कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जीर्ण भवनमा प्रहरी

आनन्द गौतम

ताप्लेजुङ — बैंकहरूले गाउँपालिकामा जानुअघि आधारभूत सुविधाको प्रस्ताव गरे । त्यसमा पहिलो थियो, प्रहरी चौकी । प्रहरी, बार्‍है महिना चल्ने सडक र पैसा राख्न पक्की घर बैंकका प्रस्ताव थिए । 

जीर्ण भवनमा प्रहरी

प्रहरी चौकी भएकै कारण फक्तालुङ गाउँपालिकाको केन्द्र तापेथोकमा जान जनता बैंकले पहिलो प्रस्ताव गर्‍यो र शाखा विस्तार गर्‍यो । अहिले गाउँपालिकाको कार्यालय, बैंक, प्रहरी चौकी नजिकमा छन् । सबैका घर तुलनात्मक रूपमा व्यवस्थित छन । तर अरूलाई आड र सुरक्षाको प्रत्याभूति दिलाएका प्रहरी आफैं भने असुरक्षित भएर बसेका छन् । प्रहरी चौकी जीर्ण छ ।

बर्खामा जस्तापाताबाट पानी चुहिन्छ । पानीको भेलले भवन वरिपरिको भाग पुर्छ । खेतको बीचमा भएकाले सर्पको बिगबिगी पनि उत्तिकै छ । तीन जनालाई यसअघि नै घाइते बनाएर उपचारका लागि झापाको चारआली पुर्‍याउनु परेको छ । भूकम्पले भत्काएर ढुंगाको गाह्रो चिरा परेका छन् ।


जीर्ण भवनमा प्रहरीले आवासदेखि कार्यालय सञ्चालन गर्नुपरेको छ । मर्यादापालक भएकाले ड्युटीमा खटिएका प्रहरी भने असुविधाका विषयमा बोल्न सक्दैनन् । स्थानीयका अनुसार अरू कार्यालय भए यस्तो भवनमा आएर बस्दैनथे । उनीहरूका मनमा भने सधैं त्रासदी छ ।


यस्तो समस्या यहाँको मात्रै होइन । थुकिम्वा प्रहरी चौकी भवनको अवस्था पनि यस्तै दयनीय छ । बाहिरबाट हेर्दै जीर्ण भवनमा मान्छे कसरी बस्लान भनेर अनुमान लगाउनुपर्छ । मेरिङदेन गाउँपालिकामा पर्ने यो भवनको तल्लो तलामा कार्यालय र माथिल्लो तलामा आवास छ ।


भवनको अवस्थाका विषयमा जिल्लाका सुरक्षा अधिकारीदेखि राजनीतिक दलसम्मलाई जानकारी छ । तर हेर्नुबाहेक कसैबाट केही काम भएको छैन । फक्तालुङकै लिंखिम सिंवाको चौकीको भवन पनि बाहिर डर लुकाउने मात्रै छ । पूर्वसांसद डम्बरध्वज तुम्बाहाम्फेले जस्ता पाता फेर्ने व्यवस्था मिलाएपछि र भवनको बाहिर माटोले पोतेर रङ लगाएपछि डर लुकाउनेसम्म भएको हो ।


भूकम्पजस्ता कम्पन आए सुरक्षित हुने सम्भावना नभएको रेडक्रस सिंवा शाखाका सभापति कुलमणी दाहाल बताउँछन् । त्यसो त प्रहरीका राम्रो र हेर्नलायक भवन नभएका पनि होइनन् । मिक्वाखोलाको लिवाङ, मैवाखोलाको साँघु चौकी र सिरिजंगाको तेल्लोक इलाका प्रहरी कार्यालय हेरौंहेरौं खालका छन् । सशस्त्र द्वन्द्वमा ध्वस्त यी संरचना शान्ति स्थापनापछि निर्माण गरिएका हुन् ।


तर जिल्लाका अधिकांश प्रहरी चौकीका संरचना जीर्ण छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार जिल्लामा ३५ प्रहरी युनिट छन् । यीमध्ये १० अस्थायी र २५ स्थायी हुन् । फक्तालुङ गाउँपालिका ६ ओलाङचुङगोलामा एक तले भवन बनाए पनि यही क्षेत्रको घुन्सा र लेलेप प्रहरी चौकी भाडामा छन् । व्यक्तिगत प्रयोजनका लागि बनाइएका घरमा प्रहरीको कार्यालय छ ।


घुन्साको भवन पनि पानी पर्दा चुहिने रहेको घुन्सा आधारभूत विद्यालयका प्रधानाध्यापक लिलाचक्र गुरुङ बताउँछन् । वातानुकूलित भवन चाहिने भए पनि आफू सुरक्षित संरचनामा बस्न नपाएको गुनासो प्रहरीको छ । संरचना व्यवस्थित नहुँदा सेवा प्रवाहमा केही कठिनाइ हुन सक्ने प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापा बताउँछन् । सुरक्षा सामग्री जोगाउन पनि धौधौ हुने उनले बताए ।


संरचना पर्याप्त नहुँदा अनुसन्धान गर्न र दुईतर्फी झगडीयालाई बयान लिन समस्या हुने प्रहरीको अनुभव छ । दोभान इलाकालाई संरचनाकै कारण मुद्दा चलाउने जिम्मेवारी दिन नसकिएको थापा बताउँछन् । कानुन व्यवसायीका अनुसार मुद्दा चलाउने ठाउँमा गोपनीयता कायम राख्नुपर्ने, प्रमाण तथा कागजातको सुरक्षा गर्नुपर्ने हुन्छ । धेरै ठाउँमा त थुनुवालाई ल्याएर राख्ने ठाउको पनि समस्या छ । जिल्लामा झन्डै साढे चार सय प्रहरीको दरबन्दी छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा दोभान, थुम्वेदिन र खेवाङ चौकीको भवन निर्माण गर्ने बताएको छ । तर आर्थिक वर्षको सात महिनासम्म काम सुरु भएको छैन ।


फक्तालुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङ केन्द्र र प्रदेस सरकारले गर्छ भनेर गाउँपालिकाले बजेट नछुट्याएको बताउँछन् । ‘कम्तीमा संघअन्तर्गतका कार्यालयको व्यवस्थापनमा केन्द्र सरकारले ध्यान पुर्‍याइदिए हुन्थ्यो भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘भएन भने आगामी आर्थिक वर्षहरूमा छलफल होला ।’

प्रकाशित : फाल्गुन ११, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?