विराटनगरमा रंगकर्मीको भेला

कान्तिपुर संवाददाता

मोरङ — विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना हुने ‘विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५’ मा स्वदेशी तथा विदेशी रंगकर्मीहरूको जमघट हुने भएको छ ।

रंगकर्मीहरूलाई अन्तर्राष्ट्रिय अभ्यासमा रहेका ज्ञान, सीप विकास गर्न तथा विभिन्न देशका कला र संस्कृतिबारे जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।


आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीका अनुसार फागुन १५ देखि २४ गतेसम्म सुशीला नाटकघरमा विदेशी र स्वदेशी गरी १० वटा नाटक मञ्चन हुनेछन् । ‘महोत्सवबाट दर्शकहरूले नेपाली नाटकको स्तरबारे जानकारी पाउनेछन्,’ उनले भने, ‘यसका साथै विभिन्न देशको रंगमञ्चको अभ्यास र संस्कृतिबारे पनि जानकारी हुनेछ ।’


नेपाली नाटकलाई अन्तर्राष्ट्रियकरण गर्न महोत्सव महत्त्वपूर्ण हुने आरोहणले जनाएको छ । महोत्सवमा इटाली, श्रीलंका, अफगानिस्तान, भारत, बंगलादेशका रंगकर्मीले १/१ वटा नाटक मञ्चन गर्नेछन् । यसैगरी प्रदेश १ का विभिन्न संस्थाका रंगकर्मीले पनि नाटक प्रदर्शन गर्नेछन् । नाटक प्रदर्शनपछि दर्शक र कलाकारबीच छलफलसमेत गरिने क्षेत्रीले बताए ।


इटालीले डिस्एपाराइसिड, श्रीलंकाले लभ एन्ड लाइफ, अफगानिस्तानले ता राहाये, भारतले चम्पावती र बंगलादेशका रंगकर्मीले मातब्रिङ नाटक मञ्चन गर्नेछन् । गुरुकुलले विराट पर्व, झोराहाट नाट्य समूहले घरभित्रको अर्को घर, परिवर्तन थिएटर काँकडभिट्टाले बिटुलो आख्यान, थिएटर नेपाल, उदयपुरले देश बनाउँछु भन्नेहरू र कदम थिएटर दमकले गैंडा टाइम्स नाटक मञ्चन गर्नेछन् ।


‘महोत्सवमा सयभन्दा बढी रंगकर्मी, निर्देशक, लेखक, पत्रकार र प्राविधिक सहभागी हुनेछन्,’ क्षेत्रीले भने, ‘इटालीका रंगकर्मीले गुरुकुलमा तीनदिने नाट्य कार्यशालासमेत सञ्चालन गर्नेछन् ।’ महोत्सवका नाटक हेर्न ५ सय र २ सय

रुपैयाँ दरका टिकट व्यवस्था गरिएको आयोजकले जनाएका छन् । गुरुकुलका सचिव विवश पोखरेलका अनुसार ‘विराटनगर, काठमाडौं, पोखरा र जनकपुरमा एकसाथ अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्न लागिएको हो ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?