कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आशा जगाउँदै प्राविधिक शिक्षा

जितेन्द्र साह

(मोरङ) — दुई दसकअघिसम्म सीमावर्ती मोरङको जहदा गाउँपालिका एवं वरिपरिको गाउँमा कृषि, नर्सिङ, जेटिए वा आयुर्वेद पढेका छोरी त के छोरा पनि भेटिँदैन्थ्यो । अहिले भने यो क्षेत्रमा यी विषय पढ्ने एवं विविध रोजगारमा आवद्ध छोरीहरूको कमी छैन । छोराछोरीको बराबर उपलब्धि देखेर बाआमा पनि मख्ख छन् । 

आशा जगाउँदै प्राविधिक शिक्षा

शिक्षा एवं चेतनामा पिछडिएको यो गाउँमा उही बेला बरिष्ठ नेतृ शैलजा आचार्यले प्राविधिक शिक्षालयको आधारशीला राखेपछि यो परिवर्तन आएको हो । स्थानीयका अनुसार पुरानो जमानामा यो गाउँको ‘जहदा हाट’ कोइराला परिवारका सदस्यहरूको रमाइलो गर्ने थलो थियो । मावली कोइराला परिवारसँग शैलजाको पनि यहाँ आवतजावत हुनाले उनको मनमा यो गाउँ बसेको हो ।


१७ वर्षअघि उनकै परिकल्पनामा यहाँ स्थापित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजले अहिलेसम्म १ हजार ६ सय ९० जनशक्ति उत्पादन गरिसकेको प्राचार्य सन्तबहादुर अधिकारीले बताए । यसमा ५ सय ८१ अनमी, २ सय ७९ जना वैद्य (आयुर्वेद), २ सय ९५ पशु स्वास्थ्य जेटिए, २ सय १३ कृषि जेटिए, २ सय ७८ नर्सिङ (प्रमाणपत्र तह) र ४३ जना कृषि डिप्लोमा हुन् । उनको अनुसार अहिले ४ सय ५७ छात्रछात्रा पढदै छन् । यसमा १ सय ६० जनाले नर्सिङ (प्रमाणपत्र तह), १ सय १८ जना तीन वर्षे कृषि विज्ञान, २० जना पशु विज्ञान, ४० जना अनमी, ३९ जना कृषि जेटिए, ४० पशु स्वास्थ्य जेटीए र ४० जना आयुर्वेद विषयमा अध्ययनरत छन् । ‘नर्सिङ बाहेक अन्य विषयमा पनि छोरीको सहभागिता ५० प्रतिशतको हाराहारीमा छ,’ प्राचार्य अधिकारी भने । विभिन्न संघसंस्थामा यस कलेजका १ सय ४२ जनाले जागिर सम्बद्ध तालिम (अन द जब ट्ेरनिङ) लिइरहेका छन् ।


कुनै बेला छोराछोरीलाई एसएलसीसम्म पढाएर घर व्यवहारमा लगाउने स्थानीय अभिभावकको प्राविधिक शिक्षामा पनि सहज पहुँच भएकाले यो सम्भव भएको हो । यसले छोरीहरूको मनोबल उक्कासेको स्थानीयको धारणा छ । ‘छोरीलाई गाउँभन्दा बाहिर राखेर पढाउने चलन थिएन, गाउँमै प्राविधिक कलेज खुलेपछि स्थानीयलाई ऊर्जा दियो,’ जहदा–६, पोखरिया टोलका शिक्षक चन्द्रप्रसाद मण्डलले भने, ‘यो कलेज खुल्नुअघि एसएलसी सकेपछि थोरै मात्रै पढ्न सहर जान्थे ।’


जहदा–४ स्थित लक्ष्मी आधारभूत विद्यालयका शिक्षक मण्डलले आफ्ना तीन जनै छोरीलाई प्राविधिक विषय पढाएका छन् । जेठी २५ वर्षीया बबिताकुमारीले गाउँकै कलेजमा नर्सिङमा प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरिन् । उनी महोत्तरीको बालुवा नगरपालिकाको स्वास्थ्य चौकीमा काम गरिरहनुकासाथै नर्सिङमा स्नातक गरिरहेकी छन् । माहिली २० वर्षीया ज्योतिले जेटीएको १८ महिने पाठ्यक्रम सकेकी छन् । उनी यसपछि विराटनगरस्थित सत्यनारायण माविमा शिक्षा संकायमा बाह्र पढदै छिन् । मण्डलको कान्छी छोरी प्रीतिले एसईई सकेर डिफर्मा (डिप्लोमा इन फार्मेसी) गर्दैछिन् । ‘पहिलापहिला हाम्रो गाउँमा आईए/एसएलसी सकेपछि विहे गराइदिने चलन थियो,’ मण्डलले भने, ‘स्थानीयलाई प्राविधिक शिक्षा भनेकै थाहा थिएन ।’ मण्डलका अनुसार यो कलेज खुलेपछि छोरीहरूलाई पढाउने माहोल मात्र बनेन, मनोबल बढेर जागिर एवं उच्च शिक्षाका लागि उनीहरूलाई गाउँ बाहिर पठाउन थालियो ।

ग्रामिण भेकका छोरीहरूको जाँगर देखेर गुरुगुरुमा पनि निकै खुसी छन् ।


अनमी एवं स्टाफ नर्स पढ्नेमा मधेसी समुदायकै बढी रहेको उक्त कलेजकी शिक्षक ३२ वर्षीया यशोदा राईले बताइन् । उनले भनिन्, ‘यहाँका छोरीहरूमा क्षमता त थियो, अवसर पाएका थिएनन् ।’ मोरङको रंगेली अस्पतालमा कार्यरत झापा बिर्तामोडकी उनले यही स्टाफ नर्स पढेकी हुन् । उनी यस कलेजमा २०६६ मा सुरु नर्सिङ समूहकी विद्यार्थी हुन् । राईले पछि नर्सिङमा स्नातक पनि गरिन् । ‘म बाबु आमाको एक्ली छोरी हो, मेरो पनि एक मात्र छोरी छन्,’ राईले भनिन्, ‘छोरीहरूलाई पढाउन पाउँदा आनन्द लाग्छ ।’ अहिले यो र वरिपरिको गाउँका ६५ जना छोरी अनमी भइसकेका छन् । २०६६ मा पढाइ सुरु भएपछि अहिलेसम्म १५ छोरीहरू स्टाफ नर्स भए । गाउँका १५ जना यो विषय पढै छन् । यो कलेजमा उपलब्ध सात प्राविधिक शिक्षा कार्यक्रममा देशभरिकै छात्रछात्राले सहुलियत शुल्क, नि:शुल्क र सशुल्क पढ्छन् । सञ्चालित ११ वटा कक्षामा औषत ४० जनाका दरले विद्यार्थी अध्ययनरत छन् । पशु जेटिए पाठ्यक्रमको स्तर वृद्धि गरी २०७५ देखि यहाँ तीन वर्षे पशु विज्ञान पाठ्यक्रम लागू भएको छ ।


यहाँबाट वार्षिक चरणबद्ध ९० महिलाले नियमित सिलाइ प्रशिक्षण पाइरहेका छन् । कलेजद्वारा सञ्चालित समुदाय स्वास्थ्य शिक्षा कार्यक्रममा प्रशिक्षक एवं विद्यार्थीमार्फत हरेक वर्ष ३ हजार जनाले सेवा पाउँछन् । योसँगै प्रशिक्षक विद्यार्थीले वार्षिक १८ हजार जनालाई पशु स्वास्थ्य जाँच तथा कृषि सेवा आय आर्जनसम्बन्धी तालिम दिन्छन् । कलेजले मानव र पशुका लागि वर्षभरी नै स्वास्थ्य शिविर सञ्चालन गर्छ । यो बाहेक यहाँ छोटो अवधिको वार्षिक २ देखि ५ कार्यक्रम सञ्चालन हुन्छ । दुर्गम क्षेत्रकाबाट समेत यहाँ पढ्न आउने हुनाले यो गाउँ मधेसलाई हिमाल र पहाडसम्म जोड्ने सेतु पनि बनेको छ । ‘पहाड र मधेसका छोराछोरी मिलेर गाउँमा पढेको देख्दा मनै प्रफुल्ल हुन्छ,’ शिक्षक राईले भनिन्, ‘यो कलेजले पढाइसँगै एक अर्कालाई बुझ्ने मौका पनि दिएको छ ।’ सुनसान गाउँमा भव्य प्राविधिक कलेज खुल्नुको कथा पनि निकै रोचक छ । सक्रिय राजनीतिमा रहँदा उपप्रधानमन्त्री एवं कृषिमन्त्रीको ओहोदासम्म सम्हाल्नु भएका शैलचा दिदीमाथि आमा इन्दिरा आचार्यको सामाजिक कार्यको निकै प्रभाव रहेको कलेजकी अध्यक्ष मिता आचार्यले बताइन् । उनी शैलजाको भाइबुहारी हुन् ।


‘पिताजी कृष्णप्रसाद कोइरालाको नाउँमा भारतको गाँधी आश्रमझैं संस्था खोलेर सामाजिक काम गर्न आमा इन्दिराले नै शैलजा दिदीलाई सुझाव दिनु भएको थियो,’ आचार्यले भनिन्, ‘पिताजीको नाउँमा छुट्टै काम भएन भन्ने आमाको चासो थियो ।’ नेपालका तीन कोइराला पूवप्रधानमन्त्रीहरू विशेश्वरप्रसाद, गिरिजाप्रसाद र मात्रिकाका पिता कृष्णप्रसाद शैलजाको पनि आफ्नै मावली हजुरबुबा हुन् । मुलुकमा प्रजातान्त्रिक आन्दोलनको सुरुवात गर्ने गाँधीबादी नेताको रूपमा कृष्णप्रसाद चिनिन्थे ।


उनका अनुसार यो कलेजको स्थापना अगाडि विराटनगरमा मुख्यालय रहने गरी शैजला दिदीले २०५६ मा पिताजी कृष्णप्रसाद कोइरालाको नाममा गुठीको स्थापना गरिन् । विराटनगर–रंगेली सडकभन्दा तल्लो उपेक्षित क्षेत्रमा शैक्षिक एवं स्वरोजगारका कार्य गर्न यो गुठी खोलिएको आचार्यले बताइन् ।


‘अहिले आएर गाउँका छोरीहरू नर्स, जेटिए र बैद्य बनेको देख्दा खुसी लाग्छ, त्यो बेला त त्यहाँका छोरीबुहारी घरबाट बाहिर निस्कँदैन्थिए,’८४ वर्षीया शान्ता अधिकारीले भनिन् । उनी उक्त गुठीको संस्थापक सदस्य एवं कलेज सञ्चालन समितिको सदस्य हुन् । स्वतन्त्रता संग्रामी अधिकारीको पनि कोइराला निवास मावली हो । कमै उमेरमा शैलजाले संसार त्यागेकी हुनाले उनको धेरै सपना अधुरो रहेको उनको गुनासो छ । ‘त्यहि कलेज परिसरभित्र गाउँलेका लागि १५ शय्याको अस्पताल बनाउने एवं स्वरोजगारका कार्यक्रम ल्याउने उनको चाहना थियो,’ बुहारी आचार्यले भनिन्, ‘उहाँ जीवित हुनु भएको त यो पनि पूरा भइसक्थ्यो ।’ उनले अब यो सब सरकार एवं गैरसरकारी संस्थाले सहयोग गरेमा मात्र सम्भव रहेको बताइन् । ‘सरकारबाट न्यून सहयोग प्राप्त छ, बाँकी आफैंले प्रबन्ध गरिरहेका छौं,’ आचार्यले भनिन्, ‘अहिले सञ्चालित कक्षाहरूको गुणस्तर कायम राख्नु हाम्रो पहिलो प्राथमिकता हो, संघीय एवं प्रादेशिक सरकारबाट सहयोग पाइएमा थप अगाडि बढ्छौं, अस्पताल खोल्नुभन्दा पनि निरन्तरता दिन सक्नुपर्छ ।’


यो कलेजको रचनात्मक गतिविधि हेरेर यो वर्ष प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ५० लाख रूपैयाँ र जहदा गाउँपालिका कार्यालयले ११ लाख रूपैयाँ सहयोग छुट्टयाएको प्राचार्य अधिकारीले जनाए । उक्त कलेजले १० लाख रूपैयाँको अक्षय कोषको ब्याजबाट वार्षिक १५ जेहेनदार छात्रछात्रालाई प्रोत्साहनस्वरूप न्यून्तम छात्रवृत्ति प्रदान गरिरहेको छ ।


‘यस दिशामा केही समाजसेवीले पनि सहयोग दिने भएका छन,’ अधिकारीले भने । उक्त कलेजकी अध्यक्ष आचार्य भने यसबाट सन्तुष्ट छैनन् । ‘दुई/तीन हजार रूपैयाँ राशीको छात्रवृत्तिले भएन, यसलाई बढाउनुपर्छ भन्ने मेरो सोच हो,’ उनले भनिन्, ‘जनहितमा सञ्चालित यो गैर नाफामूलक प्राविधिक कलेज भएकाले सरकार, नागरिक समाज र दलले मिलेर हातेमालो गर्नुपर्छ ।’


उक्त गुठीको स्थापनापछि प्राविधिक शिक्षालय खोल्नका लागि पूर्वको थुप्रै थलोमा जग्गा हेरेको र अन्तत: शैलजा दिदीले जहदालाई रोज्नु भएको स्थानीय ज्येष्ठ नागरिक एवं समाजसेवी मोहन महतोले बताए । उनी कलेजको स्थापनादेखि अहिलेसम्म सक्रिय भूमिकामा छन् । महतो गुठीको कोषाध्यक्ष एवं कलेजको सञ्चालक सदस्य छन् । अहिले झन्डै तीन विघामा फैलिएको यो कलेजको जग राख्न शैलजा दिदीले उति बैला निजी स्रोतले डेढ विघा जग्गा किनेकी थिइन् । ‘आफूले भनेको खानेसँग मात्र उनी सहयोग माग्थिन्,’ गुठीको संस्थापक सदस्य अधिकारीले भनिन् । उनको अनुसार लामो समय विशेश्वरप्रसाद (बीपी) कोइरालासँग भारत प्रवासमा बसेको हुनाले शैलजाको पारीकासँग असल सम्बन्ध थियो ।


त्यहि भएर भारतका पूर्वप्रधानमन्त्री एवं समाजसेवी चन्द्रशेखरले स्वयं आएर यो कलेजको सिलान्यास गरेको अधिकारीले संझिइन् । उनले भनिन्, ‘भारतले यो कलेजमा ठूलो सहयोग गर्‍यो ।’ भारतीय दूतावाससँगको सम्झौतामा २०६३ मा २ करोड ७० लाख रूपैयाँमा नर्सिङ भवन निर्माण भयो । यसअघि गुठीकै भवनमा पठनपाठन भइरहेको थियो । ‘यसपछि कलेजले पछि फर्केर हेर्नु परेन, यो ओझेल गाउँको पनि मुलुकमा पहिचान बन्यो,’ आचार्यले भनिन् । गुठीको अध्यक्षको हैसियतमा २०५७ चैतमा शैलजा अचार्यले महिलालाई शीपमूलक तालिम दिनलाई न्यून सहयोग लिने गरी सीटीईभीटीसँग सम्झौता गरेकी थिइन् । १८ महिने अनमी र तीन महिने सिलाई प्रशिक्षणबाट यो कलेजले सेवा सुरू गरेको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?