कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

हत्या आरोपी १० वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — १० वर्ष अघिको हत्या घटनाका आरोपी पक्राउ परेका छन् । इलाका प्रहरी बेलबारी, मोरङको टोलीले हत्या आरोपमा झापाको शनिअर्जुन नगरपालिका २ का ४३ वर्षीय शरण भट्टराईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०६५ चैत ३१ गते भाउन्ने चोकनजिक चौरमा शनिअर्जुन ४ का २७ वर्षीय दीपक पाण्डे मृत फेला परेका थिए । धारिलो हतियारले काटिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।


अनुसन्धानकै क्रममा हत्यामा संलग्न रहेका भट्टराईलाई प्रहरीले खोजी गरिरहेको थियो । उनले आर्थिक प्रलोभनका कारण हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीबाट लुकेर बसेका उनलाई खोजीका क्रममा झापाकै काँकडभिट्टामा फेला पारिएको प्रहरीको भनाइ छ ।


प्रहरीका अनुसार सवारी चालक रहेका पाण्डे र भट्टराई चिनजानका साथी थिए । झापाको विर्तामोडबाट सुनसरी, इटहरी आउने क्रममा पथरी बजारमा उनीहरु रोकिएका थिए । त्यसक्रममा चिसोपेयमा निद्राको औषधी मिसाएर भट्टराईले पाण्डेलाई खुवाएका थिए । त्यसपछि आफैं गाडी हाँकेर घटनास्थलसम्म भट्टराईले पुर्‍याएको प्रहरीले जनाएको छ । घटनापछि पोखरा पुगेर गाडीलाई स्थानीय एक ग्यारेजमा ६५ हजार रुपैयाँमा धितो राखेर भट्टराई भारततिर गएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो । भट्टराईले उक्त घटनामा आफ्नो संलग्नता स्वीकारेको प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गराएर प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?