१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अन्नबाली छाडेर तरकारी

कान्तिपुर संवाददाता

तेह्रथुम — अन्नबालीबाट मनग्य आम्दानी हुन छाडेपछि धनकुटा र तेह्रथुमका किसानले तरकारी बालीमा बढी मिहिनेत गर्न थालेका छन् ।

अन्नबाली छाडेर तरकारी

अन्न फल्ने खेतबारीमा व्यावसायिक तरकारी खेती गरेका दुई जिल्लाका हजारौं किसानले अचेल उल्लेख्य आम्दानी गरिरहेका छन् ।


लेकाली क्षेत्रको बारीमा मकै खेती गर्दा वर्षको ३ महिना पनि खान नपुग्ने भएपछि व्यावसायिक तरकारी खेती सुरु गरेका धनकुटाको महालक्ष्मी नगरपालिका १ घुमाउनेका टेकबहादुर गुरुङ अचेल वर्षमा ३० लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।


उनले बन्दा, काउली, मुला, रायोको साग, गाँजर, आलु, ग्राउन एप्पल र किबी फलको एकसाथ व्यावसायिक खेती गरेका छन् । तरकारी खेतीले मनग्य आम्दानी भएको गुरुङले बताए । गुरुङ सोही वडाका वडाध्यक्षसमेत हुन् ।

वडाका सबै किसानलाई व्यावसायिक तरकारी खेतीमा लाग्न आफूले सहयोग गरिरहेको गुरुङले बताए ।


तेह्रथुमको लालीगुराँस नगरपालिका ४ चित्रेका किसान श्याम गुरुङ पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने किसानमा पर्छन् । अंशमा परेको थोरै जमिनमा व्यावसायिक तरकारी खेती गर्दागर्दै गुरुङ अहिले यो क्षेत्रकै अगुवा र मिहिनेती किसान कहलिएका छन् ।


तरकारी खेतीबाटै भएको आम्दानीले उनले पहाडमा खेती गर्ने जमिन र पूर्वी तराईका सहर/बजारमा घर बनाउन घडेरी खरिद गरेका छन् । तरकारी विभिन्न बजारसम्म पुर्‍याउन आफैं गाडी किनेका छन् । वर्षमा एक सिजन मात्र उत्पादन हुने मकै र आलु खेती गर्ने धनकुटा र तेह्रथुमका लेकाली क्षेत्रका किसानले अन्नबाली त्यागेर व्यावसायिक तरकारी खेतीमा लागेपछि लोभलाग्दो प्रगति गरिरहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख राजेशकुमार केसीले बताए ।


दुई जिल्लाका हजारौं किसान व्यावसायिक तरकारी खेतीमा लागेको कृषि ज्ञान केन्द्र धनकुटाका प्राविधिक सहायक रामजुगन यादवले बताए । वैशाखदेखि कात्तिकसम्म सात महिनामा वर्षे तरकारी खेती गरेर तेह्रथुमका किसानले ४६ करोड ९९ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख केसीले बताए । किसानले यो अवधिमा १८ हजार ७ सय ९८ मेट्रिक टन तरकारी उत्पादन गरेर बजारमा बिक्री गरेका थिए ।


जिल्लामा १ हजार ६ सय ३२ हेक्टर क्षेत्रफल जमिनमा व्यावसायिक रूपमा विभिन्न प्रजातिका तरकारी खेती हुने गरेको छ । धनकुटामा पनि सोही अवधिमा २ अर्ब २५ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको तरकारी उत्पादन गरेर बिक्री गरेको तथ्यांक कृषि ज्ञान केन्द्र धनकुटाको छ ।


यहाँका किसानले ८१ हजार ३८ मेट्रिक टन तरकारी उत्पादन गरी बजार पठाएका थिए । धनकुटामा ३ हजार २ सय ३८ हेक्टर जमिनमा व्यावसायिक तरकारी खेती हुने गरेको छ । तरकारीको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ राख्दा पनि यक्ति धेरै मूल्यको तरकारी किसानले बित्री गरेर आम्दानी गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।


किसानले हावापानी, तापक्रम र उचाइका आधारमा फस्टाउने बन्दा, काउली, टमाटर, मटरकोसा, मुला, रायो, गाँजर, सिमी, भेडेखुर्सानी, स्कुस, स्कुसको जरा, सजीवनजस्ता तरकारी खेती गरिरहेको कृषि ज्ञान केन्द्र धनकुटाले

जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?