कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ब्लड बैंक नहुँदा समस्या

इमर्जेन्सी कक्षमा रगत नपाएर बिरामी छट्पटाइरहँदा सेनाका गुल्मपति र प्रहरी प्रमुखलाई फोन गर्नुपर्ने हुन्छ
कान्तिपुर संवाददाता

संखुवासभा — जिल्लामै ब्लड बैंक नहुँदा आकस्मिक रूपमा रगत चाहिएका बिरामीले समस्या बेहोर्नु परेको छ । बिरामीलाई रगत चाहिएको बेला व्यक्ति नै उपस्थित भएर रगत दान गर्नुफर्ने अवस्था छ । 

ब्लड बैंक नहुँदा समस्या

रेडक्रसका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा रत्तदाता नै उपस्थित भएर ५० सुत्केरीलाई रगत दिइएको थियो । हेमोग्लोबिन कम भएका ३३ जनालाई समेत रगत दिइएको थियो । आव २०७५/०७६ को पुस मसान्तसम्ममा मात्रै ६३ सुत्केरी आमालाई रगत दिइएको छ । हेमोग्लोबिन कम भएका १२ जनालाई फनि रगत दिइयो । रेडक्रसले सञ्चालन गरेको आकस्मिक रत्तसञ्चार सेवा २२ औं वर्षमा प्रवेश गरेको अवसरमा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।


यही तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा दिनानुदिन रगतको आवश्यकता बढ्दै गएको शाखा सभापति सरोजकुमार बज्राचार्यले बताए । उनका अनुसार सुत्केरी आमालाई बढी रगत चाहिन्छ । जिल्लामा ब्लड बैंक नहुँदा समस्या भएको उनले बताए । ‘जिल्ला अस्पतालमा समेत ब्लड बैंक नहुँदा रगत चाहिएका बेला सेना र प्रहरीको सहयोग माग्नुपरेको छ,’ बज्राचार्यले भने, ‘रगत आवश्यकता पर्दा पहिले सम्झिने नाम हो रेडक्रस, अनि हामीले सेना र प्रहरीलाई पनि सम्झनुपर्छ ।’


इमर्जेन्सी कक्षमा रगत नपाएर बिरामी छट्पटाइरहँदा रेडक्रसका कर्मचारी र अस्पतालका चिकित्सकले सेनाका गुल्मपति र प्रहरी प्रमुखलाई फोन गर्ने गरेको बज्राचार्यले बताए । ‘ड्युटीमा खटिएका सैनिक र प्रहरीलाई हतारहतारमा बोलाउनुपर्छ, कतिपय ड्युटीमा हुन्छन्’, उनले भने, ‘मिल्दो रक्त समूह पत्ता लागेपछि उनीहरू ड्युटी छाडेर अस्पताल दौडिन्छन् । सेना र प्रहरीले धेरैको ज्यान बचाएका छन्,’ उनले भने, ‘ब्लड बैंक थियो भने त्यहीँबाट दिन मिल्थ्यो ।’


स्वास्थ्यकर्मीलाई रक्तसमूह परीक्षण गर्न र रक्तदाता जुटाउनैमा एक घण्टाभन्दा बढी समय लाग्छ । जिल्ला स्वास्थ्यको मागअनुसार सेना र प्रहरी जवानले यसरी आपतकालीन रक्तदान गर्न थालेको वर्षौं बितिसकेको छ । जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी सेना र प्रहरीबाहेक अन्य पेसा व्यवसायीले प्रायः रक्तदान गरेको भेटिँदैन ।


खबर गर्न सजिलो र रक्तदानका लागि ‘कन्भिन्स’ गर्नु नपर्ने भएकाले सीधै सेना र प्रहरी कार्यालयलाई अनुरोध गर्ने गरेको अस्पतालका निमित्त प्रमुख डा. लक्ष्मण खडकाले बताए । प्रहरी नायब उपरीक्षक श्याम सारूमगरले प्रहरीले धेरै बिरामीलाई मृत्युको मुखबाट बचाएको दाबी गरे । स्वास्थ्य समस्यालाई बुझेर आफूहरूले इमर्जेन्सी सेवा दिएको उनले बताए ।


रक्तसमूह मिल्ने प्रहरी आफैं रक्तदान गर्न राजीखुसी हुन्छन् । प्रहरीमा जुनसुकै समूहको रगत फेला पार्न गाह्रो नहुने उनले बताए । चिकित्सकका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराउनेहरू बढदै गएका छन् । अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले भने, ‘उनीहरूलाई रगत चढाउनुपर्ने अवस्था पनि उत्तिकै निम्तिने गर्छ । त्यसैले जिल्लामा रगतको बढी खाँचो परेको हो ।’


रेडक्रसले खाँदबारीस्थित सेनाको गुल्म, सदरमुकाम सुरक्षाका लागि आएका सशस्त्र प्रहरी, जिल्ला प्रहरीका जवान र अधिकृतको नामावली र ब्लड ग्रुप राखेर सम्पर्क गर्दै बिरामीलाई रगत उपलब्ध गराउछ ।


रेडक्रसकी कार्यालय प्रमुख लक्ष्मी कार्कीले भनिन्, ‘खबर गरेपछि रगत दिन प्रहरी, सेना र सशस्त्र आउने गर्छन् ।

जिल्ला अस्पतालका निमित्त प्रमुख खडकाले बिरामी अन्तिम अवस्थामा आउने हुँदा रगत खोज्न समय लाग्ने गरेको अनुभव सुनाए । बिरामीलाई रगत दिनुपरेमा प्रहरी र सेनाकै भर पर्नुपर्ने बाध्यता पनि सुनाए ।


बैंक स्थापना गर्न सहयोग

संखुवासभा जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि सिर्जनशील सामुदायिक विकास केन्द्रले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई २९ हजार ५ सय ८५ सहयोग गरेको छ । उक्त रकम मनकामनामा लाग्ने एकादशी मेलामा चिया बेचेर संकलन गरेको केन्द्रकी सचिव बबिता कटुवालले बताइन् ।


उनले सबै पक्षलाई झक्झक्याउन यो अभियान सुरु गरेको बताइन् । ब्लड बैंकको आवश्यकता एकदमै छ, उनले भनिन्, ‘यतिका वर्ष हुँदासम्म यसका लागि कसैले पहल गरेको पाइएन र हाम्रो संस्थाले यो अभियान थालेको हो ।’

प्रकाशित : फाल्गुन ११, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?