१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सम्पर्कमा आएनन् मुटुरोगी

कान्तिपुर संवाददाता

ताप्लेजुङ — वडा, गाउँ तथा नगरपालिकाबाट सिफारिस बनाएर उपचारका लागि सहयोग माग्न हिँड्नेहरू प्रशस्तै हुन्छन् । तर, गत मंसिरमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा छनौट भएका ३६ जना मुटुका बिरामी उपचारका लागि सम्पर्कमा नआएको शिविर सञ्चालन समितिका संयोजक अग्नी पौडेलले बताएका छन् ।

उनका अनुसार १० जना सम्पर्कमा आएर उपचार गराइसके । बाँकी ३६ जना उपचारका लागि गएका छैनन् । शिविरमा चिकित्सकको टोलिले ४६ जनालाई काठमाडौं लगेर उपचार गर्न छनौट गरेको थियो । उनीहरूलाई जिल्लाबाट काठमाडौंसम्म जाने, फर्कने, बस्ने र खानेसम्मको व्यवस्था ‘सेभ द हर्ट’ (मुटु बचाउ) अभियानले गरिरहेको छ ।


आयोजकले पहिल्यै जिल्ला बाहिरको सम्पूर्ण खर्च संस्थाले गर्ने वताएका थिए । अहिलेसम्म सबैलाई यसरी सहयोग गरिरहेको सेभ द हर्टका शिविर व्यवस्थापन संयोजक रत्नबहादुर थापा बताउँछन् । बिरामीका कुरुवाको समेत खर्च सेभ द हर्टले गरेको उनले बताए । नातिको उपचारका लागि गएका फुङलिङ नगरपालिका ३ का मेघराज भारतीले आफूले पनि सहयोग पाएको बताए ।

‘हामी बिरामीको प्रतीक्षा गरिरहेका छौं, उहाँहरू आउनु भएको छैन,’ पौडेलले टेलिफोन सम्पर्कमा भने, ‘टेलिफोन गरेर आउनुहोस् भन्दा कतिपयले वडा र जनस्वास्थ्य कार्यालयमा सिफारिस बनाइरहेको भनेर जवाफ दिने गरेका छन् ।’ उपचारका लागि जानुअघि वडा र जनस्वास्थ्य कार्यालयवाट आफ्नो विवरण लिएर जानुपर्ने हुन्छ । विपन्नलाई सहयोग गर्ने संस्था भएकाले वडा कार्यालयबाट

विपन्न भएको सिफारिस लैजानुपर्ने प्रावधान छ ।


अहिलेसम्म शिविरमा छनौट भएका गंगा लिम्बू, झरना लिम्बू, रवीकिरण लिम्बू, मैना पौडेल, लक्ष्मीदेवी पुरी, मौषमी लिम्बू, राकेश मादेन र अनिल भारती चिकित्सकको सम्पर्कमा पुगेर उपचारको पहुँचमा पुगेका छन् । भीमकुमारी न्यौपाने र सञ्चमती लिम्बूलाई औषधि दिएर चिकित्सकको निगरानीमा राखिएको थापाले बताए । अनिलको शल्यक्रियापछि फोक्सोमा समस्या देखिएकाले थप उपचार सम्भव भएन ।


यीबाहेक १० जनामात्रै थप टेलिफोन सम्पर्कमा आएको र अझै २४ जना भने पूर्ण सम्पर्कविहीन रहेको शिविर संयोजक पौडेल बताउँछन् । ‘शिविरमा आएका ३ वर्षीय बालक अंकित शेर्पाको अवस्था जटिल थियो,’ अग्नीले भने, ‘उनले पुर्जीमा ठेगाना, सम्पर्क नम्बर लेखाएनछन् र जाँचपछि अभिभावकले नानी लिएर हिंडिहालेछन् फेरि भेटिएको छैन ।’ स्थानीय सञ्चार माध्यमबाट सूचना गर्दा पनि सम्पर्कमा नआएको उनले बताए ।


उनीहरूको उपचार मनमोहन कार्डियोलोजी महाराजगञ्जमा हुन्छ । त्यहाँ मुटुरोग विशेषज्ञ अनिल भट्टराई लगायतका चिकित्सकले उपचार गर्ने गरेका छन् । जिल्लामा सञ्चालित शिविरमा अनिल स्वयं आएका थिए । तीन दिनसम्म बसेर उनले उपचार गर्नैपर्ने अवस्थामा पुगेकाहरूको छनौट गरेका थिए । मुटु जाँच गराउन भने तीन हजार बढी आएका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?