कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गौरवका योजनाले गति लिंँदै

जिल्लामा कार्यालय स्थापना भएर उत्तर दक्षिण लोकमार्ग, तमोर करिडोर र मदन भण्डारी राजमार्गको काम अघि बढ्दै 
आनन्द गौतम

ताप्लेजुङ — सरकारले जिल्लामै कार्यालय स्थापना गरेपछि राष्ट्रिय महत्त्वमा परेका सडकले गति पाउने भएका छन् । केन्द्र सरकारले हेर्ने गरी पुन:स्थापना भएको उत्तर दक्षिण दोभान सुकेटार ओलाङचुङगोला लोकमार्ग आयोजनाले काम थालेको हो । 

गौरवका योजनाले गति लिंँदै

आयोजना प्रमुख रामबहादुर गुरुङले आफू नेतृत्वको टिमले सवै सडकको काम थालेको बताए । उनले भने, ‘फागुन १ गते आएर साइडरू हेर्न गइरहेको छु, कामलाई फटाफट अगाडि बढाइरहेका छौं ।’ आर्थिक वर्षको बजेटमा नसमेटिएका चीनको तिब्बत जोड्ने ‘उत्तर दक्षिण लोकमार्ग’, तमोर नदीको किनारैकिनार भएर बनाइने ‘तमोर करिडोर’ र दोभान–गुफा–वसन्तपुर हुँदै धरान जोड्ने ‘मदन भण्डारी राजमार्ग’ अब केन्द्र सरकारले हेर्ने भएको छ । गत मंगलबारको मन्त्रिपरिषद बैठकले यी सडक केन्द्र सरकारले हेर्ने गरी निर्णय गरेको हो ।


यी बाहिकका सडकहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने आयोजना प्रमुख गुरुङले बताए । गुरुङका अनुसार जिल्लाको अर्को महत्त्वको ‘सुकेटार–देउराली–काफ्लेपार्टी सडक’ कसले गर्ने भन्ने टुंगो छैन । यो सदरमुकाम फुङलिङबाट सुकेटार हुँदै पाथीभरा जाने सडक हो । यो सडक भएर वार्षिक तीन लाखको हाराहारीमा तीर्थयात्रीले यात्रा गर्ने भएकाले महत्त्वका रूपमा हेरिएको छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडकका कारण सरकारको आलोचना हुने गरेको छ । ‘हामीलाई हेर्नु नभनेकाले सायदै यो प्रदेश सरकारले हेर्छ होला,’ गुरुङले भने, ‘जिल्लाका सबै सडक हस्तान्तरणका क्रममा छौं । अहिलेसम्म दुईवटा सडक प्रदेश कार्यालयलाई हस्तान्तरण गरेका छौं ।’


दोभान–सान्थाक्रा–मेरिङदेन र साब्लाखु हुँदै कञ्चनजंघा आधार शिविर जाने सडक प्रदेश कार्यालयलाई जिम्मा लगाइएको छ । स्रोतका अनुसार पाथीभरा सडकलाई केन्द्र सरकार मातहत राख्न सांसद योगेश भट्टराईले पहल गरेका छन् । उनले यो सडक तत्काल हस्तान्तरण नगर्न आयोजनाको कार्यालयलाई भनेका छन् । यसअघि जिल्लाका कुनै पनि सडक बजेटमा नपरेपछि मतदाताले आलोचना गरेका थिए । भट्टराईले यी सडकलाई केन्द्रमा सार्न पहल गरेका हुन् । तर, पाथीभरा सडक भने छुटेको छ ।


यो सडकमा प्रदेश सरकारले २ करोड ५३ लाख छुट्याएको छ । सुकेटारदेखि काफ्लेपार्टी सम्म १२ किलोमिटर कच्ची सडक छ । अहिलेसम्म यो सडकमा बस चल्न सकेको छैन । ओलाङचुङगोला सडकको ६७ किलोमिटर तत्काल डीपीआर गरेर केन्द्रमा पठाउने गुरुङले वताए । ‘सडक विभागबाटै त्यो निर्देशन आएको छ,’ गुरुङले भने, ‘यसको विस्तृत अध्ययन तत्काल गरेर पठाउँछौं ।’ ट्रयाक खोल्ने काम अर्को वर्षमा जसरी पनि सक्ने उनको दाबी छ ।


‘म भूगोलमै चाहिँ पुगेको छैन तर ठेकदारले मेसिन पनि थपिरहेको र ब्लास्टिङ गर्ने लगायतका काममा पनि तीव्रता भएकाले अर्को आर्थिक वर्षमा ओलाङचुङगोलाको बस्तीसम्म जोड्छौं’ उनले भने । लेलेपबाट गोला जोडिन अब ३८ किलोमिटर बाँकी छ । उनका अनुसार तमोर करिडोरको ट्रयाक ओपनको काम पनि यसै आर्थिक वर्षमा सक्ने पहल गरिनेछ । अहिले आठराई त्रिवेणी गाउँपालिकाको फूलबारी रमितेमा पुगेर रोकिएको छ । कार्यालय नभएकाले योजनाहरू बन्ने नबन्ने अन्योलमा थिए ।


मदन भण्डारी राजमार्गका लागि प्रदेश सरकारले २ करोड बजेट छुट्याएको छ । प्रदेशअन्तर्गतको कार्यालय पाँचथर फिदिममा भएकाले यसले गर्ने कामका विषयमा भने सरोकार क्षेत्रका बासिन्दा कम जानकार छन् । स्थानीय तहका प्रमुखहरू पनि समन्वयमा कमी रहेको बताइरहेका छन् । आर्थिक वर्षको पाँच महिनामात्रै बाँकी रहेकाले तत्काल काम थाल्न स्थानीयले अनुरोध गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७५ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?