कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

घर बनाइदिँदै जापानी स्वयंसेवक

गौरीगञ्ज गाउँपालिका ६ दमाईडाँडास्थित विपन्नका घर बनाउन जापानबाट आएका १७ जनाको विद्यार्थी टोली
अर्जुन राजवंशी

झापा — ७२ वर्षीय दलबहादुर नेपाली शारीरिक रूपमा अशक्त छन् । उनकी पत्नी फूलमाया पनि वृद्धावस्थाका कारण केही गर्न सक्दिनन् । टाँटीबेराको घर । दर्बिलो नभएकाले वर्षेनी बनाउनु पर्दथ्यो । विपन्न परिवारका नेपालीले 
वृद्ध अवस्था भए पनि दु:खजिलो गरेर जीविकोपार्जन गर्दै आएका छन् । उनको दु:ख अझै सकिएको छैन ।

घर बनाइदिँदै जापानी स्वयंसेवक

केही समययता भने उनको मुहारमा खुसी देखिन्छ । कारण, उनको घर दर्बिलो बन्दैछ । गौरीगञ्ज गाउँपालिका ६ दमाईडाँडास्थित उनको घर बनाउन यति बेला जापानबाट आएका १७ जनाको टोली खटिएको छ । गाउँपालिका, सहाना नेपाल र ह्याबिट्याट फर ह्युमानिटीको लगानीमा उनको घर बनिरहेको छ । घर निर्माणका लागि तीन वटा संस्थाले संयुक्त रूपमा एक लाख ५० हजार रुपैयाँ लगानी गरेका छन् । उक्त रकमले घर निर्माण सम्पन्न गर्न गाह्रो हुन्छ । परिवारका सदस्यले घर निर्माणमा श्रमदान गर्नुपर्ने हुन्छ । तर, नेपाली दम्पती असक्त भएकाले उनीहरूको घर निर्माण गरिदिन टोकियोबाट जापानी विद्यार्थीहरू सहयोग गर्न आएका हुन् ।


टोकियोस्थित वासेदा युनिभर्सिटीमा अध्ययनरत १८ देखि २५ वर्ष उमेर समूहका विद्यार्थी नेपाली दम्पतीको घर बनाइदिन ९ दिनका लागि गौरीगञ्ज आएका हुन् । उनीहरू बुधबारदेखि नियमित रूपमा बिहान ९ देखि बेलुका ५ बजेसम्म काम गरिरहेका छन् । बाँसको टाँटी बनाउँदै गरेकी १९ वर्षीया मियाको तानाकाले भनिन्, ‘यहाँ आएर स्वयंसेवकका रूपमा काम गर्न पाउँदा निकै खुसी लागेको छ ।


यो कामले मलाई टिमवर्कभित्र रहेर काम गर्न सिकायो ।’ उनले आफ्नो देशबाट यति टाढा आएर असक्त परिवारको घर बनाउन पाउँदा खुसी लागेको बताइन् । उनीसँगै टाँटीका लागि बाँसको भाटा खुर्किदै गरेका यासुओ यूहोले परिवर्तनका लागि युवापुस्ताको यो मेहनत जरुरी रहेको बताए । उनले नेपालमा आएर स्वयंसेवक भएर काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए ।


ह्याबिट्याट फर ह्युमानिटीका ग्लोबल भिलेज अफिसर आलोक खतिवडाले नेपाली दम्पती वृद्धावस्थाका र शारीरिक रूपमा अशक्त समेत रहेकाले उनीहरूको घर निर्माणमा सहयोग गर्न जापानी विद्यार्थीहरू आएको बताए । उनले १७ जना जापानी विद्यार्थी र ह्याबिट्याट फर ह्युमानिटीका दुई जनासहितको टोलीले नेपाली दम्पतीको घरको सबै टाँटीबेरा निर्माण गर्ने कार्य ८ दिनमा सम्पन्न गर्ने बताए ।


गौरीगञ्जमा गाउँपालिका, सहाना नेपाल र ह्याबिट्याट फर ह्युमानिटीको संयुक्त लगानीमा विपन्न परिवारका ३५ वटा घर निर्माण गर्ने कार्य चलिरहेको छ । वडा नं. ४ को बेलगाछीस्थित बालुगाउँको सन्थाल बस्तीमा ११, वडा नं. ५ को हरिरास्थित मुसहर बस्तीमा १२, वडा नं. ६ को दमाईडाँडामा ८ र सोही वडाको माझी बस्तीमा ४ वटा घर निर्माण गर्ने कार्य भइरहेको सहाना नेपालका गौरीगञ्ज मेनेजर उमेश भारतीले जानकारी दिए ।


घर निर्माणका लागि गाउँपालिकाले ७५ हजार तथा सहारा र ह्याबिट्याट फर ह्युमानिटीले संयुक्त रूपमा ७५ हजार रुपैयाँ लगानी गर्ने सम्झौता छ । घर दुई कोठा, एउटा किचन र बण्डासहितको हुन्छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?