । केन्द्रमा गुराँसका प्रजातिको बंशको अध्ययन गरी यहाँको हावापानीमा मात्र पाइने गुराँसका प्रजातिहरू अन्यत्र समेत विस्तार गर्न सकिने/नसकिनेबारे अनुसन्धान भइरहेको नगर प्रमुख लिङथेपको भनाइ छ ।


टिएमजे क्षेत्रको मंगलबारे नजिक लामपोखरी क्षेत्रमा रहेको १ सय रोपनी क्षेत्रफल खुला जमिनमा बगैंचा र अनुसन्धान केन्द्र निर्माण थालिएको छ । क्षेत्रफल बिस्तारै बढाउँदै लगिने नगरपालिकाले जनाएको छ । गुराँस संरक्षण नीति बनाएर सबै प्रजातिका गुराँसको नर्सरी समेत राख्ने गरी बगैंचा निर्माण भइरहेको हो । गुराँसको अध्ययन, अवलोकन र अनुसन्धान समेत गर्न पाउने लक्ष्यसाथ नगरपालिकाले बगैंचा निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ ।


बगैंचा निर्माणका लागि चालु आवको प्रथम नगरसभाबाट ३० लाख बजेट विनियोजन भएको थियो । यस क्षेत्रमा रहेका गुराँसको फूलको प्रयोग चिया, औषधि, जुस, रक्सी र वाइनमा हँुदै आएको छ । बगैंचामा नेपालमा पाइने ३२ प्रजाति गुराँसका बिरुवाको नर्सरी पहिलो वर्ष स्थापना गर्ने काम अहिले चलिरहेको छ । टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् । विज्ञ टोलीको अध्ययनपछि हावापानीका हिसावले नर्सरीका लागि उपयुक्त देखिएपछि नर्सरी स्थापनामा लागिएको नगरपालिकाले जनाएको छ । मादी नगरपालिकाले गुराँस पाइने संखुवासभाकै धर्मदेवी र चैनपुर नगरपालिका, तेह्रथुमको लालीगुराँस नगरपालिका र मेन्छ्याम गाउँपालिका तथा ताप्लेजुङको मैयाखोला गाउँपालिका समेतको सहकार्यमा बगैंचा निर्माण सुरु गरिएको नगर प्रमुख लिङथेपले बताए । टिएमजे क्षेत्रमा यी तीन जिल्लाका १ सय ६० सामुदायिक वन समूहले गुराँस वन संरक्षण गर्दै आएका छन् ।


टिएमजेलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यको सूचीमा हालै सूचीकृत गरेको छ । बगैंचा अनुसन्धान केन्द्र स्थापनापछि भारतको उत्तर प्रदेश, विहार, दार्जिलिङ, सिक्किम र युरोप समेतका पर्यटक भित्र्याउने योजना रहेको नगर प्रमुख लिङथेपको भनाइ छ । सोही अभियानस्वरूप गत वैशाखमा नगर प्रमुख लिङथेपकै पहलमा ३८ देशका पर्यटक सोही स्थानमा आएर एक हप्ता विताएका थिए । बगैंचा र केन्द्र आसपासका क्षेत्रमा पर्यटकलाई लक्षित गरी व्यावसायिक होटल र रिसोर्ट समेत सञ्चालन गर्ने तयारी नगरपालिकाको छ ।


त्यसका लागि अहिले लगानीकर्ताको खोजी भइरहेको छ । यहाँ आएर होटल, रिसोर्ट तथा अन्य व्यवसाय गर्न चाहने व्यवसायीलाई नगरपालिकाले नि:शुल्क रूपमा जग्गा उपलव्ध गराउने जनाएको छ । पूर्वाधार निर्माणका लागि भने व्यवसायी आफंैले लगानी गर्नुपर्नेछ । बगैंचा र व्यावसायिक स्थानमा नगरपालिकाले फ्रि वाइफाइ, सुरक्षा र गोपनियताको ग्यारेन्टी गरिदिने नगर प्रमुख लिङथेपको दाबी छ ।


यो क्षेत्रमा पर्यटकलाई कम्तीमा एक साता बिताउने वातावरण तयार गर्न अहिले ‘फुट ट्रेल’ निर्माणको काम भइरहेको छ । नगरको आम्दानीको स्रोत पशुपालन भएकाले यो क्षेत्रमा पशुपालन व्यवसाय गर्ने किसानलाई नि:शुल्क चरन क्षेत्र उपलव्ध गराउने योजना नगरपालिकाले अघि सारेको छ । खर्कका रूपमा रहेको खाली जग्गामा बगैंचा, केन्द्र र व्यावसायिकस्थल निर्माण हुनेछ । जग्गा कम भएमा आसपासमा रहेका व्यक्तिका निजी जग्गा समेत अधिग्रहण गरिने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा नर्सरी स्थापनाका लागि स्थानीय १५ जना व्यक्तिको ३ सयभन्दा बढी रोपनी जग्गा अधिग्रहण गरिसकिएको नगर प्रमुख लिङथेपको भनाइ छ ।


नर्सरीमा प्रत्येक वर्ष २५ लाख गुराँस प्रजातिका बिरुवा उत्पादन गर्ने लक्ष्य नगरपालिकाको छ । देशभरि नै गुराँस फुलाउने योजनाअनुसार यहाँसम्म आउने सवै पर्यटकलाई नि:शुल्क रूपमा गुराँसका बिरुवा उपहारस्वरूप वितरण गरिने योजना नगरपालिकाले अघि सारेको छ ।


आगामी तीन वर्षपछि बिरुवा वितरण गर्न थालिने नगरपालिकाको योजना छ । ‘प्राकृतिक गुराँस जंगलको संरक्षण गरी पर्यटक भित्र्याउने योजनामा छौं’, नगर प्रमुख लिङथेपले भने । बिरुवा उत्पादन र संरक्षणका लागि स्थानीय निजी, सामुदायिक र सरकारी वनसँग पनि समन्वय गरिने नगरपालिकाको योजना छ । गुराँस वनमात्रै रहेको टिएमजे क्षेत्रको वनलाई संरक्षित वन क्षेत्र घोषणा गर्ने तयारी सरकारले गरिरहेको भए पनि पूरा हुन सकेको छैन । यस क्षेत्रको गुराँस वनलाई समुदायले संरक्षण, संवद्र्धन र सदुपयोग गर्दै आएकाले वन समूहसँग थप छलफल गरी काम अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?