कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

निजी बैंक बढे, उत्पादन र उद्योग बढेन

कुम्भराज राई

ओखलढुंगा — यहाँको सदरमुकाम र आसपासका बजारक्षेत्रमा निजी बैंकहरूको संख्या हवात्तै बढेको छ । पाँच वर्षभित्र सदरमुकाममा निजी बैंकको संख्या १० पुगेको छ । बजार सानो भए पनि बैंक दिनदिनै थपिएका हुन् ।

पहिलो निजी बैंकका रूपमा २०६७ सालमा टुरिजम डेभलपमेन्ट बैंक (हालको मेगा) स्थापना भएको थियो । त्यसयता कुमारी, सिभिल, सेन्चुरी, मुक्तिनाथ, एनआईसी एसिया, एभरेस्ट, लुम्बिनी, सनराइज, लक्ष्मी बैंक लगायतले शाखा विस्तार गरेका हुन् ।


राष्ट्र बैंकले दुर्गमको सूचीमा जिल्लालाई राखेका कारण पनि निजी बैंकको आकर्षण बढेको हो । यातायातको सुविधाले राजधानीसँग नजिक भएसँगै जिल्लामा निजी बैंकको संख्या बढेको हो । राष्ट्र बैंककै नियमअनुसार दुर्गम जिल्लामा दुईवटा शाखा स्थापना गरेपछि राजधानीमा थप एउटा शाखा विस्तार गर्न पाइने प्रावधान छ ।


पहाडी जिल्लामा शाखा खोलेपछि तराईमा समेत शाखा खोल्न पाइने प्रावधान छ । सदरमुकाममा निजी बैंकको शाखा स्थापना हुनुअघिदेखि राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा थिए । कृषि विकास बैंकको शाखाले समेत यसै वर्षदेखि नगद कारोबार सुरु गरेको छ ।


सरकारी बैंकसहित सदरमुकाममा १२ बैंकका शाखा पुगेका छन् । ग्लोबल आईएमई लगायतका निजी बैंकले थप नयाँ शाखा स्थापना गर्ने तयारी गरिरहेका छन् । जिल्लाभित्र रहेका अन्य स्थानीय तहमा निजी बैंकका शाखा धमाधम स्थापना हुने क्रम जारी छ । गाउँपालिकाको केन्द्र तोकेर खिजीदेम्बामा मेगा, लिखुमा एसबीआई बैंक, मोलुङमा सनराइज र सुनकोसीमा माछापुच्छ्रे बैंकले शाखा स्थापना गरेका छन् ।


चिशंखुगढीमा कुमारी बैंकको शाखा स्थापना हुने तयारी अन्तिम चरणमा पुगेको छ । मानेभन्ज्याङ गाउँपालिकाको केन्द्रमा राष्ट्रिय वाणिज्य बैंक, मुक्तिनाथ विकास बैंक र कैलाश विकास बैंकका शाखा सञ्चालनमा छन् । मोलुङ गाउँपालिकाको रामपुर बजारमा मुक्तिनाथ विकास बैंकको शाखा सञ्चालनमा छ ।


चम्पादेवी गाउँपालिकाको घोराखोरीमा कृषि बिकास बैंकको नयाँ शाखा स्थापना गरी कारोबार सुरु गरेको छ । गाउँपालिकाको केन्द्रमा अर्को बैंक स्थापनाका लागि जनप्रतिनिधिले पहल थालेका छन् ।


उद्योग व्यवसाय बढेनन्

राष्ट्र बैंकले गरिबको जीवनस्तर उकास्न उत्पादनमूलक क्षेत्रमा थोरै ब्याजमा लगानी गर्न निर्देशन गरे पनि व्यवहारमा बैंकहरूले यस्तो गर्न सकेका छैनन् । रेमिट्यान्स रकमको केही प्रतिशत निक्षेप राख्न सक्नुलाई सफलता मान्ने गरेका छन् ।


बैंकको संख्या बढेसँगै केही अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । एक–अर्काबीचमा सदस्य तानातान गरेर लगानी गर्ने क्रम सुरु भएको छ । ‘लगानी कत्तिको सुरक्षित छ भन्ने अध्ययन नगरी अर्कोले भन्दा हाम्रोले बढी ऋण दिन्छौं भनेर लगानी दिन थालेका छन्,’ एक बैंकका कर्मचारीले भने, ‘यसले एउटै मान्छेले धेरै बैंकबाट ऋण लिइरहेका छन् ।’


मेगा बैंकका शाखा प्रबन्धक नारायणप्रसाद रिजालले बैंकले आफ्नो उद्देश्यअनुसार लगानी गर्न नसके जोखिममा पर्ने सम्भावना रहेको बताए । उनले भने, ‘त्यसैले हामीले राष्ट्र बैंकको प्राथमिकतालाई टेकेर त्यही अनुसार लगानी र उत्पादन वृद्धि गर्न सकेमात्र बैंक स्थापना भएको फाइदा दुर्गम जिल्लाले लिन सक्छ ।’


आर्थिक कारोबारको हिसाबले सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले ओगटेको छ । सरकारी र निजी अधिकांश बैंकले उत्पादनमूलक क्षेत्रमा भन्दा अन्य क्षेत्रमा कर्जा लगानी गरेका छन् । लगानी गरेको व्यवसायको बिमा छैन । पर्यटन, कृषि जस्ता उत्पादनमूलक क्षेत्रभन्दा सडकले छोएको जग्गा र घर हेरेर ऋण दिने प्रचलन घटेको छैन ।


निजी बैंकहरू बढदा निक्षेपका हिसाबले सेवाग्राहीलाई फाइदा छ । उनीहरूले छानेर बढी ब्याज पाइनेमा रकम बचत गर्ने गरेका छन् । वित्तीय चेतनाको स्तर समेत पहिलेभन्दा बढेको छ । अहिले नगदभन्दा चेक, मोबाइल बैंकिङ र एटीएमबाट कारोबार गर्नेको संख्या बढेको छ ।


‘व्यापारीहरूलाई भने बैंकको संख्या बढदा फाइदा छ,’ उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र मास्केले भने, ‘बचत र ऋण दुवै हिसाबले व्यवसायीले बैंक छान्न पाएका छन् ।’ जिल्लामा करिब व्यावसायिक व्यापारीहरूको संख्या एक हजारभन्दा बढी छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?