१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

टिएमजेलाई संरक्षित क्षेत्र माग

जिल्लाका सांसद गुराँस फुल्ने तीनजुरे मिल्के जलजले क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न माग गर्दै वन मन्त्रालय
कान्तिपुर संवाददाता

तेह्रथुम — एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रलाई समुदायमा आधारित विशेष संरक्षित क्षेत्र घोषणा गर्न माग गर्दै तीन जिल्ला सांसदहरू वन मन्त्रालय पुगेका छन् । तेह्रथुम संखुवासभा र ताप्लेजुङका सांसदहरूले वन मन्त्री शक्ति बहादुर बस्नेत, सचिव डाक्टर विश्वनाथ ओली लगायतलाई भेटेर टिएमजे क्षेत्रलाई समुदायमा आधारित विशेष संरक्षण क्षेत्रका रूपमा घोषणा गर्न माग गरेका हुन् । 

टिएमजेलाई संरक्षित क्षेत्र माग

राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर केपी ओली सहतिको टोलीमा ताप्लेजुङका सांसद योगेश भट्टराई, संखुवासभाका राजेन्द्र गौतम, तेह्रथुमका भवानी प्रसाद खापुङ र प्रदेश सदस्य लक्ष्मण तिवारी समेत रहेका छन् । गुराँसको राजधानी भनिने टिएमजे तेह्रथुम सहित संखुवासभा र ताप्लेजुङका तत्कालीन २५ गाविसमा फैलिएको बृहत् लेकाली वन क्षेत्र हो । जैविक विविधतायुक्त यो क्षेत्र संरक्षित र लोपोन्मुख वन्यजन्तु र जडीबुटी रहेको स्थान समेत हो ।


टिएमजे क्षेत्रलाई तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण सरक्षण ऐन २०५३ अनुसार ०५५ सालमा संरक्षण क्षेत्र घोषणा गरेको थियो । टोलीले यो घोषणालाई खारेज गरी वन ऐनअन्तर्गत समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गर्न मन्त्रालय समक्ष माग गरेका छन् ।


टिएमजे क्षेत्रमा १८ हजार ७ सय ८३ घरधुरीका १ लाख ३ हजार ४ सय ६५ जनसंख्याको बसोबास छ । टिएमजे क्षेत्रमा हुने वन संरक्षण, संवद्र्धन र उपभोगको अधिकार स्थानीय बासिन्दा र सामुदायिक वनका उपभोक्तालाई हुनुपर्ने माग यी तीनै जिल्लाका सामुदायिक वन समूहले पनि गर्दै आएका छन् । ‘संरक्षण क्षेत्र घोषणा हुँदा स्थानीय बासिन्दा र वन उपभोक्ताको अधिकार कटौती हुनुहँुदैन भन्ने हाम्रो माग हो,’ महासंघ प्रदेश नम्बर १ का अध्यक्ष तुलसी संग्रौलाले भने । टिमएजेलाई स्थानीय बासिन्दाले विगत डेढ दशकदेखि समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गर्न माग गर्दै आएका छन् ।


चीनको स्वायत्त क्षेत्र तिव्बतको झोमोलोङमा प्रकृति आरक्षसँग गाँसिएको मकालु वरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा संरक्षण क्षेत्रको बीचमा रहेको यो क्षेत्र भुटानको जैविक कम्प्लेक्समार्फत नेपाललाई भारत, चीन र भुटानसँग जोड्ने प्राकृतिक करिडोर समेत हो ।


यो क्षेत्रमा ३८ हजार ५ सय ९० हेक्टर घना वन, ६ हजार ९ सय ६१ घाँसे मैदान, ४ सय ४२ हेक्टर नाङगो खाली जमिन, ११ हजार ६ सय ४४ हेक्टर आवादी जमिन, ६ दशमलव ३ हेक्टर सिमसार, ५ सय ८७ हेक्टर हिउँ परिरहने क्षेत्र रहेको परामर्श निकाय ग्रीन सोलुसनले वन मन्त्रालयलाई बुझाएको तथ्याङकमा उल्लेख छ ।


त्यसमध्ये ८ हजार ८ सय ७४ हेक्टर क्षेत्रफलमा घना गुराँस वन मात्र छ । यो क्षेत्रमा १३ जलाधार क्षेत्र र ३३ वटा पोखरी छन् । जो पर्यटकीय र जीवन यापनका हिसावले धेरै महत्त्व राख्छन् ।

प्रकाशित : फाल्गुन ८, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?