शिक्षकको परीक्षा लिन चिट्ठा

कान्तिपुर संवाददाता

भोजपुर — भोजपुर नगरपालिकाले शिक्षक नियुक्तिका लागि नयाँ तरिका अपनाउने भएको छ । यसअनुसार नगर शिक्षा समितिले तयार पारेको प्रश्नपत्र परीक्षा गराउने टोलीलाई चिट्ठा तान्न लगाई त्यसका आधारमा शिक्षकको परीक्षा लिइनेछ ।

यसरी प्रश्नपत्र दिई परीक्षा गराउँदा नगर शिक्षा समिति, परीक्षा गराउने शिक्षक, व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र विद्यालय निरीक्षकलाई समेत कस्ता प्रश्न छन् भन्ने थाहा हुँदैन । यसबाट योग्य शिक्षक प्रतिस्पर्धामार्फत आउने भएकाले यही जुक्ति अपनाइएको भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले बताए ।


पहुँचका आधारमा शिक्षक नियुक्ति गर्ने चलन अन्त्यका लागि समितिले प्रश्नपत्र तयार गरी परीक्षा गराएको पत्रकार सम्मेलनमा मेयर आलेले बताए । उनले समृद्ध समाज निमार्णका लागि राज्यले शिक्षा र स्वास्थ्य क्षेक्रमा योग्य जनशत्ति ल्याउनुपर्ने बताए । भोजपुर नगरपालिकाभित्र रहेका पाँच विद्यालयमा खाली भएको शिक्षक उक्त प्रणालीबाट परीक्षा गराई नियुक्ति गरिने भएको छ ।


त्यस्तै शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयहरूमा ई–हाजिरी, लकबुक परीक्षणका साथै नयाँ प्रणालीबाट शिक्षकको परीक्षा लिने चलन सुरु गरिएको छ । सामुदायिक विद्यालयमध्येबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई प्रमाणपत्र र नगद, राम्रो शिक्षण गर्ने एक शिक्षक, शिक्षिका, उत्कृष्ट एक विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, एक जना विद्यार्थी र शिक्षकलाई प्रोत्साहनस्वरूप सम्मान गर्ने पनि नगरपालिकाले जनाएको छ ।


शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मानबहादुर देवकोटाका अनुसार सिंहदेवी मावि हेलौछा, कालीका मावि हेलौछा, जनज्योती प्रावि बोखिम, जनकल्याण आधारभूत विद्यालय र आम्तेक विद्यालयमा यसरी परीक्षा लिइएको छ । विद्यालयहरूमा ५ शिक्षकका लागि २८ जनाले निवेदन दिएको स्रोत व्यक्ति ध्रुव रेग्मीले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?