१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

रक्तस्रावले जान्छ सुत्केरीको ज्यान

कुम्भराज राई

ओखलढुंगा — सुत्केरी व्यथाले आमा मर्ने भन्ने बित्तिकै प्रायले प्रसव पीडालाई अनुमान गर्छन् । तर त्यसो होइन सोलुखुम्बु जिल्लामा प्राय: सुत्केरीहरू बच्चा जन्माइसकेपछि हुने रक्तस्रावका कारण मर्ने गरेका छन् ।

रक्तस्रावले जान्छ सुत्केरीको ज्यान

बितेको दुई आर्थिक वर्षको तथ्यांकअनुसार औसतमा देशकै अन्य जिल्लाको तुलनामा बढी सुत्केरी आमाहरूले सोलुखुम्बुमा अकालमा ज्यान गुमाएका छन् ।


आव ०७३/७४ मा ६ जना सुत्केरी आमाहरूको मृत्यु भयो । जुन प्रतिलाख बच्चा जन्माउने आमाहरूको संख्यासँग तुलना गर्ने हो २ सय ५८ हुन आउँछ । त्यसैगरी आव ०७४/७५ मा प्रतिलाख २ सय ५६ अर्थात् ६ जनाले नै ज्यान गुमाएका छन् । १ लाख बच्चा जन्मिँदा कति मातृमृत्युदर कति भए भन्ने आधारमा प्रतिलाखको हिसाब गरिने स्वास्थ्य इकाई कार्यालय सोलुखुम्बु जनस्वास्थ्य अधिकृत पवन लामाले बताए ।


‘अधिकांश आमाहरू बच्चा जन्मिसकेपछि हुने अत्यधिक रक्तस्रावका कारणले मर्ने गरेको पाइएको छ ।’ अधिकृत लामाले भने, ‘जनचेतनाको कमीले घरमै सुत्केरी गराउने र नजिकमा आवश्यक सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुनुले गर्दा यसरी अकालमा आमाहरू मरेका हुन् ।’ चालु आवमा भने कुनै पनि आमाले ज्यान गुमाएको खबर प्राप्त नभएको उनले बताए ।


सोलुखुम्बुमा जम्मा १७ वटा बर्थिङ सेन्टर छन् । जुन भूगोलको दृष्टिले पर्याप्त हैनन् । शल्यक्रिया गरेर बच्चा जन्माउने सुविधा सदरमुकाम फाप्लुमा रहेको जिल्ला अस्पतालमा मात्र छ । अधिकांश सुत्केरी व्यथाले जटिल अवस्थामा पुगेका बिरामीहरूलाई आर्थिक अवस्था सक्षम भएकाले हेलिकप्टर मार्फत राजधानी वा ओखलढुंगा लगेर उपचार गर्ने गर्छन् ।


चालु आवमा मात्रै सोताङ गाउँपालिकाबाट दुईजना सुत्केरी व्यथा लागेका आमाहरूलाई हेलिकप्टरमार्फत राजधानी लगेर सुरक्षित सुत्केरी गराइए । जिल्ला स्वास्थ्य कार्यालय रहने कि स्वास्थ्य इकाई रहने भन्ने विषय केन्द्रमै टुंगो नलाग्दा स्वास्थ्यमा बजेट प्राप्त नभएको अधिकृत लामाले बताए । अघिल्लो बजेटका आधारमा मातृमृत्युदर घटाउने मुख्य गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।


दुई वर्षअघिको सरकारी तथ्यांकअनुसार देशकै औसत मातृमृत्युदर प्रतिलाख २ सय ३९ रहेको छ । सन् १९९६ सम्म उक्त दर प्रतिलाख ५ सय ३९ रहेको थियो । २० वर्षमा १२ प्रतिशतले मातृदर घटेको थियो । तर सोही तथ्यांकसँग तुलना गर्ने हो भने पनि सोलुखुम्बुमा गत वर्षहरूमा देशकै औसत दरभन्दा बढी आमाहरूले ज्यान गुमाएका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?