कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मुन्धुम ट्रेललाई प्रदेशकै उत्कृष्ट पदमार्ग बनाइने

एलिसा श्रेष्ठ

भोजपुर — सरकारले सूचीकृत गरेको १ सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा मुन्धुम ट्रेल पदमार्गलाई प्रदेश १ कै उत्कृष्ट पर्यटकीय पदमार्ग बनाउने घोषणा गरिएको छ ।

मुन्धुम ट्रेल विकास तथा प्रवर्द्धन सम्मेलन २०७५ को भेलाले पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास र प्रवर्द्धन गर्न भौतिक तथा पर्यावरणीय अभ्यासको थालनी गर्ने निर्णय गरेको हो ।


पदमार्गसँग जोडिएका भोजपुरको टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, खोटाङको केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिका, महाकुलुङ गाउँपालिका, रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधिको सम्मेलनमा यस्तो निर्णय भएको हो ।


भेलाले पदमार्गको डीपीआर सहितको गुरुयोजना निर्माण गरेर आ–आफनो भौगौलिक क्षेत्रअन्तर्गत काम गर्ने निर्णय गरेको छ । पदमार्ग क्षेत्रलाई सांस्कृतिक, भाषिक, जातीय विविधताका रूपमा पर्यटकीय आकर्षण थप्ने योजना अगाडि बढाइने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए ।


त्यस्तै सम्मेलनमा पदमार्गमा पर्ने वन्यजन्तुको बासस्थान, जैविक विविधता, खानेपानीका मूल र ‘ईको सिस्टम’लाई असर पुग्ने कुनै पनि किसिमको सडक, बाटोजस्ता भौतिक संरचना निर्माण नगर्ने निर्णय गरिएको छ । पदमार्गको विकास र प्रवर्द्धन गर्न सके पर्यटकीय आगमन थप्न र विविध रोजगारमूलक बाटो खुल्न सक्ने सम्भावना रहेको मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले औंल्याए ।


पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिहं ऐरले स्थानीय तहले मात्र नभई प्रदेश सरकारले नै पदमार्गको महत्त्व बुझेर पहिलो प्राथमिकताका साथ काम अघि बढाउनुपर्ने बताए । सम्मेलनमा पदमार्गको देशविदेशसम्म तीव्र प्रचारप्रसारमा जोड दिँदै सहभागी जनप्रतिनिधिहरूले पदमार्गका लागि ठोस योजनासहित बजेट विनियोजन गरेर काम सुरुवात गर्ने मत राखेका थिए ।


उक्त पदमार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ ।


पर्यटकीय प्रचुर सम्भावना बोकेको ट्रेल पदमार्गको ०७४ पुस २४ देखि २६ गतेसम्म सर्वेक्षण गरिएको थियो । प्राकृतिक सुन्दरताले अति मनमोहक दृश्यावलोकन गर्न सकिने मैयुङ क्षेत्रलाई टुरिजम हब बनाउने लक्ष्यले ३१ दशमलब ५ किलोमिटर लामो पदमार्गको अनुसन्धान, अनुगमन गरिएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?