कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अल्लो उपहार

गर्मीमा चिसो र जाडोमा तातो हुने अल्लोबाट निर्मित कपडा मात्र होइन यसका अन्य सामग्रीको पनि माग बढेको छ । 
दीपेन्द्र शाक्य

संखुवासभा — केही अघिसम्म सरुवा वा बिदाइमा कोसेलीका रूपमा अल्लो प्रयोग हुँदै आएको थियो । अहिले यसको माग विदेशमा समेत बढेको छ । अलैंची र कृषि पेसामा घाटा लागेपछि अल्लो व्यवसायतर्फ आकर्षित हुनेको संख्या बढदै गएको छ । सभापोखरी गाउँपालिका विश्व लिम्बूले अल्लोको तालिम लिएपछि व्यवसाय थालेका छन् । 

अल्लो उपहार

उनले दैनिक रूपमा अल्लोका झोला, लेडिज ब्याग, पर्स जस्ता सामग्री बनाउने गरेका छन् । उनका अनुसार यहाँबाट वर्षेनी एक करोड बढीको अल्लो कपडा निकासी हुन्छ । कपडा सेना, प्रहरी र कर्मचारी आउने गरेका छन् । स्वागत या विदाइमा कोसेलीका रूपमा अल्लो उपहार दिइने गरिएको छ ।


अल्लोबाट निर्मित सामग्री लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषता छ, उनले भने, ‘यसको बजार पर्याप्त मात्रामा छ, यहाँ अल्लोका कुनै न कुनै कपडा प्रयोग नगर्ने भेट्न कठिन पर्छ ।’ बाहिरी जिल्लाबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले नातेदार र साथीलाई अल्लोको कपडा र सामान उपहारस्वरूप लगिदिने चलन बढेको छ ।


जिल्लामा २९ वटा अल्लो उद्योग व्यावसायिक रूपमा सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख द्रोण राईले बताए । उनका अनुसार सिलिचोङ गाउँपालिकामा १६, खाँदबारी नगरपालिका ४, चैनपुरमा २, धर्मदेवीमा ३, मादी नगरपालिका २, चिचिला र मकालु गाउँपालिकामा १/१ वटा रहेका छन् । अल्लोको खेती २०४६ देखि व्यावसायिक रूपमा गर्न थालिएको हो ।


साबिक बाला, सिसुवाखोला, ताम्कु, मांतेवा, याफू, पाथिभरा, नुम, मत्स्यपोखरी, पावाखोला, बाह्रबिसे, तामाफोकका सामुदायिक र राष्ट्रिय वनमा अल्लो प्रचुर मात्रामा पाइने गरेको छ । अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट संकलन गरेर पकाउँदै धागो बनाइन्छ । यसरी धागो बनाएपछि कपडा उत्पादन हुने र यो देशका विभिन्न बजारहुँदै अमेरिका र जापानसम्म निर्यात गरिने लिम्बूले बताए ।


अल्लोको कोटको ३ हजार, टोपी ५ सय, सल ७ सय, स्यान्डल ५ सय, स्टीकोट १ हवार ५ सयमा बिक्री हुन्छ । मफलर, पर्स, चस्मा ब्याग, लेडिज पर्स, लेडिज झोला र साइड ब्याग बनाउन अल्लो प्रयोग गरिन्छ । यीबाहेक कपडाबाट बन्ने प्राय: सबै सामान अल्लोबाट बनाउने र बिक्री गरिन्छ ।


अल्लो उद्योगबाट ६० घरपरिवारको आश्रित रहेका छन् भने २ सयभन्दा बढीले रोजगारी पाएका छन् । यीमध्ये काठमाडौंमा बिक्री गर्न बसेका १७, खाँदबारीमा खरिद विक्री र कपडा उत्पादन गर्न ४५, टोलटोलसम्म कपडा बुन्ने, पाट संकलन गर्ने, प्रशोधन गर्नेको संख्या ४ सय ३० परिवार छन् । यी सबैको मुख्य पेसा अल्लो संकलन, प्रशोधन र बुनाइ तथा निकासी गर्नु हो ।


गाउँमा बुनेका कपडा सदरमुकाम खाँदबारी हुँदै बिराटनगरदेखि काठमाडौंसम्मका डिपार्टमेन्टल स्टोर, मिनी र सुपर मार्केटहरूमा बिक्रीका लागि लैजान थालिएको छ । जिल्लाका बाला र सिसुवाका सबै घरको मुख्य पेसा अल्लोबाट कपडा उत्पादन गर्नु हो । यहाँका ४ सय ५० परिवारको मुख्य पेसा र आय स्रोत अल्लो नै भएको छ ।


केटाकेटीदेखि वृ्द्धासम्म बिहान उठेदेखि हाट बजार जाँदा होस् या सबै प्रकारका काम गर्दा हातमा कुरुस र अल्लोको जाखिल्मा (कच्चा धागो) बोकेर कपडा बुन्नमा व्यस्त भेटिन्छन् । २५ वटा अल्लो आश्रित उद्योग सञ्चालित छन्, लिम्बूले भने, ‘यी उद्योगले मासिक तलब दिएर झन्डै ९ सय जनालाई रोजगारी मिलेको छ ।’


अल्लो एक वर्षे बुट्यान हो । यो २ मिटरको उचाइ भएपछि काटेर ल्याउने र बोक्रा निकालेर पाट बनाइने गरिन्छ । यसरी काटेपछि पुन: रोपण नगर्दा अल्लो जंगल मासिने क्रममा छ । यसको संरक्षणमा ध्यान नदिएपछि मासिने क्रम बढेको व्यवसायी बताउँछन् ।


सामुदायिक र राष्ट्रिय वनमा अल्लो संकलनमा रोक लगाएपछि ती वनमा पर्याप्त रहे पनि प्रयोगविहीन भएको छ । अन्यत्र मासिने क्रममा छ । एक पटक प्रयोग पछि अधिकांश स्थानमा यसको रोपण भएको छैन । अहिले जिल्लाका मत्स्यपोखरी, तामाफोक, जलजला, सिद्धपोखरी र नुनढाकीमा भएका सामुदायिक वनले भने यसको संरक्षण सुरु गरेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?