खेल मैदान निर्माणको लहर

कान्तिपुर संवाददाता

इलाम — इलाम नगरपालिका २ सुम्वेकमा गएको माघमा फुटबल प्रतियोगिता भयो । यसअघि स्थानीय सुम्वेक माविको खेल मैदानमा आयोजना हुने प्रतियोगिताले विद्यालयको पठनपाठनमा अवरोध पुग्नुका साथै मैदान पनि सानो भएकाले वडा कार्यालय नजिकै मैदान सम्याएर प्रतियोगिता आयोजना गरिएको थियो । 

‘मैदानको अभाव पहिलेदेखि खड्किएकाले ५ रोपनी जग्गा यसअघि गाविस हुँदै खरिद गरिएको थियो,’ वडाध्यक्ष नारद लम्सालले भने, ‘अहिले नगरपालिकाको सहयोगमा साढे ४ रोपनी जमिन खरिद गरेर सम्याइएको हो ।’ यो मैदानलाई विद्यालयले समेत प्रयोग गर्ने व्यवस्था गरिएको छ । इलाम नगरपालिकाकै वडा नम्बर ९ घट्टिटारमा पनि खेल मैदान निर्माण भइसकेको छ । त्यस्तै वडा नम्बर ३ को पुवामझुवा र ८ को महभिरमा पनि मैदान निर्माणको काम अघि बढेको छ ।


फाकफोकथुम ४ फुएतप्पाको लिम्बूगाउँका बासिन्दा पनि के कम । उनीहरूलाई अहिले गाउँपालिका या कुनै सरोकारवाला निकायको सहयोग छैन । तर मंसिरको अन्तिममा प्रतियोगिता गरेरै छाडे । उनीहरूले उनीहरू घरलौरी चन्दा संकलन गरेर खेलमैदान निर्माण गरेका हुन् । खेलमैदानको अभाव परपूर्ति गर्न स्थानीय फुङवा युवा समूहको नेतृत्वमा ५० घरबाट सहयोग संकलन गरिएको छ । ‘नजिकै मैदान नभएकाले स्थानीयले मन फुकाएर सहयोग गरेका हुन्,’ समूहका सचिव दिपक योङहाङले भने, ‘अब मैदान विस्तार र स्तर बृद्धिका लागि गाउँपालिका र सरोकारवाला निकायले सहयोग गर्छन् भन्नेमा आशावादी छौं ।’ गच्छेअनुसार १ हजारदेखि २० हजार रूपैयाँसम्म रकम संकलन गरेर मैदान निर्माण गरिएको हो । तिहरमा देउसीभैलो खेलेर उनीहरूले ४७ हजार संकलन गरेका थिए । चन्दा र देउसीभैलोबाट संकलित रकमबाट ६ रोपनी जग्गा खरिद गरी ‘चासोक तङनाम खेलमैदान’ निर्माण भएको हो । ६ लाख ७२ हजारमा जग्गा खरिद गरी ४ लाखको लगातमा मैदान निर्माण भएको योङहाङले जानकारी दिए ।


जिल्लाका अन्य क्षेत्रमा पनि नयाँ मैदान बनाउने र पुरानोलाई विस्तार र व्यवस्थित गर्ने क्रम बढेको छ । पूर्वको चर्चित गजुरमुखी धाममा कात्तिके पूर्णिमामा मेलाका अवसरमा यो पटक फुटबल प्रतियोगिता थपियो । मेलको आर्कषणका रूपमा रहेको फुटबल प्रतियोगिता पहिलो पटक यहाँ आयोजना भएको थियो । मेला लाग्ने निश्चित भएपछि लेभेन साइडको मैदान तत्काल निर्माण गरियो । स्थानीयको सहभागितासँगै माङसेवुङ गाउँपालिकाको सहयोगमा नयाँ मैदान निर्माण गरिएपछि प्रतियोगिता आयोजना गर्न नै स्थानीय सफल रहे । देउमाई खोला किनारमा जमिन व्यवस्थापन गरेर नयाँ मैदान बनाइएको हो ।


यो गाउँपालिकाले इभाङ र माङसेवुङमा पनि ठूला मैदान निर्माण कार्यलाई अघि बढाएको छ । ‘हरेक वडामा एउटा व्यवस्थित मैदानको आवश्यकता रहेकाले पनि चासो दिएका हौं,’ गाउँपालिकाका प्रमुख डिकेन्द्र इदिङ्गोले भने, ‘युवाहरूलाई विकृति विसंगतिबाट राक्दै स्वस्थ्य राख्न पनि मैदानको आवश्यकता खड्किएको हो । यता सन्दकपुर ५ जमुनामा पनि खेल मैदान व्यवस्थापनका लागि समिति निर्माण गरिएको छ । हाल विद्यालयको प्राङ्गडमा खेल खेलाउँदा समस्या भएकाले लेभेन साइडकै मैदानका लागि जग्गा खोजी भइरहेको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?