कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पर्यटन समृद्धिका लागि प्रतियोगिता

कान्तिपुर संवाददाता

(इटहरी, सुनसरी) — वि विल राइज (हामी उठ्ने छौं) फाउन्डेसनले पर्यटन समृद्धिका लागि शनिबार सुनसरीको इटहरीमा भीडीयो प्रतियोगिता सार्वजनिक गरेको छ । आफ्नो गाउँलाई पर्यटकीय थलो बनाउने अवधारणाअनुरूप देशभरिका पत्रकार सम्मेलनको आयोजना गरिएको हो । 

पर्यटन समृद्धिका लागि प्रतियोगिता

सगरमाथा आरोही पत्रकार पाँचथरकी देउराली चाम्लिङले फाउन्डेसनको यस सम्बन्धमा यो ११ औंं पत्रकार सम्मेलन भए पनि प्रदेश १ मा पहिलो भएको बताइन् । उनी फाउन्डेसनकी सदस्य हुन् । ‘यसबाट इटहरी र पूरा सुनसरीको पर्यटनको गरिमा बढेको छ,’ चाम्लिङले भनिन् । फाउन्डेसनले काठमाडौं, हेटौंडा, चितवन, बुटबल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, वीरगञ्ज, जनकपुर, इटहरी र दमकमा सम्मेलन गरिसकेको छ ।


आइतबारदेखि विराटनगर, पोखरा र तनहुँमा फाउन्डेसनले यो प्रतियोगिता सार्वजनिक गर्दैछ । यो क्रममा उसले २०७२ को महाभूकम्पपछि पर्यटन प्रवद्र्धनका लागि गरेका प्रयासहरूको बारेमा छोटो, मीठो र सन्देशमूलक भीडीयो समेत प्रदर्शन गरिरहेको छ ।


उक्त फाउन्डेसनका पदाधिकारीहरूले यसबारेमा जानकारी दिँदै सात वटै प्रदेशहरूबाट बढीभन्दा बढी सहभागिताका लागि आहान गरिरहेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन बोर्डसँग सहकार्य गर्दै यो कार्यक्रमको घोषणा गरेको फाउन्डेसनले जनाएको छ । फाउन्डेसका अनुसार आफ्नो गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभूषा, खानपान र कलालगायतका विषयलाई आधार बनाएर पाँच मिनेटसम्मको भीडीयो बनाउन सकिन्छ । ‘एउटा भीडीयोमा एउटा विषय समावेश गर्नुपछ,’ फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले भने । उनको अनुसार १ जनवरीदेखि प्रतियोगिता सुरु भइसकेको छ । प्रतियोगीहरूले मार्चसम्ममा भीडीयो पठाउन सक्नेछन् । मेमा विजेताको छनौट हुने र जुनमा घोषणा गरिने श्रेष्ठले बताए । उनका अनुसार उत्कृष्ट ठहर भएका भीडीयोहरूलाई पर्यटन बोर्डको सहयोगले अर्को वर्ष टेलिभिजन च्यानलहरूमा प्रसारण गरिने हो । ‘यस्ता भीडीयो मोबाइलबाट पनि खिच्न सकिन्छ तर टीभीबाट प्रसारित हुने भएकाले एचडी स्तरको हुनुपर्छ,’ श्रेष्ठले भने, ‘महँगा क्यामेराले खिचेर मात्र भएन, विषयवस्तु सशक्त हुनुपर्छ ।’ दुई दसकदेखि श्रेष्ठ पत्रकारितामा सक्रिय छन् ।


मुलुकका धेरै गाउँहरूमा पर्यटन विकासको सम्भावना भएको हुनाले त्यसको प्रचारप्रसारमा यो प्रतियोगिताले बल पुर्‍याउने फाउन्डेसनका अर्का संस्थापक निर्देशक मुकुन्द बोगटीले बताए । उनी लामो समयदेखि कान्तिपुर पब्लिकेसन्ससँग आवद्ध छन् । आफूसँग रहेको स्मार्टफोनको एचडी क्वालिटीमा भीडीयो खिचेर डकुमेन्ट्री (सम्पादन, स्क्रिप्ट) समावेश गरी प्रतियोगितामा सामेल हुन सक्ने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार त्योभन्दा बढी गुणस्तरको भीडीयो भए पनि मान्य हुनेछ । पर्यटकको अत्यधिक आवागनम हुने क्षेत्रलाई पनि फरक ढंगले प्रस्तुत गरिएको भीडीयोलाई समेत प्रतियोगितामा समावेश गरिने फाउन्डेसनले जनाएको छ ।


अधिकतम पाँच मिनटको हुनुपर्ने भीडीयोको सबै पक्षको उत्कृष्टताको चयन गर्न डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डकुमेन्ट्री निर्माता मोहन मैनाली, चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, बरिष्ठ साउन्ड विज्ञ प्रदीप उपाध्याय र पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकारी दीपक जोशी निर्णायक रहेका छन् । भीडीयो निर्माताले छनौट गरेको विषय बारेमा फाउन्डेसनको आधिकारिक बेबसाइट डब्लूडब्लूडब्लू डब्लूडब्लुआरएफ डट ओआरजी डट एनपीमा गएर भीडीयो च्यालेन्जको फर्म भरेर जानकारी गराउनुपर्ने फाउन्डेसनले जनाएको छ । सात वटै प्रदेशका नयाँ र पुराना पर्यटन क्षेत्रको प्रोत्साहनका लागि आयोजित यस भीडीयो प्रतियोगितामा नि:शुल्क सहभागी हुन सकिने फाउन्डेसनका संस्थापक निर्देशक बोगटीले बताए । निर्णायकहरूबाट छनौट भएका उत्कृष्ट भीडीयोहरूलाई प्रचारप्रसारका लागि फाउन्डेसनले आफ्नो युट्युब च्यानल र फेसबुक पृष्ठमा समेत राख्ने जनाएको छ । फाउन्डेसनका अनुसार सर्वाधिक लाइक, कमेन्ट र सेयर हुने भीडीयोलाई ‘पिपुल च्वाइस अवार्ड’ प्रदान गरिनेछ । उत्कृष्ट भीडीयोको छनौट भने निर्णायक समितिले नै गर्ने फाउन्डेसनले जनाएको छ ।


फाउन्डेसनका अनुसार दुवै विधामा पहिलो हुने भीडीयोले १/१ लाख नगद पुरस्कार पाउनेछ । योबाहेक नेपाल फिल्म एकेडेमीले करिब २ लाख बरारबारको छात्रवृत्ति समेत दिनेछ । प्रतियोगितामो फस्ट रनर्स अप हुने भीडीयोले ५० हजार रूपैयाँ र सेकेन्ड रनर्सअप हुने भीडीयोले २५ हजार रूपैयाँ पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार सर्वोत्कृष्ट सम्पादन र सर्वोत्कृष्ट स्क्रिप्ट भएको भीडीयो पनि २५/२५ हजार रूपैयाँ नगद पुरस्कार हात पार्नेछ । १ जनवरीबाट सुरु भएको यो प्रतिस्पर्धामा ४ महिनासम्म चल्नेछ । उक्त प्रतियोगिता घोषणा कार्यक्रममा पूर्वको नवोदित सहर इटहरीका सञ्चारकर्मी एवं व्यवसायी बाहेक प्रदेश १ का उच्च पदस्थ सरकारी कर्मचारी, बरिष्ठ पत्रकार र विभिन्न जिल्लाका जनप्रतिनिधिहरू समेत सहभागी थिए । १३ औं पटक सगरमाथा आरोहण गरी गिनिज वल्र्ड रेकर्ड बनाएका फूर्वा छिरिङ शेर्पाले कुरा काटेर हिँडनेभन्दा काम गरेर देखाउँ भन्ने चाहनाकासाथ फाउन्डेसनमा आवद्ध भएको बताए । उनी फाउन्डेसनका गुडविल एम्बेसडर हुन् । यो प्रतियोगिताले ओझेलमा परेका र चर्चामा रहेका पर्यटकीय क्षेत्रको उत्थानमा बेजोड सहयोग पुर्‍याउने कान्तिपुर दैनिकका बरिष्ठ उप–सम्पादक जितेन्द्र साहले बताए ।


उनले यसबाट डकुमेन्ट्रि निर्माणमा लागेका एवं रूचि भएका प्रतिभालाई करियरमा सशक्त ढंगले अघि बढ्न प्रेरणा एवं प्रोत्साहन मिल्ने बताए । स्थानीय प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं व्यावसायिक पर्यटनको दिशामा यो उदाहरणीय पहल भएको इटहरीको प्रतिष्ठित व्यवसायी शैलेस विष्टले बताए । ‘यहाँको पर्यटनलाई टेवा दिने गरी भीडीयो बनाउनेलाई मेरो पनि भरपुर सहयोग एवं सदभाव रहने छ,’ उनले भने ।


धनकुटा नगरपालिका–९, वेलाहाराका तन्नेरी वडा अध्यक्ष मनोज रायमाझी (सन्दिप) त बाहिरबाट थाहा पाएरै उक्त फाउन्डेसनको पत्रकार सम्मेलनमा सहभागी हुन आइपुगेका थिए । ‘निकै रचनात्मक कार्यक्रम लाग्यो,’ उनले भने, ‘म पनि आफ्नो वडा र नगरमा यसबारेमा जानकारी गराउँछु ।’ यति ठूलो प्रतियोगिताका लागि फान्डेसनले प्रदेश १ को यो सुन्दर इटहरी नगरीलाई पहिलो प्राथमिकतामा राख्नु नै गर्वको विषय भएको इटहरी जेसिजका कार्यकारिणी उपाध्यक्ष युवराज काफ्लेले बताए । पत्रकार सम्मेलनमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेल र सीटीईभीटीका उपसचिव सन्तबहादुर अधिकारी समेत सहभागी थिए ।

प्रकाशित : फाल्गुन ६, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?